लक्ष्मी तिमिल्सेना
जमुनाह, असोज ३० गते । बाँके डुडुवा–६ हिरमिनियाका विष्णुप्रसाद बर्माले आफु जान्ने भएदेखि नै बदाम खेती गर्दै आउनु भएको छ । धान तथा अन्य खेती नहुने बलौटे माटो भएको उहाँको खेतमा वर्षेनी बदाम खेती गरेर आफ्नो गर्जो टार्दै आउनु भएका उहाँले बदाम खेती आफ्ना लागि नगदे बालिको रुपमा रहेको बताउनुभयो ।
डुडुवा कै कमला प्रसाद मौर्यले पनि बदाम खेती गर्दै आउनु भएको छ । सात कठ्ठामा वर्षेनी बदाम खेती गर्दै आउनु भएको उहाँलाई खेतमै व्यापारी बदाम किन्न आउने हुँदा उत्पादनले बजार नपाउला भन्ने चिन्ता पनि छैन ।
बाँकेमा बदाम खेती गर्ने किसानले उत्पादन गरेको बदाम किसानकै खेतबारीबाट नगदमै खरिद बिक्री हुने गर्छ । बदाम खनेको खेतमै व्यापारीले नगदमै उठाई दिँदा उनीहरुका लागि नगदेबालीको रुपमा बदाम खेती पर्दै आएको छ । बलौटे माटो, नदी र खोलाको किनाराको सदुपयोग गर्दै बाँकेका किसानहरुले बदाम खेती गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि÷अर्थ निर्देशक डा. विनोद घिमिरेले बाँकेमा नगदे बालीको रुपमा बदाम खेती करिव ६ सय ५१ हेक्टरमा गरिने जानकारी दिनुभयो । खोलाको किनार, बलौटे माटोमा यसको खेती गर्ने गरिएको छ । उहाँले बदाम खेती ८ सय ५ मेट्रिक टनसम्म वर्षेनी उत्पादन हुने गरेको जानकारी दिनुभयो ।
बदाम खेतीमा झार र किराको कारण भने यहाँका किसानहरुलाई बेला बेलामा समस्या परिरहन्छ । बाँकेमा बलौटे माटो तथा खेर गइरहेको बगर, खोलाको किनारमा नगदे बालीको रुपमा गरिँदै आएको बदाम खेतीलाई राज्यको सहयोग हुनसके किसानको जीवनस्तर उकास्न सहज हुने थियो ।