• ७ जेठ २०८१, सोमबार

प्रवेशद्वार निर्माणमा होडबाजी

blog

बाराका विभिन्न क्षेत्रमा निर्माण गरिएका प्रवेश द्वार । तस्बिरः शिवशंङ्कर मिश्र

बारा, असार १३ गते । विकास निर्माण भन्दा पनि प्रचारप्रसारमा सङ्घ तथा प्रदेशका सांसद र स्थानीय तहका प्रमुखहरु जुटेपछि बारामा अनावश्यक रुपमा करोडौँ रुपियाँ बजेट स्वागतद्वार निर्माणमा खर्चिएको छ । 

जनतालाई गाउँसम्म पुग्ने बाटो होस् वा नहोस्, विद्यालय, स्वास्थ्य संस्था त झन परैको कुरा । तर चोकमा चाहिं सांसदहरुले प्रचारका लागि स्वागतद्वार बनाउने होडबाजी छ । सङ्घ तथा प्रदेश सांसद र स्थानीय पालिका प्रमुखहरुले निर्वाचन क्षेत्रका लागि पाउने बजेटबाट प्रवेशद्वार बनाउन बारामा प्रतिस्पर्धा भएको छ । 

विकास निर्माणको नाममा कार्यालयबाट आवश्यक सहजीकरणको काम मात्र हुने गरेको कारण आवश्यकता नै नभएको स्थानमा स्वागतद्वार निर्माणको होडबाजी चलेको छ । प्रवेशद्वार निर्माणको कार्यमा सांसद, विद्यायक र पालिकाका जनप्रतिनिधिसमेत लागेका छन् । विकासको बजेट लोकप्रियताका लागि प्रचारप्रसारमै लगाउने गरेको तथा स्वागतद्वार बनाएर देखाउने प्रवृत्ति बढेको छ । 

उपमहानगरपालिकाको कलैया वडा नम्बर–१० मटिअर्वा नाकामा भारतबाट आउनेहरुको लागि करोडौं खर्च गरेर प्रवेशद्वार निर्माण गर्ने प्रक्रियामा लागेको छ । यस्तै सुवर्ण गाउँपालिकाको कवहीमा भारतबाट आउनेहरुका लागि प्रवेशद्वार बनाइएको छ । 

यसैगरी जितपुरसिमरा उपमहानगरपालिकाले डुमरवाना टोलमा करोडौ रुपियाँ खर्च गरेर प्रवेशद्वार बनाएको छ । यस्तै सिम्रौनगढ नगरपालिकाको लागि बसवरिया टोलमा भारतबाट आउनेहरुको लागि प्रवेशद्वार बनाएर करोडौँ खर्च गरिएको छ, भने बारागढी गाउँपालिकामा प्रवेश गर्न स्वागतद्वार निर्माण गरिएको छ ।

यस्तै फेटा गाउँपालिकामा करोडौं रकम खर्च गरेर स्वागतद्वार बनाइएको छ । कलैया उपमहानगरपालिकाको सीमा समाप्त भएपछि फेटा गाउँपालिकाको सीमा सुरु हुने ठाउँमा नै प्रवेशद्वार बनाइएको छ । यस्तै निगजढ नगरपालिकाले दुई वटा ठाउँमा प्रवेशद्वार बनाएको छ । तामागढी साझेदारी वनक्षेत्रको दक्षिण कोल्हवी जाने सडक तथा सिगौंल टोलमा जाने मूल सडकमा प्रवेशद्वार बनाएको छ । करैयामाई गाउँपालिकाले प्रवेशद्वार बनाएको छ । 

यसैगरी महागढीमाई नगरपालिकाले मझरिया गाउँ र नहर चोकको बीच बाटोको सीमा प्रारम्भ भएको ठाउँमा प्रवेशद्वार निर्माण गर्दैछ । जिल्लाका १६ स्थानीय पालिकामध्ये अधिकांश पालिकाले करोडौं रुपियाँ खर्च गरी शिलालेखमा नाम राख्न यसरी विकास निर्माणको रकम खर्च गर्ने गरेका बृद्धिजीवीहरु बताउँछन् । यसरी १४ वटा ठाउँमा स्वागत एवम् प्रवेशद्वार बनाइएको छ ।

प्रतिस्पर्धात्मक रुपमा बनाइएका अग्ला र खर्चिलो प्रवेशद्वारको शिलालेखमा नाम अङ्कित हुने भएपछि स्वागतद्वार निर्माणमा सांसद तथा नगरप्रमुख र गाउँपालिका अध्यक्षबीच प्रतिस्पर्धा नै भएको नेपाल मजदुर पार्टीका जिल्ला अध्यक्ष मुक्तिप्रसाद यादवले बताउनुभयो । जिल्ला समन्वय समिति बारा तथा स्थानीय पालिकाको तथ्याङ्क अनुसार सङ्घका सांसद तथा प्रदेशका विधायक र स्थानीय पालिका प्रमुखहरुले स्थायी प्रवेशद्वार निर्माणमै करिब साढे छ करोड बजेट खर्च गरेका छन् । 

बाराका सङ्घीय सांसदहरुले उक्त अवधिमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत आ–आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न स्थानमा गरी अढाई करोड रकम प्रवेशद्वार निर्माणमा खर्च गरेका छन् ।

Author

शिवशंङ्कर मिश्र