नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले २०१७ असोज १४ गतेका दिन संयुक्त राष्ट्रसङ्घको १५ औँ साधारण सभालाई सम्बोधन गरेका थिए । यो साधारण सभा अत्यन्त महत्वपूर्ण थियो । यसमा धेरै सदस्य राष्ट्रबाट राष्ट्राध्यक्ष र प्रधानमन्त्रीले भाग लिएका थिए । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू, बेलायतका प्रधानमन्त्री हेरोल्ड म्याकमिलन, सोभियत रुसबाट प्रधानमन्त्री निकेता ख्रुस्चेव, अमेरिकाका राष्ट्रपति आइजेनहावर तथा अन्य राष्ट्र प्रमुख सुकार्नो नासेर, एन. क्रुमा, नरोदम सिंहानुक, फिडेल क्यास्ट्रो, मार्सल टिटो तथा अफ्रो–एसियाली र पूर्वी युरोपका राष्ट्र प्रमुख वा सरकार प्रमुखले भाग लिएका थिए ।
साधारण सभामा नेपालका तत्कालीन प्रधानमन्त्री कोइराला जस्तो राजनीतिज्ञले भाग लिनु निःसन्देह एक महत्वपूर्ण र सुखद क्षण थियो । नेपालका जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई अरू देशका नेताहरूले विशेष आदर र सम्मानका साथ महत्व दिएका थिए । त्यसैले कोइरालाले के बोल्छन्, त्यसलाई सबैले गम्भीरतापूर्वक सुनेका थिए । कोइराला आफ्नो सम्बोधन भाषणमा भनेका थिए, “अहिले अफ्रिकालगायतका नयाँ राष्ट्रले सदस्यताका लागि निवेदन गरिएकोमा निःसन्देह संयुक्त राष्ट्रसङ्घलाई आफ्नो विश्व व्यापकतातर्फ वाञ्चित लक्ष्यको नजिक पु¥याएको छ । मलाई विश्वास छ, यी नयाँ राष्ट्रको योगदान र संलग्नताबाट संयुक्त राष्ट्रसङ्घले ठुलो लाभ उठाउने छ ।
अफ्रिकाका अनेकौँ मुलुक र अरू कतिपय देश अझै पनि औपनिवेशिक शासनबाट मुक्त भइसकेका छैनन् । ती देशको स्वतन्त्रताको निमित्त राष्ट्रसङ्घले उचित कदम चाल्नु पर्छ । औपनिवेशिक शासन सञ्चालन गरिरहेका ती देश जतिसुकै ठुलो र शक्तिशाली भए पनि इतिहास र समयको वेगलाई उनीहरूले छेकिरहन सक्दैनन । अरू केही कारणवश राष्ट्रसङ्घको सदस्यता प्राप्त नगरेका मुलुक पनि छन् । जर्मनी, कोरिया र भियतनामलाई दोस्रो विश्वयुद्धको अन्त्यतिर कृत्रिम रूपमा विभाजन गरियो । ती देशले आफ्नो एकता र स्वतन्त्रता प्राप्त गरेर हामीसँग बस्न आउने दिन अब टाढा छैन ।
चीनको पनि प्रतिनिधित्व संयुक्त राष्ट्रसङ्घमा हुन आवश्यक छ भनी आवाज विश्वसामु पहिलो पटक कोइरालाले नै उठाउनुभएको थियो । उहाँले गणतन्त्र चीनलाई राष्ट्रसङ्घमा उचित स्थान नदिएसम्म राष्ट्रसङ्घले न त विश्वव्यापी स्वरूप लिन सक्छ न यसले आफ्नो राजनीतिक वास्तविकताको अस्तित्व कायम गर्न सक्छ । चीनलाई प्रवेश नगराएसम्म राष्ट्रसङ्घलाई तत्परताका साथ काम गर्न पनि कठिनाइ भइरहेछ र यसको मुलभूत उद्देश्यले पनि साकार रूप लिन अप्ठ्यारो पर्ने छ । राष्ट्रसङ्घको वडापत्र सम्पूर्ण विश्वका जनताको आवाज हो । त्यस्तै गणतन्त्र मङ्गोलियाले पनि यसको सदस्यता प्राप्त गर्न खोज्नु पनि उसको न्यायोचित माग हो भन्ने हामीलाई लाग्छ ।
