• ३० असोज २०८२, बिहिबार

‘जेन जेड’ प्रदर्शनकारी : विश्वभर फैलिएको युवाको असन्तुष्टिको लहर

blog

नयाँदिल्ली, असोज ३० गते । एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनको नयाँ लहर फैलिँदै गएको छ । सरकारविरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवा सडकमा उत्रिएका छन् ।

यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनालाई सैनिक विद्रोहपछि पदबाट हटाइएपछि देश त्याग्न बाध्य हुनुपर्‍यो। यो परिवर्तन हप्तौँदेखि निरन्तर भइरहेका युवा नेतृत्वका आन्दोलनको परिणाम थियो । आफूलाई ‘जेनेरेसन जेड मडागास्कर’ भन्ने ती प्रदर्शनकारीले राजनीतिक प्रतिष्ठानविरुद्धको असन्तोषलाई सडकमा उतारेका थिए ।

हिन्द महासागरको उक्त टापु राष्ट्रमा उत्पन्न असन्तुष्टिको लहरले नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा भइरहेका हालैका विरोध प्रदर्शनको झल्को दिएको छ । यी आन्दोलन विभिन्न तत्कालीन कारणबाट सुरु भए पनि तिनीहरूलाई लामो समयदेखि जरा गाडेका असमानता, बेरोजगारी, भ्रष्टाचार र नेताको नातावादले सघाएको छ ।

तर सबै आन्दोलनको साझा विशेषता भनेको युवा पुस्ताको अग्रसरता हो । प्रायः नेतृत्वविहीन यी आन्दोलनका सहभागी सन् १९९६ देखि सन् २०१० बिच जन्मिएका, इन्टरनेट युगमै हुर्केका ‘जेन जेड’ पुस्ताका हुन् । बेलायतस्थित अनुसन्धान संस्था सोसल चेन्ज ल्याबका निर्देशक स्याम नाडेल भन्नुहुन्छ, “यी विरोधको साझा भावना भनेको परम्परागत राजनीतिक प्रणालीले युवा पुस्ताका चिन्ता-चाहे भ्रष्टाचार, जलवायु सङ्कट वा आर्थिक असमानता-सम्बोधन गर्न सकेका छैनन् भन्ने हो । जब संस्थागत बाटो बन्द हुन्छन्, विरोध नै तर्कसङ्गत विकल्प बन्छ ।”

-विश्वभरको आन्दोलन एक अर्काबाट प्रेरित-

विभिन्न मुलुकका यी आन्दोलन सरकारको अतिक्रमण, उपेक्षा वा अन्यायपूर्ण नीतिबाट भड्किएका छन् । कतिपय देशमा सुरक्षा निकायको कठोर दमन र हिंसात्मक प्रतिक्रिया पनि देखिएको छ । मोरक्कोमा ‘जेनेरेसन जेड २१२’ नामक नेतृत्वविहीन समूह राम्रो सार्वजनिक सेवा र स्वास्थ्य-शिक्षामा खर्च बढाउन माग गर्दै सडकमा उत्रिएको छ । 

पेरुमा पेन्सन ऐन र व्यापक भ्रष्टाचार विरुद्धको विरोधले शासन सङ्कट निम्त्याएको छ । इन्डोनेसियामा सांसदहरूको भत्ता र जीवनयापन खर्चको मुद्दाले घातक प्रदर्शन निम्त्यायो । त्यसपछि राष्ट्रपति प्रमुख मन्त्रीहरू हटाउन बाध्य हुनुभयो । दक्षिण एसियामा भने सबैभन्दा प्रभावशाली ‘जेन जेड आन्दोलन’ नेपालमा भयो । सेप्टेम्बरमा प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भएको यस आन्दोलनले सन् २०२२ को श्रीलङ्काली र सन् २०२४ को बङ्गलादेशी आन्दोलनबाट प्रेरणा लिएको थियो । 

त्यसैको प्रभावमा मडागास्करका युवाले पनि आन्दोलनलाई सशक्त बनाए । मडागास्करमा सुरुमा नियमित पानी र बिजुली कटौतीविरुद्ध सुरु भएको विरोध केही सातामै सरकारविरुद्धको व्यापक आन्दोलनमा परिणत भयो । अन्ततः बुधबार सैन्य नेताले आफू ‘राष्ट्रपति बनेको’ घोषणा गर्दै सत्ताको बागडोर सम्हाले ।

