• २० वैशाख २०८३, आइतबार

सडक नपुग्दा कुहिँदै स्याउ

blog

गुणबहादुर रोका  

सुलीकोट, असोज ३० गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडक अभावका कारण यस वर्ष पनि किसानका स्याउ खेर जान थालेका छन् । हिमाली हावापानीका कारण यहाँ उत्पादित स्याउको स्वाद र गुणस्तर उच्च भए पनि यातायात सुविधा नहुँदा किसानले बजारसम्म स्याउ पु¥याउन सकेका छैनन् । 

२५ हजार बोटमा फलेका करोडौँ मूल्य बराबरका स्याउ कुहिने अवस्थामा पुगेको छ । स्थानीय स्याउ किसान लाक्पा ढुन्डुप लामाले भन्नुभयो, “उत्पादन राम्रो भए पनि स्याउ निर्यातका लागि उचित सडक नहुँदा ठुलो मात्रामा फल बारीमा कुहिन थालेकाले मेहनत गरी फलाएको स्याउ बेच्न नसकिने भएको छ ।” गत वर्ष यस्तै समस्याका कारण लाखौँ रुपियाँ बराबरको स्याउ नष्ट भएको थियो । यस वर्ष झन् उत्पादन बढे पनि बिक्रीवितरणको व्यवस्था नहँुदा स्थिति झन् जटिल बनेको स्याउ किसान लामाले बताउनुभयो । 

चुमनुब्रीका किसान सहजै सडकको पहुँच नपुग्दा हेलिकोप्टरमार्फत स्याउ लैजाने हो भने अत्यधिक खर्च भई मेहनत गरेर फलाएको स्याउ हेलिकोप्टरलाई भाडा तिर्दा बराबर हुने भएकाले किसान चिन्तित भएका छन् । स्थानीय किसानले सडक निर्माणमा सरकारले प्राथामिकता नदिए चुमनुब्रीको स्याउ खेती सङ्कटमा पर्ने निश्चित भएकाले सरकारसँग सडक बनाउन माग राखेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो । उहाँले पालिकाभित्र सडक सञ्जाल जोड्न निरन्तर प्रयास भइरहेको बताउनरभयो । उहाँले भन्नुभयो, “चुमनुब्री गाउँपालिका पर्यटकीय गन्तव्य भएकाले पनि सङ्घीय सरकारको ध्यान जान जरुरी रहेको छ ।” चुमनुब्री गाउँपालिकामा कृषि र पर्यटनलाई जोड्ने गरी छिटो सडकको पहुँच पु¥याएर स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादन गरी ब्रान्ड बनाउन सकिने अध्यक्ष लामाले बताउनुभयो ।

१२ हजार पाँच सय स्याउका बोट लगाएका स्याउ व्यवसायी लाक्पा ढुन्डुप लामाले आफूले स्याउको बिरुवा रोप्दा चार वर्षसम्म गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरेको तर अहिलेसम्म सडक नपुग्दा नोक्सानी बेहोर्नु परेको बताउनुभयो ।