• ७ जेठ २०८१, सोमबार

मुहानमा भलबाढी घरघरमा धारा खाली

blog

धारामा पानी नआएपछि बोरिङको पानी भर्दै स्थानीय उपभोक्ता ।तस्बिर : मुना हमाल

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, असार १४ गते  । बाढीपहिरोले पानीको मुहानमा क्षति पु-याएपछि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा एक हप्तादेखि पानी आपूर्ति हुन सकेको छैन । वीरेन्द्रनगर–५ की गीता थापाले धारामा एक हप्तादेखि पानी नआएको र नजिकको खोलामा रहेको धारामा पानी भर्नेको भीड हुने गरेको बताउनुभयो ।

वीरेन्द्रनगर–६ की लक्ष्मी शर्माले भलबाढीका कारण धारामा पानी नआएको बताउनुभयो । सरकारले खानेपानीको वैकल्पिक उपायमा ध्यान दिनुपर्ने उपभोक्ता शर्माले बताउनुभयो । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगरमा पानी आपूर्ति गर्दै आइरहेको छ ।

संस्थाका कार्यालय प्रमुख डम्मर गौतमले मुख्य मुहानमा भल पस्दा र खानेपानी संरचनामा क्षति पुगेकाले पानी आपूर्तिमा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार पानीको मूल स्रोत भएका झुप्रा खोला, खरी खोला र बोरी खोलाको मुहानमै भल पस्दा पानीमा लेदो आएको छ । साना स्रोत भएका र्खोके खोला र इत्राम खोलाको पानी केही ठाउँमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अहिले मुहान क्षेत्रभन्दा माथि सडक खन्ने काम भएकाले पनि धमिलो पानी आउने गरेको बताउनुभयो । उहाँले क्षति भएको ठाउँमा मर्मत गरेको र अब बिस्तारै पानी आपूर्ति सहज बनाइने बताउनुभयो । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँको जनसङ्ख्या पनि वृद्धि भइरहेको छ । पानीको माग अत्यधिक बढेको छ । भएका मुहानमा समेत पानीको स्रोत सुक्दै गएकाले भएका धारामा पनि पानी पु-याउन हम्मेहम्मे भएको छ । 

वीरेन्द्रनगर करिब २० हजार धारा जडान गरिएका छन् । यी धारामा पालोअनुसार पानी आपूर्र्ति गरिँदै आएको बताइएको छ । पानी बढी आउने मुख्य मुहानमै वर्षाका कारण समस्या भएकाले पानी आपूर्तिमा समस्या भएका शुद्धीकरण गरेर पनि पिउनै नमिल्ने भएपछि पानी बाहिर फाल्नुपरेको कार्यालय प्रमुख गौतमको भनाइ छ । वीरेन्द्रनगरको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी लिफ्टिङ आयोजनालाई अघि बढाउन लागिएको छ । उक्त आयोजना तीनै तहका सरकार र विश्व बैङ्कको लगानीमा बनाउन लागिएको छ ।