• २४ असोज २०८२, शुक्रबार

बागमती प्रदेशको सभामुखमा कांग्रेसले दाबी गर्ने

blog

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ।

राममणि दाहाल

मकवानपुर, असोज २४ गते। बागमती प्रदेश सभाको प्रदेश सभामुखमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको  हेटौँडामा शुक्रबार बसेको ३५ औं बैठकले यस्तो निर्णय गरेको हो। 

गत भदौमा भएको जेनजी विद्रोहपछि फरक राजनीतिक अवस्था आएको भन्दै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभामुखबाट उपसभामुख समक्ष राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको छ। 

दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले विपद् पछिको व्यवस्थानपनमा स्थानीय सरकारसँग समन्वय गरेर तीव्र ढंगले व्यवस्थापन गर्ने निर्णय गरेको छ। यस्तै बैठकमा बागमती प्रदेश सरकारको पुरक बजेटका सम्बन्धमा संसदीय दलमा थप छलफल गर्ने निर्णय गरेको दलका नेता बानियाँले बताउनुभयो। 

यसअघि पाठक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा सभामुख बन्नुभएको थियो। बागमती प्रदेशमा अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार छ। 

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशका कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीको सात, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई प्रदेश सभा सदस्य रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यले प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेपनि प्रदेश सभा सचिवालयमा औपाचारिक रुपमा पत्र दर्ता भएको छैन।