गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सरलगायत आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ प्रकारका कडा रोगको उपचार सुविधा प्राप्त गर्न अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने र असोज मसान्तसम्म दर्ता हुनुपर्ने व्यवस्था लागु गर्नुभएको छ । रोग लागेका विपन्न बिरामीले असोज मसान्तसम्म स्वास्थ्य बिमा दर्ता गर्नुपर्ने छ ।
मन्त्रालयले विगतमा विपन्न नागरिकलाई प्रदान गर्दै आएको उपचार सुविधाको भुक्तानी व्यवस्थापन स्वास्थ्य बिमा बोर्डमार्फत हुने गरी विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२) स्वीकृत गरेको थियो । यसअघि उक्त सुविधा स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक महाशाखाबाट हुँदै आएको थियो ।
मन्त्रालयले आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमामा बिमित हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । सेवा निरन्तरताका लागि असोजभित्र बिमा अनिवार्य गरी कात्तिक १ गतेबाट स्वास्थ्य बिमा प्रणालीमार्फत मात्र उपलब्ध हुने छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्ने बताउनुभयो । विपन्न नागरिकले आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गरिएको जानकारी दिँदै उहाँले यो सुविधा कात्तिक १ गतेबाट बिमा प्रणालीमार्फत मात्र उपलब्ध हुने बताउनुभयो । उहाँले यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्ने बताउनुभयो । बुढाथोकीका अनुसार मन्त्रालयले सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीलाई आउँदो असोज मसान्तभित्र बिमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बिमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई निर्देशन दिएको छ ।