नवराज नेपाली
बागलुङ (गलकोट), असोज ७ गते । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउनका लागि बागलुङका एक फर्निचर व्यवसायीले एक लाख एक हजार रकम प्रदान गर्नुभएको छ । बागलुङको सृष्टी फर्निचार उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५ औं वार्षिकोत्सवको अवसरमा नेपाल सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत एक लाख एक हजार १११ सहयोग गर्नुभएको छ ।
नेपालको सिंहदरबारसहित अन्य संरचना पुनर्निर्माणमा राज्यलाई सघाउन सामाजिक उत्तरदायित्वअन्तर्गत गौतमले बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
विगत १५ वर्षदेखि बागलुङको फर्निचर व्यवसायमा सक्रिय गौतमले राज्यलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पुनर्निर्माणमा सघाउन प्रदान गरिएको हो । “देश दुःखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैलो सानो–सानो सहयोग गरेर पुनर्निर्माण गर्न सके आर्थिक वृद्धि छिटो हुन्छ, हामीजस्ता व्यवसायलाई सघाउ पुग्दछ ।,” गौतमले भन्नुभयो “४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको उद्योगले निरन्तरता पाउन राज्यकै सहयोग चाहिन्छ ।”
गौतमले १५ औं वार्षिकोत्सवको अवसरमा पाँच करोड लगानीमा फर्निचर उद्योगको नयाँ स्वरुम स्थापना गर्नुभएको छ । गौतमले फर्निचार र हार्डवयर लगायतका व्यवसाय गर्दै आउनुभएको छ । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले नेपाल सरकारको पुनर्निर्माण गर्ने खातामा उक्त रकम जम्मा गर्ने बताउनुभएको छ ।