सिराज खान
नेपालगन्ज, भदौ २३ गते । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि राखिएका बाँकेको जानकी गाउँपालिका वडा ६ का ३८ वर्षीय बीरेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
उहाँले विगत तीन दिनदेखी प्रहरीको हिरासतमा रहेका सिंहको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको बताउनुभयो । उपचारकै क्रममा थुनुवा सिंहको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीका अनुसार थुनुवाको मृत्युको कारण खुलेको छैन । ‘मृत्युको कारण केही खुलेको छैन, एक्कासी अस्वस्थ भएपछि अस्पताल लगिएको थियो, उपचारकै क्रममा थुनुवाको मृत्यु भयो,’ उहाँले भन्नुभयो ।
सिंहको शवलाई शिक्षण अस्पताल कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ ।
जानकी गाउँपालिका वडा ६ का २१ वर्षीया मुकेश पासीको शव सोही वडाका कल्सी पाण्डेको घर नजिक रक्ताम्य अवस्थामा भदौ २० गते बिहान फेला परेको थियो । पासीको हत्या कुटपिटबाट भएको उहाँका पिता राम किसुन पासीले प्रहरीमा किटानी जाहेरी दिएकोले हिरासतमा मृत्यु भएका सिंह लगायत पाण्डेसहित चार जनालाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।