सन्तोष दहित
दाङ, असोज ३० गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार दिउँसो प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो ।
डा. लामिछानेले घरायसी जिम्मेवारी र स्वास्थ्य कारण देखाउँदै उपकुलपतिबाट राजीनामा दिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।
डा. लामिछानेको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदै थियो । तर कार्यकाल सकिनुअघि नै उहाँले स्वेच्छाले पदबाट अलग हुने निर्णय लिनुभएको हो । डा. लामिछानेको कार्यकालका क्रममा प्रतिष्ठानले शिक्षण अस्पतालको सेवा विस्तार, शैक्षिक कार्यक्रम सुदृढीकरण र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको मानिन्छ । उहाँले नेतृत्व गर्दा प्रतिष्ठानमा विभिन्न नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा आएका थिए ।
उहाँको राजीनामापछि प्रतिष्ठानमा नयाँ उपकुलपति चयन प्रक्रियाबारे छलफल सुरु भएको बताइएको छ । सरकारको स्वीकृतिपछि छिट्टै नयाँ उपकुलपति नियुक्त हुने अपेक्षा गरिएको छ ।
डा. लामिछानेले राजीनामासँगै आफ्नो निजी जीवनमा समय दिने र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।