नागेन्द्रकुमार कर्ण
महोत्तरी, असोज ३० गते । महोत्तरी जिल्लामा बिरामीको उपचारमा सहजता ल्याउन प्रादेशिक अस्पताल जलेश्वरसहित विभिन्न स्वास्थ्य संस्थाहरूमा मेडिकल उपकरण तथा सामग्री वितरण गरिएको छ।
वल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा एकिकृत ग्रामिण विकास समाज महोत्तरीले प्रादेशिक अस्पताल जलेश्वर, प्राथमिक स्वास्थ्य केन्द्र सम्सी तथा पोखरभिण्डा स्वास्थ्य चौकीमा बिरामीहरूको उपचारमा आवश्यक पर्ने मेडिकल उपकरणसहितका सामग्रीहरू वितरण गरेका हुन् ।
एकिकृत ग्रामिण विकास समाज बर्दिबास महोत्तरीका फिल्ड अफिसर राजीवकुमार झाले एकिकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्था सुदृढीकरणका लागि स्वास्थ्य उपकरण सहयोग गरिएको बताउनु हुँदै प्रादेशिक अस्पताल जलेश्वरमा आठ वटा, पोखरभिण्डा स्वास्थ्य चौकीमा २१ वटा तथा सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा १३ वटा स्वास्थ्य उपकरण सहयोग गरिएको बताउनुभयो ।
स्वास्थ्य संस्थाहरूले स्वास्थ्य उपकरणको अभावमा बिरामीहरूलाई चेकजाँचमा समस्या भइरहेको जनाएपछि आफूहरूले सहयोग गरेको बताउनुहुँदै स्वास्थ्य उपकरणबाट उपचारमा सहजता आउने फिल्ड अफिसर झाले बताउनुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरमा डेलिभरि शय्या, पेरि लाइट, डेलिभरि सेट, पेनगुइन सक्सन, इपिआई सेट, अम्बु ब्याग, इन्स्टुमेन्ट र्यापर तथा डस्टविन गरी एक लाख २६ हजारभन्दा बढीको सहयोग गरिएको छ भने पोखरभिण्डा स्वास्थ्य चौकीमा पेसेन्ट वेड, इन्स्ट्रुमेन्ट ट्रली, आइभी स्टेन्डसहित एक लाख ८३ हजार भन्दा बढीको सहयोग गरिएको संस्थाका फोकल पर्सन उमेश न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा डेलेभरि शय्या, कर्ड क्लेम्प, बेबी र्यापरसहित करिब २० हजारको सहयोग गरिएको संस्थाले जनाएको छ ।
संस्थाका पदाधिकारीहरूले प्रादेशिक अस्पताल जलेश्वरका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झा र अस्पतालका निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहलाई संयुक्त रूपमा स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका थिए । स्वास्थ्य उपकरण हस्तान्तरणपश्चात अस्पतालका निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहले प्रसूतिका लागि आउने बिरामीहरूका लागि यो सामग्रीहरूले धेरै योगदान दिने बताउनु हुँदै स्वास्थ्य उपकरण प्रदान गर्नुभएकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झाले अस्पतालको मेटरनिटी वार्डका कर्मचारीहरूले विभिन्न स्वास्थ्य उपकरणहरूको आवश्यकता भनेपछि संस्थालाई सहयोगका लागि आग्रह गरिएकोमा संस्थाले स्वास्थ्य उपकरण प्रदान गरेको बताउनुभयो ।
स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा संस्थाका फोकल पर्सन उमेश न्यौपाने, प्रोग्राम मेनेजर कुमार भण्डारी, प्रोगाम अफिसर भुपेन्द्र निरौला, फिल्ड अफिसर राजीवकुमार झासहित अस्पतालका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।