• २० भदौ २०८२, शुक्रबार

सान गुमाउँदै सनपाट

blog

सनपाट सुकाउने प्रविधि नहुँदा घाम लागेका बेला डाँसखोला पुलको किनारामा सुकाइँदै । पुलको बिचमा सनपाट धुँदै पथरी शनिश्चरेका किसान चैतुलाल राजवंशी । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, भदौ २० गते । सनपाटको सान गुमेको छ । जुट भनेर धेरै चिनिने सनपाटको सान बढेको वा घटेको थाहा पाउन अहिले जुट खेती, उद्योगको अवस्था र आयातनिर्यात व्यापार सूचक हुन् । तीसँगै किसानले जुटको खेती कुन प्रयोजनका लागि गर्न थालेका छन् भन्ने कुराले पनि सान खस्केको देखाउँछ । 

सनपाट खेतीबाट जुट र त्यसको सहउत्पादन सन्ठी हो । सन्ठीको अर्थ बेकम्मा पनि हुन्छ । जुट निकालिसकेपछिको डाँठ त्यस्तै कफल्लो हुन्छ र त्यसको सामान्य प्रयोजन हुन्छ । 

मोरङको सुनबर्सी–८ का किसान सीताराम सहनीले दाउराको अभाव टार्न मात्र पाँच/छ कट्ठामा सनपाट लगाएको बताउनुभयो । सनपाटको रेसा निकालेपछि भित्रको डाँठलाई वा सन्ठी तराईमा दाउराको अति न्यून गुणस्तरको दाउराका रूपमा प्रयोग गरिन्छ ।  

दुई वर्षअघिसम्म पनि बिघा बिघामा खेती लगाउने किसानले अहिले सनपाटको उत्पादन छाडेका छन् भन्दा पनि हुन्छ । मोरङमा यो वर्ष सन्ठीका लागि सानो सानो एकाइमा जुट खेती गर्ने किसान धेरै छन् । 

किसानको तहको यो उदाहरणका अतिरिक्त नेपालको जुट उत्पादनमा उत्कर्षको बेलाको तथ्य र अहिले उद्योग धान्न गरिने कच्चा पदार्थको आयातको अवस्था दयनीय देखिन्छ । 

विसं २०४० को दशकपछि पूर्वी नेपालमा जुट खेती फस्टाएको थियो । झापा, मोरङ र सुनसरीको ५० प्रतिशतभन्दा बढी जमिनमा जुट खेती हुन्थ्यो । मोरङ कानेपोखरी–७ का किसान इन्द्रप्रसाद कोइराला त्यसबेला १० बिघा खेतमा जुट लगाएको सम्झँदै भन्नुहुन्छ, “भारत र बङ्गलादेशबाट कृषि मजदुर आएर झन्डै तीन महिना हाम्रै घरमै बस्थे । गोड्ने, काट्ने, अमार लगाउने, तारी बाँधेर खाडीमा हाल्ने, धुनेसम्मको काम गर्थे । बिघामा एक सय मनसम्म जुट उत्पादन हुन्थ्यो ।”उत्पादन बढी भएर जुट बिक्री नभएपछि २०४३ सालमा किसानले अञ्चलाधीश कार्यालय पुगेर ज्ञापनपत्रसमेत बुझाएका थिए । सनपाटको उत्पादनको बजार पनि भारत र बङ्गलादेश नै थिए । त्यही आकर्षणले मोरङमा मात्र ११ वटा जुट मिल स्थापना भएका थिए । 

तथापि आधाभन्दा बढी बन्द भइसकेका छन् । नेपाल जुट उद्योग सङ्घका महासचिव सोमनाथ अधिकारीका अनुसार मोरङमा हाल पाँच वटा जुट मिल सञ्चालनमा छन् । विराटनगरको रघुपति जुट मिल, कटहरीका बाबा र पशुपतिनाथ, हात्तीमुडाको स्वस्तिक र बाँसबारीको चन्द्रशिव चालु छन् र छ वटा मिल बन्द भइसकेका छन् ।

महासचिव अधिकारीका अनुसार देशकै पहिलो उद्योग विराटनगर जुट मिल, कटहरीका गुह्येश्वरी, निक्की र सिएम तथा बाँसबारीको नेपाल जुट मिल हाल पूर्ण रूपमा बन्द छन् । सरकारी स्वामित्वको विराटनगर जुट मिल पटक पटक सञ्चालनमा आउँदै बन्द हुँदै ग¥यो । २०७८ सालदेखि यो मिल पूर्ण रूपमा बन्द छ । 

सुनसरीमा अरिहन्त जुट मिल सञ्चालनमा छ भने सुनसरी खनारको पाथीभरा जुट मिल बन्द रहेको छ । पूर्ण रूपमा सञ्चालन हुँदा सबै जुटलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशी उत्पादनले धान्ने अवस्था थियो । हाल मोरङका जुट मिलले १५ हजार श्रमिकलाई प्रत्यक्ष रोजगार दिइरहेका छन् ।

