• ८ असोज २०८२, बुधबार

सुरक्षित नेपाल प्रवर्धनमा पर्यटक

blog

काठमाडौँ, असोज ८ गते । लाखौँ पर्यटक भित्रिने मुख्य याममै जेनजी आन्दोलनबाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई बिउँताउन विदेशी पर्यटक नै नेपाल प्रवर्धनमा जुटेका छन् । जेनजी प्रदर्शनका क्रममा केही पर्यटकीय संरचनामा तोडफोड र आगजनी भए पनि कुनै पनि पर्यटक असुरक्षित भएनन् । नेपाल भ्रमणमा रहेका विदेशी नागरिकले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल भ्रमणका लागि सुरक्षित रहेको भन्ने सन्देश प्रवाह गरिहेका छन् ।

विभिन्न सञ्जालमा चर्चामा रहेका विदेशी नागरिकको नेपाल प्रवर्धन र पर्यटन बोर्डले सञ्चालन गरेको नेपाल नाउ (अहिले नेपाल) अभियानपछि नेपाल सुरक्षा जोखिममुक्त रहेको र पर्यटकीय आवागमनमा कुनै असर नरहेको सन्देश प्रवाह भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान्य पहिरो खस्दासमेत प्रभावित हुने पर्यटन क्षेत्रमा जेनजीका नाममा भएको ध्वंसात्मक गतिविधिका कारण पुगेको तत्कालीन र दीर्घकालीन असर कम गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित रहेको सूचना दिन आवश्यक छ । अहिले केही चर्चित विदेशी भ्लगर, कन्टेन्ट क्रिएटरका विषयवस्तुमार्फत नेपाल भ्रमणका लागि सुरक्षित रहेको सूचना प्रवाह भइरहेको देखिन्छ । बोर्डले पनि नेपाल भित्रिने पर्यटकलाई ‘प्ले कार्ड’ सहित तस्बिर खिचेर सामाजिक सञ्जालबाट आफू नेपाल भ्रमणमा रहेको जानकारी गराउन र पर्यटकीय क्षेत्रबाट प्रत्यक्ष प्रसारण गर्न प्रोत्साहन गरिरहेको छ ।”

ध्वंसात्मक प्रदर्शनपछि दिनचर्या करिब सामान्य अवस्थामा फर्किसकेको भए पनि पर्यटन क्षेत्रमा कायमै रहेको त्रासका कारण यो महिना करिब ३७ प्रतिशत पर्यटक आवागमन घटेकाले पर्यटकमार्फत नै प्रवर्धन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

विषम परिस्थितिमा एक जना पनि पर्यटक हताहत नभएको बताउँदै उहाँले प्रदर्शनका क्रममा प्रदर्शनकारीले पर्यटक बोक्ने बसलाई गरेको सद्व्यवहारले अन्तर्राष्ट्रिय समुदायको मन जितेको बताउनुभयो । विभिन्न जेलबाट भागेका कैदी र लुटपाट भएका हतियारका कारणले बढेको सुरक्षा जोखिमबारे गम्भीर भएर अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित छ भन्ने विश्वस्त पार्नु अबको आवश्यकता रहेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय समुदायमा प्रवाह भएको लुटपाट र अराजकता नेपालमा बढेको लगायतका गलत सन्देशलाई चिर्न बोर्डले कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू र डिजिटल प्लेटफर्ममार्फत सकारात्मक सन्देश फैलाइरहेको उहाँले जानकारी दिनुभयो ।

बोर्डले नेपालको वर्तमान अवस्थाबारे जानकारी दिन दैनिक बिहान र बेलुका विश्व सम्पदा क्षेत्रहरू वसन्तपुर, पाटन, भक्तपुर, बौद्ध, पोखरा, मनासलु, लुक्ला, चितवनलगायतका पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जेनजी प्रदर्शनपछि नेपालको सुरक्षा अवस्थाबारे सोधीखोजी बढिरहेकाले विभिन्न माध्यममार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सके ढुक्कले पर्यटक आउने सम्भावना रहेको बताउनुभयो ।  

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले प्रदर्शनका कारण घटेको पर्यटक आवागमन समान्य बनाउन पर्यटकको सुरक्षा, पर्यटकीय क्षेत्रको प्रवर्धन र पर्यटन क्षेत्रको पुनः उत्थानमा जोड दिन आवश्यक रहेको जानकारी दिनुभयो ।  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।