• १२ असोज २०८२, आइतबार

थारु समुदायको मादल बनाउने सीप ओझेलमा

blog

राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर,  असोज १२ गते ।  दसैं लगायतका चाडपर्व आउँदा यहाँका थारु बस्तीमा गुञ्जिने सखिया नृत्य र त्यससँगै बज्ने मादलको ताल अब विगत बन्ने चिन्ता बढ्दै गएको छ । थारु समुदायको सांस्कृतिक पहिचानसँग गाँसिएको मादल बनाउने सीप पुस्तान्तरण नहुनु, सामग्री नपाइनु जस्ता कारणले यो मौलिक परम्परा हराउने अवस्थामा पुगेको छ ।

पहिले दसैं आउनु केही महिना अघि नै गाउँका सिपालुले नयाँ मादल बनाउँथे ।  पुराना मादल मर्मत गर्थे । विजयसालको काठमा बाख्राको छाला राखेर मादल बनाइन्थ्यो ।

“जति बुढो बाख्राको छाला हुन्छ, मादल त्यति राम्ररी बज्दछ”, युवा समाजसेवी नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “छालालाई विजयसालको काठको ढुङ्ग्रोको दुवैपट्टि मोरेर कसेपछि दुवैतर्फको भागमा भातको माडको गम बनाएर बाबियो पोलेर बनाइएको खरानी र खरी मसला (लोरसिंगा) मिलाएर लगाउने कार्य हुन्थ्यो, त्यसपछि खरी लगाएको भागमा चिप्लो सतह भएको ढुङ्गा वा सिसाको बोतलले घोटेर चम्काइन्थ्यो, यसरी बनेको मादल सखिया नाचमा टाढैबाट बजाएको सुनिन्थ्योे ।”

 उहाँका अनुसार अहिले विजयसालको काठ पाउनै मुस्किल छ । “वन क्षेत्र प्रवेशमा प्रतिबन्ध भएपछि खरी (लोरसिंगां पाउन सकिँदैन, सनपाट खेती छाड्दै जाँदा डोरी जुटाउन गाह्रो छ, सामग्री नै नपाएपछि मादल नै नबन्ने भयो”, उहाँले भन्नुभयो । 

 चौधरीका अनुसार मादल बनाउन जान्ने थारु गाउँमा केही बुढापाकाहरु मात्रै बाँकी छन् । “हामीलाई सिकाउने बुढापाकाले चासो दिएनन्, युवाले पनि सिक्न खोजेनन्”, थारु अगुवा विनोद चौधरी भन्नुहुन्छ, “पुस्तान्तरण नहुँदा सीप हराउँदै छ र योसँगै संस्कृति पनि सङ्कटमा छ ।”

सखिया नाचका लागि अहिले थारु समुदाय बाहिरबाट मादल खरिद गर्न बाध्य छन् । “पुरानो मादल मर्मत गर्न पनि पैसा तिर्नुपर्छ, यस वर्षको सखियामा मादल अपुग हुने भएपछि पुराना मादल दोधारा–चाँदनी पुगेर बादी समुदायसँग मर्मत गराउनुपरेको छ”, पिपलाडीका बरघर राजु चौधरीले भन्नुभयो ।

 उहाँका अनुसार पहिले गाउँमा मादल बनाउन नजान्नेले जान्ने सीपालुलाई अन्न तिरेर बनाइन्थ्यो । पहिले ढकेर समुदाय गाउँमै आएर फलामको काम गर्थे । उनीहरुले छाडेको डढेको फलामबाट खरी पनि बनाउन सकिन्थ्यो । ती चलन अब इतिहास बनेका छन् । 

“ढकेर आउन छाडेको वर्षौ बितिसक्यो लोरसिंगा(खरी) पाइनै छाड्यो, वन क्षेत्रमा पाइन्थ्यो त्यहाँ अनुमतिले मात्रै जान पाइन्छ, तर लोरसिंगा ल्याउनै पाइँदैन”, उहाँले भन्नुभयो । गाउँमै आफ्ना लागि आफैं बनाइने मादल टिकाउ मात्र नभई बज्नमा पनि उत्कृष्ट हुन्थ्यो । तर, अहिले बाहिरबाट ल्याइने मादल महँगो छ । “एउटा मादल किन्न रु. तीन हजारदेखि रु. छ हजारसम्म तिर्नुपर्छ”, अगुवा गहनु चौधरी बताउनुहुन्छ, “महँगो मात्र होइन, गाउँमा बनेको जस्तो मीठो ताल पनि आउँदैन ।”

मादल बनाउन मात्र होइन, बजाउन जान्ने युवाको सङ्ख्या पनि घट्दै गएको छ । यसले दसैँमा देखाइने सामूहिक सखिया नाचको आकर्षण घटाएको छ । “मादलकै अभावमा सखिया ओझेलमा पर्ला कि भन्ने पिरलो छ”, स्थानीय श्यामलाल डगौरा भन्नुहुन्छ, “पहिला घर घरमै मादल बन्ने हुँदा अगुवा र पछुवा मदारीको सङ्ख्या नै अधिक हुन्थ्यो, एकै नाचमा १० देखि १५ सम्म मदारी हुन्थ्ये, अहिले घटेर चार पाँच जनामै सीमित हुन पुगेका छन् ।” 

उहाँका अनुसार मादल बनाउन आवश्यक काठ, छाला र अन्य सामग्री उपलब्ध गराउने नीति बनाउनुपर्ने आवश्यकता छ । “मादल बनाउने सीप पुनःस्थापना गर्न स्थानीय तहले पहल नगरे परम्परा लोप हुने पक्का छ”, उहाँ भन्नुहुन्छ ।

थारु संस्कृतिको जीवन्तता कायम राख्न मादल निर्माणलाई संरक्षण गर्ने मात्र विकल्प देखिएको उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, “मादलबिना न त दसैँमा सखिया नृत्यमा चमक आउँछ, न त थारु समुदायको मौलिकतालाई जीवन्त राख्न सकिन्छ, त्यसैले थारु संस्कृतिको अभिन्न अङ्गका रुपमा रहेको मादल संरक्षण गर्ने कार्यसँगै निर्माण गर्ने कार्यलाई जीवन्त राख्न राज्य र समाज दुवैले उत्तिकै ध्यान दिनु जरुरी छ ।” रासस