सचिन पोखे्रल
विराटनगर, असोज ३० गते । मोरङका विभिन्न स्थानमा परिचालित सादा पोसाकका प्रहरी (घुमुवा) को जिम्मेवारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटमा लामो समयदेखि परिचालित घुमुवा प्रहरीको जिम्मेवारी खोसिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार इलाका प्रहरी कार्यालय नेमुवा दरबन्दी भई लामो समयदेखि जिप्रकाका लागि घुमुवाका रूपमा काम गर्दै आएका प्रहरी नायब निरीक्षक (प्रनानि) भुवन श्रेष्ठको जिम्मेवारी खोसेर उहाँलाई वडा प्रहरी कार्यालय विराटनगर पठाइएको छ । सादा पोसाक लगाएर घुमुवाको काम गर्दै आउनुभएका प्रनानि श्रेष्ठले अब प्रहरी युनिफर्म लगाएर काम गर्नुपर्ने प्रहरी उपरीक्षक कटुवालको भनाइ छ ।
त्यसै गरी मोरङमा घुमुवा प्रहरीका रूपमा काम गर्दै आएका सहायक हबलदारहरू उत्सव थापा र दास लिम्बू, काचुङ भोटे, सुनिल ठाकुरलगायतको जिम्मेवारी खोसर उहाँहरूलाई विभिन्न युनिटमा सरुवा गरिएको प्रहरी उपरीक्षक कटुवालले जानकारी दिनुभयो । लामो समयदेखि घुमुवा प्रहरीका रूपमा काम गर्दै आएका सबैजनाले अब सरुवा भएको स्थानीय युनिटमा गएर काम गर्नुपर्ने छ । त्यसै गरी जिप्रका मातहत रहेको इप्रका उर्लाबारी, पथरी, बेलबारी क्षेत्रमा परिचालित घुमुवा प्रहरीको पनि जिम्मेवारी खोसेर उनीहरूको पनि सरुवा गरिएको छ ।
अपराध अनुसन्धानको क्षेत्रको सूचना सङ्कलन तथा फरार अपराधी तथा अभियुक्त पव्रmाउ गर्नका लागि भन्दै परिचालित भएका घुमुवा प्रहरी अवैध गतिविधि र तस्करीको क्षेत्रमा लाइन र सेटिङ मिलाउने, तस्करीमा संलग्न व्यवसायी र अवैध यौनधन्दा गराउने होटेल व्यवसायबाट पैसा असुल्नेलगायतका काममा संलग्न रहेको जनगुनासो आएपछि सुधारका क्रममा घुमुवा प्रहरीको जिम्मेवारी खोसेर सरुवा गरिएको प्रहरी प्रशासनले जनाएको छ ।
गृह मन्त्रालयले विगत केही वर्षदेखि सादा पोसाकका घुमुवा प्रहरी परिचालन नगर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई निर्देशन दिएपछि त्यसको कडाइका साथ कार्यान्वयन भने भएको देखिँदैन । यस्तो अवस्थामा मोरङमा केही साताअघि मात्र प्रहरी प्रमुखको जिम्मेवारी समाल्नुभएका प्रहरी उपरीक्षक कटुवालले सादा पोसाकमा घुमुवा परिचालन नगर्ने गरी सञ्चालन गरेको यो अभियानलाई सकारात्मक रूपमा लिइएको छ । आफ्नो नेतृत्वमा मोरङमा सकारात्मक सुधारको काम अगाडि बढाएको दाबी गर्दै प्रहरी उपरीक्षक कटुवालले व्यापक सुधारका लागि ‘रिफर्म’ अभियानमा लागेको र यसका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “अब सादा पोसाकमा कुनै पनि प्रहरी परिचालित हुँदैनन् । विशेष काममा परिचालित हुँदा निश्चित समयका लागिबाहेक सबैले प्रहरी पोसाकमा नै आफ्नो जिम्मेवारी पूरा गर्ने छन् ।”
जिप्रका र केही युनिटमा परिचालित घुमुवा प्रहरीको जिम्मेवारी खोसेर उनीहरूलाई सरुवा गरिए पनि विगत लामो समयदेखि वडा प्रहरी कार्यालय विराटनगर, इप्रका रानी, इप्रका सिजुवा, इप्रका रङ्गेलीलगायतका केही स्थानमा काम गर्दै आएका घुमुवा प्रहरीको भने अझै पुरानै जिम्मेवारीमा छन् ।
वडा प्रहरी कार्यालयमा रहेका प्रहरी सहायक निरीक्षक रामविलाश यादव र हबलदार जागेश्वर गोइत, जिप्रका उदयपुर दरबन्दी भएर लामो समयदेखि इप्रका रानीमा रहेका सहायक हबलदार अभिनाश राय, रानीमा नै कार्यरत प्रकाश कटुवाल, दङ्गा प्रहरी गण दुहबीमा दरबन्दी भएर इप्रका सिजुवामा रहेका सुभाष खत्री, इप्रका रङ्गेलीमा रहेका धर्म कार्कीलगायतका प्रहरीले अहिले पनि सादा पोसाकमा नै घुमुवाको काम गर्दै आउनुभएको छ ।