• २३ असोज २०८२, बिहिबार

सुपथ मूल्य पसलबाट सात सय क्विन्टल चामल बिक्री

blog

नौरते नेपाली

सिँजा (जुम्ला), असोज २२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले सुपथ मूल्य पसलबाट सात सय क्विन्टल चामल बिक्री गरेको छ । गत भदौ ३० गतेदेखि सञ्चालनमा आएको पसलबाट कम्पनीले हालसम्म झन्डै सात सय क्विन्टल चामल बिक्री गरेको हो ।

खाद्य व्यवस्था कार्यालयका सूचना अधिकारी श्रीराम ठाकुरका अनुसार सुपथ मूल्य पसल कात १० गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । सिर्जनात्मक योजना उपभोक्तामैत्री साबित भएको छ। उहाँले भन्नुभयो, "हाम्रो लक्ष्य एक हजार एक सय क्विन्टल चामल बिक्री गर्ने हो ।"

तर सुरुको तीन सातामै सात सय क्विन्टल नाघिसकेको बताउनुभयो । जिल्लाका गुठिचौर, पातारासी, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाभित्रका उपभोक्ताहरू सबैभन्दा बढी चामल लिन आएको उहाँको भनाइ छ ।

यस्तै सिँजा, कनकासुन्दरी, तिला र हिमा गाउँपालिकाबाट पनि उल्लेख्य माग आएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो । पसलमा दैनिक ९० क्विन्टलसम्म चामल बिक्री भइरहेको छ । बजारको तुलनामा सस्तो र गुणस्तरीय चामल पाउने भएकाले उपभोक्ताको आकर्षण बढेको बताउनुभयो ।

यस वर्ष जुम्लाका लागि पाँच हजार क्विन्टल चामल कोटा तोकिएकोमा हालसम्म दुई हजार पाँच सय क्विन्टल आइपुगेको र बाँकी आउने क्रममा रहेको कार्यालयले जनाएको छ । तिहारसम्म चामल अभाव हुनेछैन । सूचना अधिकारी ठाकुरका अनुसार उपभोक्ताले खरिद गर्न सक्ने बताउनुभयो ।

यस्तै गुठिचौर-३ कि उपभोक्ता रूपशिला कामीका अनुसार, यो चामल मसिनो, स्वादिलो र सस्तो भएकाले बजारभन्दा सुपथ मूल्यमा चामल लिन आएको बताउनुभयो । बजारको महँगो चामल किन्नु भन्दा यताको चामल किन्दा पैसाको बचत हुने उहाँको भनाइ छ ।

सुपथ मूल्यको पसल वर्षभरि चलेमा गरिबका लागि राहत हुने उहाँले बताउनुभयो । पसलमा बिक्री भइरहेको चामलमा प्रति किलो पाँच रुपियाँ छुट दिइएको छ भने पाँच सय क्विन्टल चामल विपद् व्यवस्थापनका लागि छुट्याइएको छ ।