• ८ असोज २०८२, बुधबार

धुर्कोट अस्पतालसहित सबै स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा

blog

धुर्कोट गाउँपालिका–७ को वाग्ला स्वास्थ्यचौकीको प्रयोगशाला । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज ७ गते ।
गुल्मीको धर्कोट गाउँपालिकामा धुर्कोट आधारभूत अस्पतालसहित सबै स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा सुरु गरिएको छ । सोमबारदेखि धुर्कोट गाउँपालिका–७ को वाग्ला स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा सुरु गरिएको छ ।

स्वास्थ्य सेवा उपभोग गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । सिमित स्रोत साधन र जनशक्तिकाबिच धुर्कोट गाउँपालिकाले सवै स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लागि आवश्यक पहल गरिरहेको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले जानकारी दिनुभयो । तीनै तहका सरकारसँग पहल गरेर पालिकाका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधार, मेसिनरी औजार तथा उपकरण आदिको व्यवस्थापन गरेको पोख्रेलले बताउनुभयो ।

जिल्लामा सबैभन्दा पहिला १५ शय्याको आधारभूत अस्पताल धुर्कोटले सञ्चालन गरेको थियो । दुई वर्षदेखि गाउँपालिकाले तत्कालीन धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभुत अस्पताल सञ्चालन गरेको छ । धुर्कोट गाँउपालिकामा एउटा आधारभुत अस्पताल, छ स्वास्थ्यचौकी, दुई वटा सामूदायिक स्वास्थ्य इकाई, दुई वटा आयुर्बेद औषधालय रहेका छन् । सबै ११ वटै संस्थाका भवन आवाससहित नेपाल सरकारका मापदण्द अनुसारनै रहेको गाउँपालिकाको दाबी छ । अहिले अस्पताल र स्वास्थ्यचौकीहरुमा बर्थिङ्ग सेन्टर रहेका छन् ।

त्यो बाहेक आवश्यक औषधी, उपकरण, वैकल्पिक बिद्युत, कम्प्युटर, प्रिन्टर, इन्टरनेट, स्वच्छ पानी र एम्बुलेन्सको व्यावस्थापन गरिएको धुर्कोट गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिनुभयो । धुर्कोट आधारभूत अस्पतालबाट स्वास्थ्य बिमासहित मेडिकल अधिकृतहरुको व्यावस्था छ ।

नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखासँग धुर्कोट गाउँपालीकाले सम्झौता गरेर बुटबल र भैरहवामा धुर्कोटवासी नागरिकका लागि निःशुल्क रगतको व्यवस्था गरिएको खनालले बताउनुभयो । खनालका अनुसार प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, घर–घरमा ज्येष्ठ नागरीक सेवा, सात वडामै एकीकृत घुम्ती शिविर, वर्षमा दुई पटक विशेषज्ञ स्वास्थ्य शिविर र सुरक्षित गर्भपतन र ओ.टि.सी सेवा धुर्कोट आधारभुत अस्पताल तथा पिपलधारा स्वास्थ्य चौकीबाट प्रदान गरिएको छ । धुर्कोट गाउँपालिका पूर्णखोप, पूर्ण संस्थागत सुत्केरी, पूर्ण पोषणमैत्री, किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था पालिका घोषणा गरिएको छ ।