विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २४ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ८ घर भएका १७ वर्षीय ओमनारायण यादव अहिले काठमाडौँको कोटेश्वरस्थित सिसिआरसी कलेजमा कक्षा ११ मा कम्प्युटर साइन्स विषय लिएर अध्ययनरत छन् ।
भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने सङ्कल्प र सपना लिएर अगाडि बढनुभएका उहाँ अभावबिच पनि उत्कृष्टता हासिल गर्दै आफ्नो पाइला अघि बढाउनुहुन्छ ।
काठमाडौँ महानगरपालिकाले प्रदान गर्दै आएका छात्रवृत्तिको मधेशीकोटामा आफ्नो नाम निकाल्न सफल भएपछि ओमलाई दुई वर्षको सम्पूर्ण अध्ययन खर्चमध्ये कलेजलाई जम्मा ५० हजार रुपियाँ मात्र बुझाउनुपर्ने भएको छ ।
गरिब परिवारका विद्यार्थी यादवलाई अध्ययन गर्नका लागि यो ठुलो सहजता हो । ओमका बुवा देवनारायण यादव काठको काम गर्ने मिस्त्री हुन् । जीविकोपार्जनका लागि उहाँ हाल भरतपुरमा काम गर्दै हुनुहुन्छ, भने आमा बबिता देवी गृहिणी । पारिवारिक स्थिति अत्यन्तै कमजोर छ । जम्मा १० कठ्ठा जमिनमध्ये मलाई उच्चतहसम्म पढाउन बुवाले एक कठ्ठा जमिन एक लाख ५० हजार रुपियाँमा बेच्नुभएको गोरखापत्रसँग कुरा गर्नुहुँदै ओमले जानकारी दिनुभयो ।
“कुनै कारणले मेरो पढाइ रोकिनु हुन्न भन्ने उद्देश्य राखेर मेरो बुवाले जग्गा बेचेर पैसा संचित गरी राख्नुभएछ’’ उहाँले भावुक हुँदै भन्नुभयो ।
काठको मिस्त्री अर्थात कारपेन्टरको काम गरेर बुवाले घरमा म सहित आमा, एक भाई र एक बहिनीलाई जेनतेन पाल्दै आउनुभएको सुनाउनुहुँदै ओमले गरिबीले थिचे पनि हौसला कम नभएको बताउनुभयो ।
“म एकदमै गरिब परिवारको भए पनि कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य लिएर पढ्दैछु र मिहनेत गरेर बुवा आमाको सपना साकार गर्छु” उहाँ भन्नुहुन्छ ।
सरकारी स्कूल जनता माध्यमिक विद्यालय तोपाबाट एसइई उत्तीर्ण गरेका ओमले गत वर्ष उत्कृष्ट अङ्क ल्याउनु भएको थियो । यही उपलब्धिका आधारमा सोमबारअमरनाथ झा मेमोरियल ट्रष्टले दिवंगत प्रधानाध्यापक अमरनाथ झाको दोस्रो स्मृतिमा उहाँलाई २५ हजार पाँच सय रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गर्यो ।
पुरस्कार र प्रमाणपत्र ग्रहण गर्नुहुँदै “यो रकम मेरो लागि पुरस्कार मात्र होइन, अक्सिजन जस्तै हो। यसले पाँच महिनाको डेरा खर्च धान्नेछ” यादवले भन्नुभयो ।
अभावका बिचमा पनि ओमनारायणको पढाइप्रति लगाव, संघर्ष र दृढता हेरेर तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष शम्भु झा र अमरनाथ स्मृति ट्रष्टका अध्यक्ष राजिव झाले यादवको शिक्षा आर्जनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।