त्यस्तै मध्यपूर्वको समस्याबारे कोइराला त्यस्तै चिन्तित हुनुहुन्थ्यो । उनले अरब–इजरायलको झगडालाई निराकरण गर्न केही वस्तुगत समाधान खोज्नै पर्छ । शक्ति राष्ट्रहरूका कारण संयुक्त राष्ट्रसङ्घलाई धेरै स्थानमा सर्वसम्मत तवरले शान्ति कायम गर्न बाधा उत्पन्न भइरहेको स्थितिमा इजिप्ट र लेबनानले समस्या समाधानमा राष्ट्रसङ्घले निर्वाह गरेको भूमिका यसले आफ्नो नयाँ नीति अख्तियार गरेको कुराको सूचक भने ।
गणतन्त्र कङ्गोको समस्याका समाधान आवश्यक छ भन्दै त्यहाँ सबैतिर प्रशासनिक संयन्त्र पूर्णतः तहसनहस भएकाले राजनीतिक र आर्थिक अराजकता बेहोर्न बाध्य कङ्गोका जनताप्रति हाम्रो सहानुभूति भनेर कोइरालाले विचार प्रकट गरेका थिए । संयुक्त राष्ट्रसङ्घले भरपर्दो प्रशासनिक संयन्त्रको निर्माण गरेर कङ्गोमा सामान्य जीवन पुनस्र्थापित गर्नु पर्छ भन्ने कोइरालाको भनाइ थियो । आजको विश्व परिस्थिति खास गरी एउटा ठुलो राष्ट्रिय भावनाले प्रभावित छ । यो भावना ठुला ठुला राष्ट्रको मात्र होइन, ठुला राष्ट्रको जस्तै ठाउँ लिन खोज्ने अरू राष्ट्रमा पनि देखिन्छ । यस्ता राष्ट्रले आपसमा त्यही ठुलो ‘राष्ट्रिय भावना’ को विकास गरेको छ । म आशा गर्छु राष्ट्रसङ्घका नयाँ सदस्य राष्ट्रले संसारका घटनाक्रमलाई नयाँ दृष्टिकोणले हेर्न सकून्, उनले भनेका थिए ।
कोइरालाले भनेका थिए, म एउटा सानो असंलग्न देश नेपालको प्रतिनिधिको हैसियतले बोल्दै छु । जुन देशको कुनै छलकपट छैन । नेपालको वैदेशिक नीति संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्तबाट पूर्ण रूपमा अनुप्राणित छ । राष्ट्रसङ्घलाई हामी हाम्रो स्वतन्त्रता र सुरक्षाका आधारमा मात्र होइन, हाम्रो हक र उन्मुक्तिको संरक्षकका रूपमा आदर गर्छौं । हामी यसलाई राष्ट्र राष्ट्रबिच शान्ति सद्भाव र न्याय कायम गर्ने निकायको रूपमा हेर्र्छौं । हाम्रो दृढ धारणा छ । शान्ति र स्थिर विश्वले मात्र आधारभूत स्वतन्त्रता र न्याय प्राप्त गर्न सक्छ ।
अहिलेको परिस्थितिमा साना राष्ट्रले धेरै सकारात्मक भूमिका निर्वाह गर्न सक्छन् । इतिहास, भाषा, रीतिरिवाज तथा संस्कृति बेग्लाबेग्लै भए पनि हामी एकताका केही आधार तयार पार्न सक्छौँ । भूगोल, जाति अथवा राजनीतिक सिद्धान्तबाट होइन । सानाठुला सबै राष्ट्रको समान अधिकारका कारण संयुक्त राष्ट्रसङ्घको उद्देश्यप्रति सबैको उत्तिकै सरोकार रहेको छ । हामी साना राष्ट्रको भौतिक शक्ति त्यस किसिमको न होला तर हाम्रो नैतिक शक्ति हाम्रो एकता तथा हामी आफैँप्रति इमानदार छौँ र हामी ती जनताको निमित्त बोल्छौँ भने त्यो नै सबैभन्दा ठुलो कुरा हुने कोइरालाले भनेका थिए ।
