शिवा तामाङ
काठमाडौँ, भदौ २४ गते । परम्परागत चित्रकलामा पहिचान बनाउन सफल कलाकार जिग्मे तामाङ मुगुमको दरबारमार्गस्थित १०८ ग्यालरीमा ‘कार्मापा ग्युपाः दी सेक्रेड लाइन अफ दी ब्ल्याक ह्याट’ शीर्षकको कला प्रदर्शनी भइरहेको छ । उहाँले विगत पाँच वर्षमा तयार गर्नुभएको हिमाली बौद्ध परम्परामा स्तुत्य मानिने बौद्ध गुरुहरू र कर्मापा ग्युपाः (अवतारी वा पुनर्जन्म) का २२ जना अवतारीका परम्परागत चित्र प्रदर्शनीमा राखिएका छन् ।
मुगु जिल्लाको मुगुगाउँमा जन्मिनुभएका कलाकार तामाङले आफ्नै मामा लामा उर्गेनसँग १५ वर्षको उमेरदेखि परम्परागत कला थाङ्का बनाउन सिक्नुभयो । परम्परागत चित्रकलाको क्षेत्रमा पारङ्गत हुन निकै समय र धैर्य चाहिने अनुभव सुनाउँदै कलाकार तामाङले भन्नुभयो, “विकासको दृष्टिले विकट जिल्ला मुगुगाउँबाट राजधानीमा पढ्न आएँ, पाटनमा बसेर पढ्दा मामासँग थाङ्का बनाउने कला सिक्ने अवसर पाएँ । लामो समय यस क्षेत्रमा काम गरेको अनुभवका आधारमा बौद्ध परम्पराका श्रद्धेय गुरुहरू र कर्मापाको जीवनी उतार्ने कोसिस सफल भएँ, आशा छ, सबैले हाम्रो मेहनतलाई मन पराइदिनुहुने छ ।”
हिमाली बौद्ध परम्परामा गुम्बाका प्रमुख गुरुहरूको दिव्य चक्षुले देखेका आधारमा अवतारी बालकलाई उनका आमाबुवाको अनुमतिमा सानैदेखि गुम्बामा राखेर बौद्ध शिक्षा दिने परम्परा रहेको छ । बौद्ध धर्ममा आस्था राख्ने र अभ्याससमेत गरेर त्यसको पुण्यको प्रभावले पटक पटक धर्तीमा मानवको भलाइका लागि पुनर्जन्म लिन्छ भन्ने विश्वास अनुरूप कर्मापा ग्युपाः हरूको अर्को जन्म निरन्तर २२ जनासम्म भइसकेको तथ्य छ । कलाकार तामाङले उहाँहरूलाई थाङ्कामा उतार्ने प्रयास गरिएको बताउनुभयो । कलाकार तामाङले कर्मापा ग्युपाः अवतारीहरूका बारेमा जान्न र थाङ्का बनाउन आफूले तिब्बती भाषामा लेखिएका पुस्तक, शास्त्रहरूको पनि अध्ययन गरेको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहनुभएका कलाकार तामाङले बनाउनुभएका बौद्ध परम्परामा विशिष्ट स्थानमा रहेका छ जना गुरुसहित प्रथम कर्मपा धिसुम खेम्बा, कर्मपा पाक्षी, रामजुङ दोर्जे, दिनिङ शेम्पालगायतका १७ जना कर्मापाको आध्यात्मिक, जीवनदर्शन र प्रेरक कथासहितका थाङ्का प्रदर्शनीमा राखिएका छन् ।
१०८ ग्यालरीका संस्थापक सम्यकरत्न शाक्यले कलाकार तामाङले बौद्ध परम्परामा आधारित आध्यात्मिक गुरु र कर्मापाहरूको चित्रलाई प्राथमिकतामा राखेर प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । संस्थापक शाक्यले प्रदर्शनी स्थलमा ध्यान कक्ष र कार्मापा वंशसम्बन्धी अडियो/भिजुअल सामग्री पनि राखिएको छ र यस शृङ्खला कर्मा काग्यु परम्पराबाट प्रेरित रहेको बताउनुभयो । कर्मा काग्यु परम्परा हिमालय क्षेत्रको सबैभन्दा पुरानो पुनर्जन्म परम्परा मानिन्छ । उहाँको प्रत्येक चित्रले भक्ति, विद्वता र थाङ्का र पौभा परम्पराहरूको शताब्दी पुरानो कलात्मक विरासत झल्काउँछ । प्रदर्शनी कक्षमा उक्त कलाको श्रव्यदृश्य प्रस्तुतिले कर्मापा वंशको सन्दर्भबारे बुझ्ने अवसर प्रदान गरेको छ ।