• २४ भदौ २०८२, मङ्गलबार

घाइतेको उपचार निःशुल्क

blog

ट्रमा सेन्टरमा घाइते बिरामीका‘ उपचारमा खटिएका स्वास्थ्यकर्मी । तस्बिर : देवबहादुर कुँवर

काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकको निःशुल्क उपचार गर्न मातहतका सबै सङ्घीय अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले सङ्घीय अस्पतालमा आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्नका लागि तथा शीघ्र उपचारको व्यवस्था गर्न निर्देशन दिएको हो । 

निःशुल्क औषधी, उपचार र शल्यक्रिया

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले गोरखापत्रसँग कुरा गर्दै मन्त्रालयले सबै घाइतेको निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले सबै सङ्घीय अस्पतालमा उपचारका लागि आउने घाइतेलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो । सचिव देवकोटाले घाइतेको जस्तोसुकै शल्यक्रिया गर्नु परे पनि तत्कालका लागि निःशुल्क गर्न निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्रालय हाई अलर्टमा रहेको बताउनुभयो । उहाँले मन्त्रालयले सूचना जारी गरेर सङ्घीय अस्पतालमा निःशुल्क शल्यक्रिया साथै जीवन रक्षा गर्ने सबै खालका औषधी निःशुल्क उपलब्ध गराउन निर्देशन दिइसकेको बताउनुभयो । उहाँले रगत कम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै रक्तदानका लागि सार्वजनिक अपिल गरेको जानकारी गराउनुभयो । 

 एम्बुलेन्सको व्यवस्था

सचिव डा. देवकोटाले मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको जानकारी दिनुभयो ।