• २३ असार २०८१, आइतबार

सभामुख सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल अजरबैजान प्रस्थान

blog

काठमाडौं, असार १४ गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानतर्फ प्रस्थान गर्नुभएको छ । मङ्गलबार बिहान ११ बजेर १५ मिनेटमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

यही असार १६ देखि १८ गतेसम्म बाकु अजरबैजानमा हुन गइरहेको असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।

सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलमा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहनुभएको छ । सापकोटासहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले बिदाइ गर्नुभयो ।

उक्त कार्यक्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवम् महत्व तथा यो अभियानका पक्षमा राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्नुहुँदै सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ ।

सङ्घीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सम्मेलनमा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।  

सम्मेलनमा सहभागी भएर सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल असार १९  गते स्वदेश फर्किनुहुनेछ ।