• १२ असार २०८१, बुधबार

सडक निर्माणमा लापरबाही

blog

लीलाधर वली

घोराही, असार १४ गते  । सडक निर्माणसँग सम्बन्धित निकायको चरम लापरबाहीका कारण चार महिनामा सक्नुपर्ने काम १५ महिना बितिसक्दा पनि पूरा हुन सकेको छैन । दाङ जिल्लाको मुख्य बजारकैै सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीयवासीले सास्ती बेहोर्नु परेको छ ।

घोराहीको तुलसीपुर चोकदेखि–गुलरिया पार्कसम्म, शहीदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र क्याम्पस रोडअन्तर्गत भरतपुर उकालोदेखि महेन्द्र बहुमुखी क्याम्पससम्मको करिब चार किलोमिटर सडक जीर्ण छ । 

उक्त सडकको निर्माण समयमै गरेको भए २०७८ साल असारमा सकिन्थ्यो । सडक विस्तारसँगै नाला निर्माणको जिम्मा पाएको आत्रेय-पूर्णचन्द्र-बस्नेत जेभी र कार्यान्वयन गराउने निकाय सहरी विकास तथा भवन कार्यालय र घोराही उपमहानगरपालिकाको लापरबाहीका कारण सडक विस्तारसँगै कालोपत्रे गर्ने काममा ढिलाइ हुँदै आएको छ । 

निर्माण गर्ने ठेकेदारले चरम ढिलासुस्ती गरे पनि कार्यान्वयन गर्ने निकायले बेवास्ता गर्दा सडक अहिलेसम्म निर्माण हुन नसकेको घोराहीका स्थानीय प्रवीण बुढोथाकी बताउनुहुन्छ । “जिल्लाको मुख्य बजारमा समयमै सडक निर्माण हुन नसक्नु लज्जाको विषय हो,” उहाँले भन्नुभयो, “जनतासँगै व्यवसायीले पाइरहेको दुःख समाधान गर्नेतर्फ ध्यान दिनुपर्छ । समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही हुनुपर्छ ।” 

सहरी विकास तथा भवन कार्यालयका अनुसार चार महिनामा काम सक्ने गरी करिब चार करोड ८१ लाख रुपियाँमा २०७७ चैत १ गते आत्रेय-पूर्णचन्द्र-बस्नेत जेभीसँग सम्झौता भएको थियो । सहरी विकास तथा भवन कार्यालयले निर्माण व्यवसायीको अटेरीपनाका कारण नालासहितको फुटपाथ निर्माणमा ढिलाइ भएको स्पष्ट पारेको छ । 

पहिलो चरणमा सम्झौताअनुसार काम नभएपछि दोस्रो पटक २०७८ चैतसम्म सक्ने गरी सम्झौता थप गरिएको थियो । त्यो समयमा पनि काम नसकिएपछि असारभित्र निर्माण व्यवसायीले सक्छु भने पनि कामको प्रगति हेर्दा सक्ने अवस्था नरहेको सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख आनन्दकुमार देवले बताउनुभयो ।