• २१ असोज २०८२, मङ्गलबार

प्रकोप व्यवस्थापनको सन्देश

blog

अनेक प्राकृतिक प्रकोप संसारभर नै हुन्छ । नेपालले पनि भोगिरहेको छ । प्रकोपमा जनधनको क्षति न्यून गर्नु राज्य र समाजको मुख्य कर्तव्य हो । सरकार र सम्बद्ध निकाय सचेत हुन सक्दा जनधनको क्षति न्यून हुने मान्यता छ । यो पटकको अविरल अनियन्त्रित बर्सातमा सरकार र सम्बद्ध निकायको पूर्वतयारी तथा व्यवस्थापन निकै प्रभावकारी देखिएको छ । तैपनि अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानले दुई दिनमै देशभर ४६ जनाको ज्यान लियो । छ जना बेपत्ता रहे । २६ जना घाइते भए । ज्यान जाने क्षति दुःखद हो तर प्रकोपको आयतन अनुसार यो क्षति न्यून नै मान्नु पर्छ । मौसम पूर्वसूचना, तयारी र व्यवस्थापनमा सम्बद्ध निकायको प्रभावकारी समन्वय देखियो । पूर्वसूचनाको सही पालना गरे विपत्बाट हुने सम्भावित क्षति कम गर्न सकिने असल अभ्यास देखिएको छ । सङ्घीय सरकार, सम्बद्ध निकाय र स्थानीय समन्वय धेरै हदसम्म प्रभावकारी देखियो । जल तथा मौसम विज्ञान विभागले प्रभावी सूचना सम्प्रेषण गर्न सक्यो । विभागले यस वर्षको बडादसैँलक्षित गर्दै ठुलो वर्षा प्रणाली भित्रिने पूर्वानुमानसहितको विशेष पूर्वसूचना निरन्तर जारी ग¥यो । त्यस सूचना अनुसार सरकारका सम्बद्ध निकायले राम्रै तयारी र व्यवस्थापन गर्न सके । हुन पनि दसैँको टीकाको भोलिपल्ट शुक्रबारदेखि नै नेपालमा जलप्रकोपका असर देखिन सक्ने सूचना यथार्थमा रूपान्तरण भयो । लगत्तै यातायात र आवतजावतमा नियन्त्रण गरियो ।

अघिल्ला वर्षमा १० लाखभन्दा बढी मानिस दसैँ मनाउन काठमाडौँ छाड्थे । यो पटक उपत्यकाबाट पाँच लाख हाराहारी मानिस मात्र दसैँ मनाउन बाहिर गए । थप जाने क्रममा थिए । कतिपय रोकिए । कतिपय बाहिर गएका भोलिपल्टबाटै उपत्यका फर्कन थालिसकेका थिए । सूचनाका कारण धेरै बाहिर रोकिए । कतिपयले बाटोमा रोकिनु प¥यो । गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहरी विकास मन्त्रालयसहित तीन वटै सुरक्षा निकायबिच लगातार भर्चुअल बैठक बसेर रणनीति तयार गरी कार्यान्वयन गरियो । असोज १७ गतेबाट अविरल वर्षा हुन थाल्यो । बाढी र डुबान बढ्यो । पहिरो जान थाल्यो । पूर्वचेतावनीसहितको पूर्वसूचना विभागको मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले जारी ग¥यो । शुक्रबार रातिदेखि शनिबार अनि पूर्वी भेगमा आइतबार पनि वर्षा जारी रह्यो । असोज १८ गते शनिबार बिहान गृह मन्त्रालयले तीन दिन उपत्यकाबाट आवतजावत ठप्प पार्ने गरी सवारी आवागमन बन्द गर्ने निर्णय पालना गराउन थाल्यो । त्यसले क्षति न्यूनीकरण गर्न सघाउ पु¥यायो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा टोली परिचालन गरियो । उद्धारका निम्ति तैनाथी गरियो ।

कतिपयको जिद्दीपन पनि अति देखियो । अटेर गरेर, वैकल्पिक बाटो समातेर हिँडे । अलपत्र परे । कतिपय स्थानमा त प्रहरीले भ्यानै तेर्साएर सवारी रोकेको पनि देखियो । माइकिङबाट बारम्बार सूचित गरियो । गस्तीसहित चारैतिरका नाका बन्द गरी सकभर घरबाट ननिस्कन भनियो । जहाँ भए पनि सुरक्षित रहन भनियो । जबर्जस्ती वैकल्पिक बाटो हुँदै जानेहरू पहिरो र बाढीका कारण अलपत्र पर्नु अस्वाभाविक थिएन । पूर्वसूचना मानेको भए अलपत्र पर्ने थिएनन् । विपत्मा निजी क्षेत्रको सहयोग पनि राम्रो देखियो । कतिपय स्थानका होटेल व्यवसायीलाई सहुलियत र निःशुल्कसम्मको सुविधा यात्रुलाई दिन सरकारले आह्वान गरेको परिपालन धेरै हदसम्म भयो । देशव्यापी सङ्कट टार्न दुई दिन बिदा घोषणा गरियो । सोमबार स्थिति सन्तुलनमा आएपछि बिदा फिर्ता पनि गरियो । सङ्कटमा सरकार आमनागरिकको साथमा देखियो । प्रधानमन्त्री सुशीला कार्कीले आमनागरिकलाई सम्बोधन गर्दै विपत्मा समन्वय गरेर जनधनको सुरक्षामा सघाउन अपिल गर्नुभयो । त्यसले सम्बद्ध सबैमा थप समन्वयसँगै काम गर्न ऊर्जा थपियो । सुरक्षा निकायदेखि सम्बद्ध निकायका जनशक्तिले चाडपर्व नभनी दिनरात काम गरेको पाइयो । कतिपय मन्त्री स्वयम् विपत् स्थानमा पुगे । धेरैले मौसमी पूर्वसूचना सुने । आदेश मान्ने सुरक्षित रहन सके । त्यसले क्षति न्यूनीकरणमा सघाउ पुग्यो । विगतमा पनि प्रकोप भोगेकै हो तर व्यवस्थापन राम्रो हुन सकेको थिएन । त्यसैले गत वर्षका असोज १० देखि १२ सम्म धेरै जनधनको क्षति भयो । त्यस्तो तितो दोहोरिन पाएन । असल अभ्यास भविष्यका निम्ति पाठ हो ।