-‘वन पिस’ झण्डा : पप संस्कृति र प्रतिरोधको प्रतीक-

यी आन्दोलनमा एक साझा सांस्कृतिक प्रतीक पनि देखापरेको छ-कालो झण्डा । यसमा मुस्कुराइरहेको खोपडी र परालको टोपीसहित क्रसबोन्स चित्रित छ । यो जापानी मङ्गा ‘वन पिस’ बाट प्रेरित प्रतीक हो । यसले अन्यायपूर्ण सरकारविरुद्ध लड्ने समुद्री डाकुहरूको कथालाई चित्रित गर्छ । नेपालमा सिंहदरबार र मन्त्रालयमा यही झण्डा प्रदर्शनकारीले फहराएका थिए । यही प्रतीक फिलिपिन्स, इन्डोनेसिया, मोरक्को र मडागास्करमा पनि देखियो ।

पेरुको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले सोही झण्डा बोकेर साप्ताहिक विरोधस्थल सान मार्टिन स्क्वायरमा उभिँदै भन्नुभयो, “हामी सबै भ्रष्ट र हत्यारा नेताविरुद्ध एउटै युद्ध लड्दैछौँ ।”

उहाँका अनुसार पेरुमा सन् २०१७ देखि हत्या र जबरजस्ती असुलीका घटना बढेका छन्, तर सरकारले अपराधविरुद्धका प्रयासलाई कमजोर बनाएको छ । “शक्तिको दुरुपयोग र भ्रष्टाचारको विरोधमा हाम्रो आक्रोश स्वस्फूर्तरूपमा सडकमा आएको हो”, उहाँले भन्नुभयो । गत हप्ता पेरुकी राष्ट्रपति दिना बोलुआर्टे अनुसन्धानको घेरामा परेपछि पदबाट हटाइनुभएको थियो र अन्तरिम राष्ट्रपति जोसे जेरी नियुक्त हुनुभएको थियो । तर टाफुरले भन्नुभयो, “यो पर्याप्त छैन, किनभने नयाँ राष्ट्रपति पनि पुरानो सत्ताको सहयोगी हुनुहुन्छ ।”

-डिजिटल युगमा ‘जेन जेड’ आन्दोलनको रूपान्तरण-

इतिहासमा युवाले नै ठूलो आन्दोलनको नेतृत्व गरेका छन् । सन् २०११ को अक्युपाई वाल स्ट्रिट, सन् २०१०-१२ को अरब स्प्रिङ र सन् २०१४ को हङकङको अम्ब्रेला क्रान्ति त्यसका उदाहरण हुन् । तर ‘जेन जेड’ ले डिजिटल मिडियाको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

“सूचना आदान-प्रदान र जनसम्पर्कका लागि डिजिटल प्लेटफर्म अब शक्तिशाली हतियार बनेका छन् । सबैभन्दा सफल आन्दोलन तिनलाई भौतिक सङ्गठनसँग मिलाएर अघि बढाउँछन्”, नाडेलले स्पष्ट पार्नुभयो ।

नेपालमा सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्धपछि युवाले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत टिकटक, इन्स्टाग्राम र एक्स प्रयोग गरी आन्दोलनलाई सशक्त बनाए । तिनीहरूले राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली, गरिब-धनीबिचको असमानता र सरकारविरुद्धको योजनाबद्ध र्‍याली प्रचार गरे । कसलाई अन्तरिम नेता बनाउने भन्ने सुझावसम्म पनि उनीहरूले गेमिङ प्लेटफर्म डिस्कोर्डमार्फत आदान-प्रदान गरे ।

“भ्रष्टाचार र अन्यायविरुद्धको आवाज डिजिटल मिडियामार्फत विश्वभर फैलिन्छ । नेपालमा भएको जेन जेड आन्दोलनले अरू देशका युवालाई पनि सशक्त बनायो”, नेपालका युवा प्रदर्शनकारी युजन राजभण्डारी भन्नुहुन्छ, “हामी केवल नेपाली होइनौँ, विश्व नागरिक हौँ भन्ने हामीले महसुस गर्‍याैं । डिजिटल स्पेसले हामीलाई जोडेको छ र यसले विश्वभर नयाँ युगको शक्ति प्रदर्शन गरेको छ ।” रासस/एपी