• ३० असोज २०८२, बिहिबार

नयाँ पर्यटकीय गन्तव्य बन्दै आकासे ताल

blog

गुठीचौर गाउँपालिका–१ मा रहेको आकासे ताल । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), असोज ३० गते । जुम्लाको गुठीचौर गाउँपालिका–१ मा अवस्थित आकासे ताल आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्वच्छ हावा, सुन्दर प्राकृतिक दृश्य र वरपरका सेताम्मे हिमालले घेरिएको यो तालमा आन्तरिक पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ ।

कर्णालीका १० जिल्लामध्ये साबिक कर्णालीको जुम्लामा नयाँ पर्यटकीय गन्तव्य थपिएको हो । समुद्री सतहदेखि चार हजार ७७९.७ मिटर उचाइमा अवस्थित आकासे ताल अहिले आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । दसैँ–तिहारको अवधिमा धेरै सङ्ख्यामा पर्यटक आकासे ताल पुगेका छन् । आकाश जस्तै निलो देखिने, कचौरा आकारको भएकाले उक्त तालको नाम आकासे ताल राखिएको हो । यद्यपि गाउँपालिकाले आधिकारिक नामकरण भने गरेको छैन । धेरैलाई त्यहाँसम्म पुग्ने आधिकारिक रूटसमेत थाहा छैन ।

आकासे तालको प्रवर्धनका लागि पूर्वाधार निर्माण, प्रचारप्रसार तथा ठाउँ ठाउँमा रुट क्लियर गर्ने सूचना टाँस्नुपर्ने अहिले मुख्य आवश्यकता देखिएको छ । भर्खर आकासे ताल भ्रमण गरेर फर्किएका पर्यटक भरत नेपालीले आकासे तालको सुन्दरताले कठिन भूगोल, सास्ती पूर्ण यात्राको दुःख सबै भुलाउने गरेको बताउनुभयो तर आधारभूत पूर्वाधारसमेत निर्माण नहुँदा समस्या छ । 

न जाने बाटो थाहा छ न त कुनै अभिलेख छन् । बाटोसमेत थाहा नपाएर धेरैले दुःख पाएको अवस्था छ । धेरै सम्भावना बोके पनि आकासे ताल प्रचार अभावले अझै पनि गुमनाम जस्तै बनेको उहाँको भनाइ छ । 

जुम्ला बजारबाट पहिलो दिनमा करिब साढे दुई घण्टाको यात्रामा गुठीचौरको मणिसाँघु पुगिन्छ । मणिसाँघुबाट हिमालको पाँच÷सात घण्टाको यात्रापछि आकासे ताल पुग्न सकिने त्यहाँ पुगेकाको अनुभव छ । आकासे ताल पुगेका पर्यटक भेषबहादुर रावलले कर्णालीको आकाश खोजे जस्तो उचाइमा, हिँडे सेताम्मे हिमालको खोचमा चम्किरहेको एउटा अद्भूत दृश्यका रूपमा आकासे ताल रहेको बताउनुभयो । त्यहाँ पुग्दा छुट्टै आनन्द मिल्ने उहाँको भनाइ छ ।

गुठीचौर गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले नयाँ पर्यटकीय गन्तव्यका रूपमा सबैको रोजाइमा परेको आकासे ताललाई कर्णालीकै आकर्षणको केन्द्र बनाउने बताउनुभयो । हाल गुठीचौर गाउँपालिकाले मौरेसम्म ५० लाख रुपियाँको लागतमा सडक निर्माण गरेको छ । सडक पुगेको ठाउँबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदमार्ग निर्माण गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाले बताउनुभयो । तालको नापजाँचको कामलाई पालिकाले अघि बढाउने उहाँले बताउनुभयो ।