• २० वैशाख २०८३, आइतबार

पुरातात्त्विक धरोहर पञ्चदेवल शिवधाम

blog

बैतडीको दशरथ चन्द नगरपालिका–४, देवलहाटस्थित पञ्चदेवल शिवधाम । तस्बिर : केशवराज भट्ट

वासुलिङ समाचारदाता

वासुलिङ (बैतडी), असोज ३० गते । दशरथ चन्द नगरपालिका–४, देवलहाटस्थित ऐतिहासिक पञ्चदेवल शिवधाम (सप्तदेवल मन्दिर) धार्मिक र सांस्कृतिक दृष्टिले मात्रै होइन, जो पुरातात्त्विक महत्वको दृष्टिले पनि अतुलनीय मानिन्छ । उक्त स्थल पाण्डवकालीन अवशेषसँग सम्बन्धित रहेको जनविश्वास छ । स्थानीय बासिन्दा उद्धव मर्काण्डका अनुसार मन्दिरपरिसरमा रहेका ढुङ्गाका संरचना, इँटाको प्रयोग, शिलालेख र पुरानो वास्तुकलाले यसको ऐतिहासिकता अझ प्रस्ट्याएको छ । पुरातत्वविद्ले यस क्षेत्रको संरचना कम्तीमा एक सहस्राब्दी पुरानो हुन सक्ने अनुमान गरेका छन् ।

पञ्चदेवलपरिसरमा सात वटा देवल (मन्दिर) रहेका कारण यसलाई ‘सप्तदेवल’ पनि भनिन्छ । मुख्य शिव मन्दिरसँगै सहस्रलिङ्ग कुण्ड, पौराणिक मूर्तिहरू र परम्परागत ढुङ्गाका कलात्मक संरचना यस क्षेत्रको विशेषता मान्न सकिन्छ, स्थानीय दिलाराम भट्टले बताउनुभयो ।

यहाँ स्थानीय भट्ट र मार्कण्ड जातिका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई पवित्र केराको पात अन्य आयुर्वेदिक लहराका पात प्रयोग गरेर शरीर ढाकेर हातमा त्रिशूल  समातेर  लाखेनाच नाची गौरा मनाउने चलन रहेको मार्कण्डले जानकारी दिनुभयो तर धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको यो धरोहर संरक्षण र प्रवर्धनको अभावमा जीर्ण बन्दै गएको गुनासो स्थानीयले गरेका छन् । मन्दिरका ढोका, मूर्ति र आधार संरचनामा समयसापेक्ष मर्मत नहुँदा क्षय हुन सक्ने जोखिम बढेको दशरथ चन्द नगरपालिका–४ का स्थानीय उद्धव मर्काण्डले बताउनुभयो ।

यस्तै अर्का स्थानीय धर्मप्रेमी नारायण भट्ट भन्नुहुन्छ, “यो स्थल बैतडीको गौरव हो, तर संरक्षणमा उदासीन देखिँदा चिन्ता लागेको छ ।” उनका अनुसार यहाँको ऐतिहासिकता उजागर गर्न स्थानीय निकाय र पुरातत्व विभागबिच सहकार्य आवश्यक छ ।