तत्कालीन प्रधानमन्त्री कोइरालाको यो सम्बोधनले सबै साना राष्ट्रलाई आफ्नो महत्व र उत्तरदायित्व बोध गराएको थियो । साना राष्ट्रको सक्रिय भूमिकाले मात्र संयुक्त राष्ट्रसङ्घको व्यापकता, उपादेयता र महत्वलाई बढाउँछ भन्ने सन्देश कोइरालाको त्यो सम्बोधनमा थियो । साना राष्ट्रको निम्ति राष्ट्रसङ्घको अझ बढी आवश्यक छ भन्ने कुरा पनि उनले व्यक्त गरेका थिए । वास्तवमा सबै साना राष्ट्रका प्रतिनिधिले कोइरालाको सम्बोधनमा आफ्नो कुण्ठित आवाज प्रस्फुटित भएको महसुस गरेका थिए । उनीहरूले कोइरालालाई साना राष्ट्रको प्रवक्ताका रूपमा पाएका थिए । त्यसै कारण उनको सम्बोधनलाई सबै राष्ट्रका प्रतिनिधिले प्रशंसा गरेका थिए ।
कोइरालाले आफ्नो भाषणमा खुला आर्थिक नीति एवं उदार राजनीतिक पद्धतिले मात्र विश्वलाई तनावमुक्त पार्छ भनेका थिए । राष्ट्रले तेस्रो विश्वका विपन्न जनतालाई हरतरहले सहयोग गर्न तथा शोषण, दमन एवं निरङ्कुशताको अस्तित्व गर्न आवश्यक छ भन्दै उनले मानव अधिकार र उदार राजनीतिक व्यवस्थालाई सहयोग गर्न शक्ति राष्ट्रलाई अपिलसमेत गरेका थिए ।
राष्ट्रसङ्घमा भाषण गरेकै दिन साँझ कोइरालाले एउटा चियापान कार्यक्रमको आयोजना गरेका थिए । जसमा विश्वका प्रमुख नेताको समेत उपस्थिति थियो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू, रुसका ख्रुस्चेवलगायत देशका कार्यकारी प्रमुख म्याकमिलन, टिटो क्यास्ट्रो नासेर, सुकार्नो एनक्रमा, सिंहानुक आदि थिए । तिनीहरू कोइरालाको भाषणबाट ज्यादै प्रभावित भए । कोइरालाप्रति सानाठुला सबै राष्ट्रको ध्यानाकर्षण भएको थियो । उनी बसेको होटेलमा विश्वका सबै राष्ट्रका नेताहरू भेट्न गएका थिए ।
इजरायलका परराष्ट्रमन्त्री गोल्डामेयरले कोइरालालाई चार पटक भेटेकी थिइन् । यस अतिरिक्त अन्य देशका प्रतिनिधिले भेटेका थिए । अमेरिकाका राष्ट्रपति आइजनहावरसँग पनि कोइरालाले लामो छलफल गरेका थिए । कोइरालाको परिपक्व विचार, धारणा र दृष्टिकोणबाट राष्ट्रसङ्घमा भेला भएका प्रतिनिधिलाई अविस्मरणीय प्रभाव पारेका थिए । सताब्दिऔँदेखि विश्वको नक्साबाट ओझेल भएका नेपाललाई एकै पटक विश्व मञ्चमा पु¥यायो । यसरी कोइरालाले एउटा सानो देशको नेता भएर विश्वका ठुला राष्ट्रको नेता सामु ऐतिहासिक भाषण गरेर नेपाललाई चिनाएका थिए । भनिन्छ, संयुक्त राष्ट्रसङ्घमा कोइरालाको सारगर्भित भाषण सुनेर भारतका तत्कालीन प्रधानमन्त्री नेहरू झस्किएका थिए । दक्षिण एसियामा नेहरूपछि कोइराला नै दोस्रो नेताको रूपमा चिनिन थाले ।
कोइरालाको बढ्दो प्रभावबाट भारतीय प्रधानमन्त्री नेहरूले भित्रभित्रै ईष्र्या पनि गरिरहेका थिए । यता कोइरालाको अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दै गएका व्यक्तित्वलाई राजा महेन्द्रले पचाउन सकिरहेका थिएनन् । यसरी नेहरू र राजा महेन्द्रको साँठगाँठले २०१७ पुस १ गते सैनिक ‘कु’ को घटना भई कोइरालालाई अपदस्थ गरी जननिर्वाचित सरकार विघटन गरिएको थियो ।