• १६ भदौ २०८१, आइतबार

स्थानीयले गरे सडकमै रोपाइँ

blog

सडकमै रोपाइँ गरेर विरोध जनाउँदै स्थानीयबासी । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार १३ गते ।  म्याग्दीको मंगला गाउँपालिका २ रणबाङका स्थानीयहरुले सडकमा रोपाइँ गरेका छन् । लामो समयसम्म सडक हिलाम्मे भएर आवतजावतमा समस्या हुँदा पनि सरोकारवाला पक्षले बनाउन चासो नदिएपछि स्थानीयबासीले सोमबार सडकमा धान रोपेर विरोध जनाएका हुन् । 

जिल्लाको पश्चिम भेगलाई जोड्ने बेनी–दरबाङ सडक अन्तर्गत लाम्पाटा दरबाङ सडक खण्डको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सडक अलपत्र पारि सम्पर्कविहिन भएपछि सडक हिलाम्मे भएको छ । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको स्थानीय युवा श्रीराम पौडेलले जानकारी दिनुभयो । 


निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तीन महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।

विसं २०७६ जेठ ३१ गते २२ करोड ५७ लाख ९३२ रुपियाँमा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखिमयुक्त छ । 


अधुरो, अधकल्चो, हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको रणवाङका पौडेलले बताउनुभयो । सम्बन्धित ठाउँमा पटक पटक भन्दा पनि केही नलागेपछि हिलाम्मे सडकमा स्थानीयले धान रोपाइँ गरेर विरोध जनाएको पनि उहाँले बताउनुभयो ।