• २२ असोज २०८२, बुधबार

घाइते चार जनाको काठमाडौँमा उपचार हुँदै

blog

दुर्घटना भएको सवारी।

अनिल पराजुली

हेटौँडा, असोज २२ गते। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीबाट हेटौँडा आउँदै गरेको विद्युतीय गाडी (इभी) र मोटरसाइकल दुर्घटना हुँदा घाइते हुनुभएका १६ जना मध्य १२ जना डिस्चार्ज हुनुभएको छ भने चार जनाको काठमाडौँमा उपचार भइरहेको छ।  

घाइते तीन जनालाई नेपाल आर्मीको हेलिकाेप्टरमार्फत् काठमाडौँ लगिएको छ। काठमाडौँ गोकर्णेश्वर नागरपालिका–६ बस्ने २६ वर्षीय निकेश पौडेल, ५० वर्षीय मीरा पौडेल र २८ वर्षीय मिकेशा पौडेललाई आर्मीको हेलिकाेप्टरद्वारा काठमाडौँ बिएन्डबी अस्पतालको लगिएको हो। घाइतेको निधार र शरीरको विभिन्न भागमा चोट लागेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो। 

दुर्घटनामा १२ जना सामान्य, तीन जना मध्यम र एक जना गम्भीर घाइते हुनुभएको थियो। घाइतेको सहकारी अस्पताल हेटौँडा, हेटौँडा अस्पताल  र मेडिकल झुरझुरेमा उपचार भएको थियो। दुर्घटनामा ६ महिला, ८ पुरुष र दुई जना बालिका घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभी गाडीले बागमती–४, झुरझुरेमा भित्री बाटोबाट हाइवे तर्फ निस्कँदै गरेको  ना. ५ प. ५५५८ नम्बरको मोटरसाइकललाई मङ्गलबार बिहान ठक्कर दिएर अनियन्त्रित हुँदा सडकबाट १५ फिट खोल्सामा खसेर दुर्घटना भएको थियो। इभी चालक सिन्धुली कमलामाई नगरपालिका–९ बस्ने वर्ष ३९ वर्षीय केदार ढुङ्गेलको उपचार पश्चात् जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा राखिएको छ।