• १२ असार २०८१, बुधबार

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह अवलोकन

पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १४  गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको अवलोकन गर्नुभएको छ ।सो अवसरमा मन्त्री बडूले यो सुक्खा बन्दरगाहले काठमाडौँ केन्द्रित व्यवसायको समय र लागत कम हुन गई आयात निर्यातमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै चोभार सुक्खा बन्दरगाहलाई सरकारको लक्ष्य हासिल गर्नेगरी सञ्चालन गर्न निर्देशन दिनुभयो । 

उहाँले हाल बन्दरगाहमा आउने ट्रकको सङ्ख्या थोरै भएको सन्दर्भमा अध्ययन, छलफल र सम्बद्ध पक्षसँग समन्वय गरी सुक्खा बन्दरगाहको पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ क्रियाशील हुनसमेत निर्देशन दिनुभयो ।  उहाँले बन्दरगाहको प्रयोग हुनसके सरकार र व्यवसायी दुवै पक्षले लाभ लिनसक्ने भएकाले यसको अधिकतम लाभ लिनेगरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।सो अवसरमा मन्त्री बडूसमक्ष नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा जानकारी दिनुभएको थियो । 

यसैबीच मन्त्री बडूले सोमबार नै महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन पनि गर्नुभयो । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा रहेको सो केन्द्र पुगेर उहाँले त्यहाँ भइरहेका गतिविधिको समेत अवलोकन गर्नुभयो । त्यस अवसरमा उहाँले केन्द्रका गतिविधिलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पहिलो पटक बहालवाला मन्त्री आफँै आविष्कार केन्द्रमा आएर हौसला प्रदान गरेको बताउँदै सरकारले विकास बजेटको १ प्रतिशत रकम आविष्कारको क्षेत्रमा छुट्याएर काम गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो । अवलोकन भ्रमणमा मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलगायतको सहभागिता रहेको थियो ।