• २१ असोज २०८२, मङ्गलबार

सुँगुर फार्ममा बाढी पस्दा ८० लाख बराबरको क्षति

blog

धरान (सुनसरी), असोज २१  गते ।  गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दाबढी सुँगुर बगाउँदा करिब रु ८० लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताउनुभयो । 

मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले विसं २०७४ मा फार्म सञ्चालन गर्नुभएको हो । करिब चार बिघामा फैलिएको फार्मममा १६ जनाले रोजगारी पाइरहेका छन् ।

उहाँका अनुसार फार्ममा ३०० भन्दा बढी सुँगुर थिए । शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दाबढी सुँगुर बगाएको उहाँको भनाइ छ । फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन् । बच्चा सुँगुरमध्ये ४० भन्दाबढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएर लगेको  उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “भारी वर्षापछि फार्ममा एक्कासी बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हामफाल्न थाले, हामी फार्मको पारीपट्टी थियौँ, उनीहरुलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन् ।” उहाँले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताउनुभयो । उक्त फार्ममा करिब ३० हजार कुखुरा छन् । रासस