महासचिव अधिकारीले भन्नुभयो, “जतिबेला किसानले जुट किनिदेऊ भनेर सरकारसँग गुहार मागे, त्यसबेला देशमा तीन वटा मात्र जुट मिल थिए, ती पनि कम क्षमताका ।” उहाँका अनुसार हाल नेपालका जुट मिललाई वार्षिक ७० हजार मेट्रिक टन जुटको आवश्यकता पर्छ तर झापा, मोरङ र सुनसरीका किसानले उत्पादन गर्ने जुटले मागको २५ देखि २७ प्रतिशत मात्र धान्ने गरेको छ । मागको ७० देखि ७३ प्रतिशत जुट भारत र बङ्गलादेशबाट आयात हुने गरेको छ । 

आधुनिक प्रविधि नभित्रिँदा मोरङ जिल्लामा जुट खेतीप्रतिको आकर्षण घट्दै गएको छ । मोरङमा पछिल्लो तीन वर्षयता सनपाट खेती हुने क्षेत्रफल मात्र घटेको छैन । उत्पादन पनि सन्तोषजनक छैन । उत्पादित जुट पनि किसानले सनपाट भण्डारण गर्न सक्दैनन् । भण्डारण गर्न नसकी बेचेपछि चाहिँ जुटको मूल्य ह्वात्तै बढ्छ । 

मोरङको पथरी शनिश्चरे–५ का चैतुलाल राजवंशीले भन्नुभयो, “गत वर्ष अढाई कट्ठामा सनपाट लगाएको थिएँ । भदौ २१/२२ तिर सस्तोमा नै बेचेँ । असोजमा प्रतिमन पाँच सयले भाउ बढ्यो ।”

चैतुलालले यो वर्ष पनि अढाई कट्ठामा सनपाट लगाउनुभएको छ । सबै काम आफैँ गर्दा राम्रो लाभ हुन्छ तर जब किसानले बिक्री गर्छन्, मूल्य आकासिन्छ । किसानले जुट भण्डारण गर्न नसक्दा ठुलो घाटा बेहोर्नु परिरहेको अर्का किसान मोहम्मद अक्रमले बताउनुभयो । अक्रमले त अझ बढी नै घाटा सहनु परेको सुनाउनुभयो । उहाँले गत वर्ष प्रतिमन तीन हजार छ सय रुपियाँले बेचेर सकिनेबित्तिकै प्रतिमन चार हजार सात सय रुपियाँका दरले भाउ पाएको दुःखेसो गर्नुभयो । 

गत वर्ष सनपाटको प्रतिमन मूल्य चार हजार नौ सय रुपियाँसम्म पुग्यो । मूल्य राम्रो आउने भए पनि कृषि मजदुरको अभाव बढ्दै जाँदा सनपाट खेतीमा आकर्षण घटेको हो । त्यसमा पनि सरकारले दिँदै आएको अनुदान कटौतीपछि त किसानले सनपाट खेती गर्ने आकर्षण र आधार नै गुमाए ।

कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ११० हेक्टरमा सनपाट खेती लगाइएको थियो । सो वर्ष सात हजार ४०९ मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०८०/८१ मा १५ हेक्टर क्षेत्रफलमा थप खेती भए पनि उत्पादन २२ मेट्रिक टन मात्र बढ्यो । गत आवमा उत्पादन क्षेत्र नै घट्यो । 

ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार ५० हेक्टरमा मात्र जुट खेती भयो । ७५ हेक्टर क्षेत्रफल खुम्चिँदा उत्पादन सात हजार ३२२ मेट्रिक टन मात्र भयो । ज्ञान केन्द्र चालु आवमा जुट खेती अझ घटेको जनाएको छ । 

२०८०/८१ पछि सरकारले जुट खेती प्रवर्धन कार्यक्रम अन्तर्गत दिँदै आएको अनुदान बन्द ग¥यो । जुट खेती प्रवर्धनका लागि १० कट्ठाभन्दा बढी क्षेत्रफलमा खेती गर्ने ३० जना किसानलाई सरकारले २०/२० हजार रुपियाँ अनुदान दिँदै आएको थियो । अनुदान कार्यक्रम बन्द भएपछि किसानको लागत खर्च बढेको र त्यसै कारण उत्पादन क्षेत्र खुम्चिँदै गएको ज्ञान केन्द्र प्रमुख दीपा देवले बताउनुभयो ।  

व्यापार तथा निकासी प्रवर्धन केन्द्र विराटनगरका सूचना अधिकारी देवराज न्यौपानेका अनुसार आव २०८१/८२ मा मूल्यका आधारमा निकासी भएका २० प्रमुख वस्तुमा जुट तेस्रो स्थानमा रहेको छ । प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष छ अर्ब २४ करोड ८८ लाख ७२ हजार रुपियाँको १३ करोड २८ लाख पाँच हजार ४४० वर्गमिटर जुटजन्य सामग्री निर्यात भएको थियो ।