• २५ असोज २०८२, शनिबार

जेनजी विद्रोहपछि पहिलो सर्वदलीय परामर्श

संविधान रक्षाका लागि निर्वाचन अपरिहार्य

blog

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजना गर्नुभएको प्रधानमन्त्री सुशीला कार्की तथा अन्य राजनीतिक दलका प्रतिनिधि सहभागी बैठक । तस्बिर : राष्ट्रपतिको सचिवालय

  • शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई राष्ट्रपतिको सुझाव
  • स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
  • जेनजी पुस्ता हामी सबैका छोराछोरी भएकाले उनीहरूबाट किन यस्तो असन्तुष्टि व्यक्त भयो भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह
  • लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल निर्वाचनमा जान सधैँ तयार रहेको र त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने दलका प्रतिनिधिको भनाइ

अशोक अधिकारी/सूर्य पाण्डे

काठमाडौँ, असोज २५ गते । जेनजी विद्रोहबाट सत्ता उथलपुथल भएको लामो समयपछि बल्ल विघटित सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल सर्वदलीय परामर्शमा जुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान एवं प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा दलहरू संवादमा जुटेका हुन् । 

सिंहदरबार, सर्वोच्च अदालत, सङ्घीय संसद् भवनसहित देशभर प्रशासनिक भवन, प्रमुख दलका नेताका घरसम्पत्ति एवं व्यापारिक प्रतिष्ठान जलेर नष्ट भएसँगै नयाँ सरकार गठन र देश क्रमशः लयमा फर्किने प्रयासमा रहँदा राष्ट्रपति पौडेल सरकार र दलबिच संवादको वातावरण बनाउन अग्रसर हुनुभएको हो । बैठकमा दलका नेताले निर्वाचनमा जाने नजाने तय भइनसकेको र केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने बताउँदा प्रधानमन्त्री कार्कीले भने निर्वाचनको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । दलका नेताको अभिव्यक्ति केही जिम्मेवार र केही आक्रोशयुक्त पनि रहेको बैठकमा सहभागीले जनाएका छन् । 

निर्वाचनमा केन्द्रित हुन आग्रह 

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको प्रस्ट पार्नुभयो । उहाँले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलमा कुनै दुबिधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिएमा यसले देशलाई कहाँ पु¥याउँछ भन्ने पनि सोच्न आग्रह गर्नुभयो । 

उहाँले पार्टीहरूले पनि कुनै किसिमको दुबिधा सिर्जना नगरी जेन्जीको माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभयो । 

भयरहित निर्वाचन हुन्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन नहुने विषयमा सरकार जानकार रहेको बताउनुभयो । उहाँले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाउनुभयो । उहाँले जेनजीहरू हामी सबैका छोराछोरी भएकाले उनीहरूबाट किन अहिले यस्तो असन्तुष्टि व्यक्त भयो भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गर्नुभयो ।

राजनीतिक दलको आग्रह 

राजनीतिक दलका नेताले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल निर्वाचनमा जान सधैँ तयार रहेको बताएका छन् । बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेका अनुसार दलका प्रतिनिधिले निर्वाचनको वातावरण, लुटिएका हतियारबाट हुने खतरा र सरकार निर्वाचनप्रति गम्भीर छ÷छैन भन्ने कुरा बैठकमा राख्नुभएको थियो । 

पाण्डेले भन्नुभयो, “अझै पनि प्रहरीबाट लुटिएका हतियार कहाँ छन् भन्ने प्रस्ट छैन । सरकारले निर्वाचन गराउने हो कि नेता थुन्नेतर्फ लाग्ने हो ? सुरक्षाको प्रत्याभूति कसरी गर्ने हो भन्नेलगायत समग्र विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।”

उहाँका अनुसार कांग्रेस र एमालेका नेताले केन्द्रीय कार्यसमिति बैठक बसेपछि मात्रै निर्वाचनमा सहभागी हुने सन्दर्भमा निर्णय गर्ने प्रस्ट पारेका छन् । अन्य नेताले अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको बताए । उनीहरूले यो शङ्का र संशय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने बताए । 

जेनजी प्रतिनिधिसँग पनि छलफल 

राष्ट्रपति पौडेलले शनिबार जेनजीका प्रतिनिधिसँग पनि निर्वाचनका सन्दर्भमा परामर्श गर्दै हुनुहुन्छ । सरकारसँग निरन्तर संवादमा रहेका जेनजी प्रतिनिधिलाई उहाँले छलफलका लागि बोलाउनुभएको छ । प्रेस सल्लाहकार पोखरेलले भन्नुभयो, “निर्वाचन र निर्वाचनका लागि वातावरण बनाउने सन्दर्भमा नै जेनजीका प्रतिनिधिसँग राष्ट्रपतिले छलफल गर्दै हुनुहुन्छ ।”

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही र मीना लामा, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै जनता समाजवादी पार्टीकी नेतृ रेनु यादव, जसपा नेपालका नेता विद्युत् वज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीका ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापती सहभागी हुनुहुन्थ्यो ।