• १३ साउन २०८१, आइतबार

उम्मेदवारले बुझाएनन् खर्च विवरण

blog

जिल्ला निर्वाचन कार्यालय सर्लाही ।तस्बिर : जनार्जन खत्री

सर्लाही, असार १३ गते । सर्लाहीमा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांशले चुनावको खर्च विवरण बुझाएका छैनन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा जिल्लाभर छ हजार २४६ जना उम्मेदवारमध्ये ९८ जनाले मात्रै जिल्ला निर्वाचन कार्यालयमा चुनावको खर्च विवरण पेस गरेका छन् ।

स्थानीय तह निर्वाचन ऐन र स्थानीय तह निर्वाचन नियमावलीमा उम्मेदवारले निर्वाचन खर्च ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ तर सर्लाहीमा भने निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र छ हजार २४६ जना उम्मेदवारमध्ये ९८ जनाले मात्रै चुनावी खर्चको विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो । 

वैशाख ३० को निर्वाचनबाट जिल्लाभर एक हजार ४० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । विजयी पालिका प्रमुखमध्ये लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले मात्रै चुनावी खर्च विवरण बुझाउनुभएको छ । खर्च विवरण बुझाउने अन्य उम्मेदवारमा विजयी हुने र पराजित हुने दुवै छन् । 

जिल्लामा स्थानीय तह सदस्य निर्वाचनको परिणाम घोषणा भएको ३० दिन गुज्रिसकेकाले अब निर्वाचन खर्चको विवरण कार्यालयमा नबुझ्ने जिल्ला निर्वाचन अधिकारी भुजेलले बताउनुभयो । म्याद गुज्रिएपछि पनि केही उम्मेदवार खर्च विवरण बुझाउन आएको भए पनि उहाँहरूको विवरण फर्काइएको भुजेलले जानकारी दिनुभयो । कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति सदस्यको भने खर्च विवरण बुझाउने म्याद बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।