• २४ भदौ २०८२, मङ्गलबार

औषधी प्रतिरोधी क्षयरोगको उपचार सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २४ गते । भक्तपुर अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग (डिआर टिबी) को उपचार सुरु भएको छ । आइतबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारी र अस्पतालका निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टबिच औषधी प्रतिरोधी क्षयरोगको उपचार सुरु गर्ने सम्झौता भएसंगै उपचार सुरु भएको छ । 

भक्तपुर अस्पतालका प्रमुख सुरेन्द्रप्रसाद भट्टले अस्पतालमा उपचार सुरु भएसँगै क्षयरोगका बिरामीले राहत पाउने जानकारी दिनुभयो । अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी ब्हिरङ्ग सेवा (ओपिडी) मा मात्र उपचार गर्न आउने गरेको जानकारी दिँदै उहाँले उपचार केन्द्र स्थापना भएपछि क्षयरोगीका बिरामीले सहजै उपचार पाउने बताउनुभयो । योसँगै अब डिआर टिबी उपचार गर्ने केन्द्रको सङ्ख्या देशभरमा ९९ पुगेको छ । बागमती प्रदेशमा मात्रै यस्ता केन्द्र २३ वटा छन् । 

नेपालमा औषधी प्रतिरोधी क्षयरोगीको सङ्ख्या तीन हजारभन्दा बढी रहेको अनुमान छ तर सरकारको सम्पर्कमा गत आर्थिक वर्षमा ४२६ जना मात्रै आएका छन् । यसले क्षयरोग अन्त्यको लक्ष्यमा असर परिरहेको छ । औषधी प्रतिरोधी क्षयरोगीको उपचार सम्पूर्ण रूपमा निःशुल्क गरेको छ । सरकारले सङ्क्रमितलाई दैनिक जीवन सहजताका लागि भन्दै मासिक तीन हजार नगदसमेत उपलब्ध गराउँदै आएको छ ।