गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २५ गते । सरकारको केन्द्रीय संयुक्त बजार अनुगमन समितिले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबारदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो ।
विभागका निर्देशक भरतप्रसाद आचार्यले तिहारमा बढी खपत हुने मिठाई, विद्युतीय सामान, भाँडाकुँडा र भाइ मसलाकेन्द्रित बजार अनुगमन सुरु गरेको जानकारी दिनुभयो ।
उहाँले बिहीबारदेखि सार्वजनिक बिदाको दिनमा समेत दैनिक पाँच/छ वटा टोलीले नियमित रूपमा चाडपर्वलक्षित बजार अनुगमन गरिरहेको जानकारी दिनुभयो । यस्तो अनुगमन नयाँ नभएर विगतकै निरन्तरता हो । त्यसैले पनि यसको उपलब्धि देखिँदैन । उपभोक्ता अधिकारकर्मी सरकारको बजार अनुगमन खाली कर्मकाण्डी र बजेट सक्ने मात्रै भएको आरोप लगाउँदै आएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारको बजार अनुगमनको उद्देश्य राम्रो भए पनि अहिलेको बजार अनुगमन बजेट सक्नेबाहेक केही नभएको आरोप लगाउनुभयो ।
विभागका निर्देशक आचार्यले तिहारलक्षित अनुगमनले मूल्यभन्दा पनि गुणस्तर र वैधानिकतामा विशेष ध्यान दिएको बताउनुभयो । वस्तुमा म्याद सकिएको वा बिग्रिएको पाइएमा नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाउने जानकारी दिनुभयो ।
विभागका महानिर्देशक रोशन ज्ञवालीले स्वयम् उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बताउनुभयो ।