• २२ असोज २०८२, बुधबार

बजेट अभावमा अलपत्र निसीखोलामा आधारभूत अस्पताल

blog

निसीखोलामा निर्माणाधीन निसी अस्पताल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असोज २२ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा निर्माणाधिन आधारभूत अस्पताल आर्थिक अभावमा अलपत्र भएको छ । निसीखोला गाउँपालिका वडा ३ र ४ को सिमानामा अस्पताल भवन निर्माणाधीन छ । 

स्थानीयबाट जग्गा उपलब्ध भएपछि गाउँपालिकाले १० करोड ९९ लाख रुपियाँ लागतमा निर्माणाधिन भवन आर्थिक अभावमा पूरा नभएको हो । १० शय्याको अस्पताल बनाउन नसक्दा पालिकाका बिरामी पाल्पा र बुटवल जान बाध्य छन् । ‘‘झट्ट हेर्दा काम सकिएजस्तो भए पनि धेरै बाँकी छ’’ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले भन्नुभयो, ‘‘भवन त राम्रो बनेको छ, तर बजेट नहुँदा पूरा भएको छैन ।’’ भवन निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाइ छ । 

हिमदुङ एसी आइएस संयुक्त निर्माण कम्पनीले भवन बनाउने ठेक्का लिएको हो । गाउँपालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि सङ्घीय सरकारले भवन निर्माणका लागि बजेट निकासा गरिदिएको थियो । तर ठेकेदारले अघिल्लो वर्ष गरेको कामको डेढ करोड बढी भुक्तानी पाउन बाँकी छ । जसका कारण यो वर्ष थप काम हुनै नपाएको प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले बताउनुभयो । सङ्घीय सरकारमा पहल भएपनि बजेट नआएसम्म काम हुनेमा ढुक्क नभएको पुनको भनाइ छ ।

अस्पताल भवन पूरा भए पनि उपकरण खरिद, नियमित अस्पताल सञ्चालन तथा दरबन्दीका लागि बजेट छैन । निसीखोलाको पनि आन्तरिक आय १ करोडभन्दा कम छ । पहिलो चरणमा अस्पताल सञ्चालन गर्नुपरेमा ३ करोड बढी खर्च निस्कने अनुमान छ । निसीखोलामा अहिले पनि होम डेलीभरी भेटिन्छ । भएका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालन छैन । सुरक्षित सुत्केरी बन्नुपरेमा कतिपय महिला पाल्पा पुगेर डेरा बस्ने गर्छन् ।

गत वर्ष गाउँपालिकाले २० लाख खर्चेर अस्पतालको छेउमा रहेको खोलामा पक्की पर्खाल निर्माण गरेको छ । भौगोलिक रूपमा पालिकाको मध्यभागमा परेको र मध्यपहाडी लोकमार्गबाट नजिक भएकोले यो अस्पताल सम्पन्न भए पालिकाका २५ हजारबढीले सेवा लिने अध्यक्ष घर्ती बताउनुहुन्छ ।