• ३० असोज २०८२, बिहिबार

व्यावसायिक पुष्पखेतीमा आत्मनिर्भर बन्दै न्यौपाने

blog

पुष्पखेतीमा रमाउँदै खुमाकान्त न्यौपाने । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी 
पश्चिम नवलपरासी, ३० असोज ।
पश्चिम नवलपरासीको बर्दघाट–१० का २७ वर्षीय  युवा खुमाकान्त न्यौपानेले सरकारी सेवाको अनुभवलाई निजी उद्यममा रूपान्तरण गर्दै व्यावसायिक पुष्पखेतीमा उदाहरणीय सफलता प्राप्त गरिरहनुभएको छ ।

बर्दघाट नगरपालिकामा ७ वर्ष कृषि प्राविधिकको रूपमा बिताएका न्यौपानेले अहिले जिल्लालाई नै फूल उत्पादनमा आत्मनिर्भर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्यका साथ व्यवसाय विस्तार गर्नुभएको छ ।

न्यौपानेले बर्दघाट–२ स्थित आम्बास र दमारे क्षेत्रमा ’सिरानघरे एकीकृत कृषि फर्म’ मार्फत पुष्पखेती गरिरहनुभएको छ । उहाँ तिहारको सिजनलाई मात्र लक्षित नगरी वर्षभरि नै विभिन्न जातका फूलहरू उत्पादन गरी बजारमा उपलब्ध गराउँदै आउनुभएको छ ।

एक हेक्टरमा फूलखेती, २० लाखको कारोबार लक्ष्य
वि.सं. २०८१ साल साउन महिनादेखि सुरु गरेको पुष्पखेतीलाई निरन्तरता दिँदै न्यौपानेले हाल करिब एक हेक्टर (२० रोपनी) क्षेत्रफलमा खेती गरिरहनुभएको छ । उहाँको व्यवसाय तीव्र गतिमा बढिरहेको छ । गत वर्ष करिब १० लाख रुपियाँको कारोबार गर्नुभएका न्यौपानेले यस वर्ष कारोबारलाई दोब्बर बनाउँदै २० लाख रुपियाँ बराबरको फूल बिक्री गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको बताउनुहुन्छ ।

आफ्नो सरकारी अनुभवलाई पुष्पखेतीका साथै सँगसँगै पशुपालन व्यवसायमा समेत प्रयोग गरिरहेका न्यौपानेले आगामी ३–४ वर्षभित्र जिल्लालाई पुष्प उत्पादनमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

युवाहरूलाई नेपालमै उद्यमी बन्न सकिने बलियो सन्देश दिँदै उहाँ भन्नुहुन्छ, “नेपालमै उद्यमी बन्न सकिन्छ, यदि सोच, सङ्कल्प र दृढता भए ।’’

सरकारी सेवाको ज्ञानलाई रूपान्तरण गर्दै व्यावसायिक पुष्पखेतीमा सफलता हासिल गरेका न्यौपानेको यो कदमले यस क्षेत्रका अन्य युवाहरूलाई उद्यमशीलताका लागि सशक्त उत्प्रेरणा दिएको छ ।