• २० भदौ २०८२, शुक्रबार

कूटनीतिज्ञको विश्लेषणमा प्रमको चीन भ्रमण

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवपूर्ण पहिचान

blog

नेपालको विश्व दृष्टिकोण के हो, नेपालले विश्वलाई कसरी हेर्छ र विश्वका समस्या समाधानका सन्दर्भमा कस्तो सोच्छ भन्ने कुरा प्रधानमन्त्रीको सम्बोधनले प्रस्ट्याएको छ । साथै बहुपक्षीयता, क्षेत्रीय सहयोग र सहकार्यका कुराले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको ओज अझ उँचो बनाएको छ ।

काठमाडौँ, भदौ २० गते । राजनीतिक, आर्थिक र सुरक्षाका मुद्दामा सक्रिय साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा नेपालको उपस्थित गौरवपूर्ण रह्यो । क्षेत्रीय, बहुपक्षीय र द्विपक्षीय मुद्दाका सन्दर्भमा नेपालले उठाएका सवाल र विमर्शले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान अझै विस्तारित भएको कूटनीतिज्ञको विश्लेषण छ । 

पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वराजदूतका अनुसार विश्वको पहिलो शक्ति हुन लम्किरहेको चीनसँग नवीनतम् सहकार्यको मार्ग तय गर्न पनि नेपाल सफल भएको छ । विश्लेषकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सम्बोधन गर्दै बहुपक्षीय साझेदारी एवं साझा मुद्दामा सहकार्य र नेपालको विश्व दृष्टिकोणका सन्दर्भमा उठान गर्नुभएको विमर्श कोसेढुङ्गाकै रूपमा स्थापित हुने प्रस्ट पार्नुभयो । 

पूर्वपरराष्ट्रमन्त्री एवं चीनका लागि नेपालका पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे, पूर्वमन्त्री एवं पूर्वराजदूत नीलाम्बर आचार्य एवं जापानका लागि पूर्वनेपाली राजदूत डा. विष्णुहरि नेपालले प्रधानमन्त्री ओलीको साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनको सम्बोधन र चीन, रुस र भारतको शीर्ष नेतृत्वसँगको भेटवार्तामा नेपालको प्रभावशाली उपस्थितिका रूपमा बुझ्नुपर्ने बताउनुभयो । पूर्वमन्त्री पाण्डेले अहिलेको आवश्यकतालाई दृष्टिगत गरी साङ्घाई सहयोग सङ्गठनका विषयवस्तुमध्ये नेपाललाई चाहिने विषयवस्तुमा मात्र आफ्नो भूमिका प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले साङ्घाई सहयोग सङ्गठन महŒवपूर्ण र ठुलो क्षेत्रीय सङ्गठन भएको बताउँदै प्रधानमन्त्री ओलीले उठाएका विषयले सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “सन् २०१६ देखि साङ्घाई सहयोग सङ्गठनमा हामी डायलग पार्टनर मात्रै थियौँ । प्रधानमन्त्री ओलीको प्रस्तुतीकरणमा चीनको नेतृत्वसँग जुन प्रकारले समझदारी भएको छ, साङ्घाई सहयोग सङ्गठनका सदस्यसँग पनि द्विपक्षीय रूपमा जुन साइडलाइन संवाद भए । ती आफैँमा महत्वपूर्ण छन् ।” 

पूर्वराजदूत आचार्यले साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवपूर्ण पहिचान बढाउन मद्दत पु¥याएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “साङ्घाई सहयोग सङ्गठनमा नेपालको सदस्यता प्रारम्भिक खालको छ । डायलग सदस्य मात्रै छौँ । हामी एससिओको सदस्य हुन चाहन्छौँ । पूर्ण सदस्य भएपछि हाम्रो अन्तर्राष्ट्रिय भूमिका र अन्तर्राष्ट्रिय सम्बन्ध पनि बढ्छ । त्यसले नेपाललाई फाइदा पनि हुन्छ । यो कुरा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भन्नुभएको छ ।”

