• ३० असोज २०८२, बिहिबार

आफन्तसँग सम्पर्क गर्न छानामाथि मोवाइल

blog

फोन सम्पर्कका लागि घरको छानामा राखिएको मोवाइल । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, असोज ३० गते ।
कालीकोट जिल्लाका केही ठाउँमा मोवाइल सेवा सहज नचल्दा नागरिक अझै पनि प्राविधिकभन्दा बाहिर छन् । जिल्लामा फाइभी जी सेवा सञ्चालन भए पनि जिल्लाका केही ग्रामीण ठाउँमा फोन सेवा सहज रुपमा चल्न कठिन छ ।

फोन सेवा सहज नहुँदा आफन्तसँग कुरा गर्न घरको छाना वा बसेको स्थानबाट अग्लो पाखा तिर जानु पर्ने बाध्यता नागरिकलाई अझै छ ।

खाँडाचक्र नगरपालिका–८ पाँखाको सेरावाडा बजार, तिलागुफा नगरपालिकाको बाली बजार, नाग्म बजार, धनाडा गाउँ र पलाँता गाउँपालिकाको बाख्रे बजार, पचालझरना गाउँपालिकाको जारकोट बजार क्षेत्रमा समेत मोवाइल सेवा भनेको समयमा चल्दैन । आफन्तसँग मोवाइल फोन सम्पर्कमार्फत कुरा गर्नका लागि केही ठाउँमा घरको छाना माथि मोवाइल राख्नुपर्ने अवस्था छ ।

खाँडाचक्र नगरपालिका– ८ को सेरावाडा बजारको मल्ल होटलमाथि छानामा जहिले पनि मोवाइल फोन राखिन्छ । होटलमा खाना खान आउनेदेखि सुर्खेतमा रहेका छोरा छोरी आफन्तसँग सम्पर्क होस भनेर होटल सञ्चालकले घरको छानामा बिहानदेखि साँझसम्म मोवाइल राख्दै आएका छन् ।

होटल सञ्चालकका छोरा खगेन्द्र मल्लले कालीकोटमा मोवाइल सेवा २०६४ सालदेखि नै सुरु भएको हो । तर यहाँ भने छानामाथि मोवाइल राखेर सम्पर्कमा गर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

मोवाइलको टावर बजार आसपास नै राख्नका लागि कसैले चासो नदिँदा सेरावाडालगायत धनाडा, नाग्म र वाली बजारका नागरिक फोन गर्नका लागि माथि गाउँ तिर जानु पर्ने अवस्था कायमै छ ।

कर्णाली प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले आफु प्रतिनिधिसभा सदस्य हुँदा २०७६ साल तिर कालीकोटमा छ स्थानमा मोवाइलका टावर निमार्ण गर्ने कुरा भएको जानकारी दिनुभयो ।  

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा राजीनामा दिएकाले काम हुन नसकेको उहाँको भनाइ छ । 

उहाँका अनुसार मोवाइलको टावर राख्ने प्रयास अहिले पनि भइहरको छ । दुई ठाउँमा टावर निर्माण त भएको छ, तर भने अनुसार नहुदा समस्या भएको रावतको भनाइ छ ।

नाग्ममा भने जुम्ला जिल्लाको टावरले काम गरिरहेको छ । फोइमहादेवमा पनि टावर त बनेको छ, तर त्यसले तिलानदी किनारमा काम नगरेका कारणले अझै नागरिक सञ्चार सेवाबाट बञ्चित हुँदै आएका छन् ।