गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २४ गते । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले निर्णायक तहमा महिला सरकारी वकिलको उपस्थिति थप आवश्यक रहेको बताउनुभएको छ । महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै न्यायाधीश मल्लले हालसम्म झन्डै २९.४ प्रतिशत बढी प्रतिनिधित्व भए पनि निर्णायक तहमा थप आवश्यक रहेको बताउनुभएको हो । न्यायाधीश मल्लले सङ्ख्यात्मक रूपमा रहेको उपस्थितिलाई माथिल्लो तहमा पनि बढाइनुपर्ने बताउनुभयो । सरकारी वकिल समूहमा सहायकदेखि राजपत्राङ्कित प्रथम श्रेणीसम्म १४७ जना कार्यरत छन् ।
सम्मेलन उद्घाटनका क्रममा महान्यायाधिवक्ता रमेश बडालले अबको दशकपछि सरकारी वकिल समूहका मुख्य पदमा महिलाको उपस्थिति सुनिश्चित रहेको बताउनुभयो । २०९० सम्म विशिष्ट श्रेणीका सरकारी वकिल महिला हुने निश्चित रहेको उहाँको भनाइ थियो । दुईदिने सम्मेलनमा २५० भन्दा बढीको सहभागिता हुने जनाइएको छ । महान्यायाधिवक्ता कार्यालय, मातहतका कार्यालय, संवैधानिक निकाय र अन्य सरकारी कार्यालयसमेतका सरकारी वकिलको सम्मेलनमा सहभागिता रहेको छ । उपत्यकामा रहेका सबै अदालतका महिला न्यायाधीशको पनि सम्मेलनमा सहभागिता रहने छ । सम्मेलनका दौरान विभिन्न पाँच सत्रमा विविध विषयमा छलफल हुने छ भने काठमाडौँ घोषणापत्र जारी गर्दै राष्ट्रिय सम्मेलनको मङ्गलबार समापन हुने छ ।