उहाँले नेपालको विश्व दृष्टिकोण के हो, नेपालले विश्वलाई कसरी हेर्छ र विश्वका समस्या समाधानका सन्दर्भमा कस्तो सोच्छ भन्ने कुरा पनि प्रधानमन्त्रीको सम्बोधनमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले बहुपक्षीयता भन्नुभयो । क्षेत्रीय सहयोग र सहकार्यका कुरा छन् । समग्रमा उहाँले साङ्घाई सहयोग सङ्गठनमा भाग लिँदा नेपाललाई राम्रो गरेको छ ।” जापानका लागि पूर्वनेपाली राजदूत डा. विष्णुहरि नेपालले साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको उपस्थिति नेपाल र चीन सम्बन्धका लागि कोसेढुङ्गा हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक र नजिकको छिमेकी चीनसँग सहकार्यका लागि नवीन समझादारी भएको छ । नेपालको राष्ट्रिय हितलाई दृष्टिगत गरेर यो सम्बन्धलाई अझै प्रभावकारी बनाउनु पर्छ ।”

‘लिपुलेकको विषय विश्वमञ्चमा’

पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे, पूर्वराजदूत नीलाम्बर आचार्य र पूर्वराजदूत डा. विष्णुहरि नेपालले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय विश्वमञ्चमा उठेको बताउनुभयो । पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “लिपुलेकको विषय प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा उठाउनुभयो । यो हाम्रो सार्वभौम सत्ता सम्पन्न जमिन हो । प्रधानमन्त्रीले लिपुलेक हाम्रो हो र ऐतिहासिक प्रमाणका आधारमा हाम्रो दाबी हो, यसमा चीन र भारतले हाम्रो दाबीलाई गम्भीर रूपमा लिनु पर्छ भन्नुभएको छ । अब यो विषय द्विपक्षीय मात्रै रहेन ।” 

उहाँले प्रधानमन्त्री ओलीले नेपाललाई नजरअन्दाज गरेर लिपुलेक प्रयोग गर्ने भारत–चीन सम्झौता कसरी पुनर्विचार गर्ने भनेर राखेको सवाल पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लिपुलेकको विषय जरुरी थियो । द्विपक्षीयसँगै वान टु वान कुरा हुँदा पनि विमर्श भएकै छ । अब भारतीय पक्षसँग पनि कुरा हुन्छ । प्राप्त नहुँदासम्म यसलाई अघि लैजान्छौँ । नेपाल, भारत र चीन मात्रै होइन, त्यहाँ सहभागी सबैले यो विषय थाहा पाएका छन् । अन्तर्राष्ट्रिय जगत्ले पनि थाहा पाएको छ । त्यस कारण यस पटक प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक भएको छ ।” 

पूर्वराजदूत आचार्यले चीनका राष्ट्रपति सीसँग चीन र भारतले मात्रै नेपाललाई नसोधी लिपुलेकबाट व्यापार गर्ने सम्झौता गरिएको विषयमा आपत्ति छ भनेर प्रस्ट पारेपछि यो विषय अन्तर्राष्ट्रिय मञ्चमा उठेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीले आफ्नो कुरा राख्नुभयो । चीनका राष्ट्रपति सीले पनि नेपाल र भारतको द्विपक्षीय विषय भएकाले संवादमार्फत समाधान गर्न आग्रह गर्नुभयो । त्यो भूभागमा चीनले होइन, भारतले अधीनमा पारेको हो । वास्तवमा विवाद भारतसँगै हो । नेपालले यो विषय प्रस्ट पारेको छ । चीनको विदेश मन्त्रालयले यो विषयमा नबोले पनि चीनका सञ्चारमाध्यममा यो विषय आएको छ ।”

पूर्वराजदूत डा. नेपालले नेपाल र चीनबिचको द्विपक्षीय संवादमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठान हुनु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले त्रिपक्षीय संवादमार्फत लिपुलेकको विषयमा समाधान खोज्ने प्रारम्भिक संवादका रूपमा यसलाई बुझ्नुपर्ने बताउनुभयो ।