विश्व कृत्रिम बौद्धिकता (एआई) सम्मेलन तथा कृत्रिम बौद्धिकता वैश्विक शासन उच्चस्तरीय बैठक २०२५ जुलाई २६ मा चीनको साङ्घाई सहरमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुँदै चिनियाँ प्रधानमन्त्री ली छियाङले विश्व कृत्रिम बौद्धिकता सहकार्य सङ्गठन स्थापना गर्ने प्रस्ताव गर्नुभयो । सम्मेलनले कृत्रिम बौद्धिकता वैश्विक शासन कार्ययोजना सार्वजनिक गर्यो । उक्त कार्ययोजनामा १३ वटा ठोस कदम र प्रणालीगत रूपरेखा समावेश छन् । कार्ययोजनाले शासन अवधारणा, संस्थागत संयन्त्रदेखि व्यावहारिक मार्गचित्रसम्म, वर्तमान कृत्रिम बौद्धिकता शासनमा देखिएको खण्डीकरणको जटिलतालाई सबै आयामबाट सम्बोधन गर्दै, बौद्धिक युगको वैश्विक शासन प्रणालीको नयाँ प्रारूपका लागि चिनियाँ समाधान प्रस्तुत गरेको छ ।
पहिलो, विकास नै मुख्य उद्देश्य
कृत्रिम बौद्धिकता वैश्विक शासन कार्ययोजनाले विकासलाई केन्द्रमा राखेको छ । यसले एआईको सिर्जनात्मक विकास प्रवर्धन गर्न; शिक्षा, स्वास्थ्य, कृषि जस्ता प्रमुख क्षेत्रमा एआईलाई सशक्त बनाउन र स्वचालित सवारीसाधन, स्मार्ट सहर आदि क्षेत्रमा कृत्रिम बौद्धिकताको गहिरो अनुप्रयोगलाई अघि बढाउन जोड दिएको छ । यसरी कार्ययोजनाले बहुआयामिक, स्वस्थ र सकारात्मक एआई प्रयोग वातावरण निर्माण गर्दै, आर्थिक विकासलाई सुदृढ बनाउन र विश्वव्यापी चुनौतीको सामना गर्न एआईले बोकेको विशाल सम्भावनालाई अधिकतम रूपमा उजागर गर्ने लक्ष राखेको छ ।
दोस्रो, सर्वसुलभ र समावेशी
कार्ययोजनाले संयुक्त राष्ट्रसङ्घलाई मुख्य अन्तर्राष्ट्रिय मञ्चका रूपमा अङ्गीकार गर्दै, वैश्विक डिजिटल सम्झौतालाई सक्रिय रूपमा कार्यान्वयन गर्ने, समावेशी र न्यायोचित बहुपक्षीय डिजिटल शासन प्रणाली निर्माण गर्ने प्रस्ताव गरेको छ । यसले प्रत्येक देशलाई, विशेषत विश्व–दक्षिणका राष्ट्रहरूलाई, आफ्नै राष्ट्रिय अवस्था अनुसार कृत्रिम बौद्धिकताको प्रविधि र सेवाको विकास गर्न, डिजिटल पूर्वाधार निर्माणलाई तीव्र बनाउन र एआईमा वास्तविक पहुँच र प्रयोग विस्तार गर्न सहयोग पुर्याउने कुरा स्पष्ट गरेको छ ।
तेस्रो, खुला सहकार्य
कार्ययोजनाले एआई क्षमता निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई वैश्विक शासनको प्रमुख स्थानमा राखेको छ । विविध अन्तर्राष्ट्रिय प्रविधि सहकार्यका मञ्च निर्माण गर्न आह्वान गरेको छ । कार्ययोजनामा डाटा साझेदारी मञ्च र अन्तरदेशीय खुला स्रोत समुदाय निर्माण गर्ने, आधारभूत स्रोतलाई खुला र साझा गर्ने, प्रविधि नवप्रवर्तन र प्रयोगको प्रवेश मापदण्डलाई सजिलो बनाउने र विकासोन्मुख मुलुकको डिजिटल खाडल मेटाउन सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ ।
चौथो, सुरक्षित शासन
कार्ययोजनाले एआई सुरक्षा शासनसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य प्रवर्धन गर्ने र व्यापक सहमतियुक्त सुरक्षा शासन ढाँचा निर्माण गर्ने कुरामा जोड दिएको छ । यस्तो ढाँचाले विभिन्न देशका मापदण्ड निर्धारण गर्ने संरचनाबिच संवादलाई प्रवर्धन गर्ने, मापदण्ड प्रणालीलाई समावेशी र पारस्परिक रूपमा सञ्चालन योग्य बनाउन सहयोग गर्ने कुरा प्रस्ट पारेको छ । साथै ‘दिगो कृत्रिम बौद्धिकता’ को अवधारणा अघि सार्दै, स्रोत बचत गर्ने र पर्यावरणमैत्री एआई विकास मोडेल खोजी गर्न आह्वान गरेको छ ।
अहिले कृत्रिम बौद्धिकताको विकास र कृत्रिम बौद्धिकता शासन महìवपूर्ण चरणमा छ । एकातिर, यो प्रविधि तीव्र गतिमा विकसित हुँदै ‘विलक्षण विन्दु’ (कृत्रिम बौद्धिकताले मानव बौद्धिकतालाई उछिन्ने विन्दु– अनु) तर्फ अघि बढिरहेको छ । यसले अवसर उपयोग गर्न र चुनौती सामना गर्न विश्वका सबै राष्ट्रबीच सहकार्य आवश्यक बनाएको छ । अर्कोतर्फ, अन्तर्राष्ट्रिय समुदायले कृत्रिम बौद्धिकता शासनमा सहमति त बनाएको छ तर अझै पनि यो ‘न्यूनतम साझा मापदण्ड’ का अवस्थामा सीमित छ । यो मापदण्डमा असुरक्षा, सीमित नियन्त्रण र कार्यान्वयनमा असमानता जस्ता कमजोरी विद्यमान छन् ।
सन् २०२३ अक्टोबर १८ मा राष्ट्रपति सी चिनफिङले तेस्रो ‘बेल्ट एन्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको उद्घाटन भाषणमा वैश्विक कृत्रिम बौद्धिकता शासन पहल प्रस्तुत गर्नुभएको थियो । उक्त पहलमा विकास, सुरक्षा र शासनका तीन आयामलाई समेटी ११ वटा प्रस्ताव अघि सारिएको थियो । आज चीनले सम्बन्धित पक्षसँग मिलेर सार्वजनिक गरेको यस कृत्रिम बौद्धिकता वैश्विक शासन कार्ययोजनाले एआई शासनलाई अवधारणा र सहमतिको तहबाट व्यवहारिक कार्यान्वयनतर्फ अघि बढाउन सकारात्मक ऊर्जा थपेको छ । यी दुई दस्ताबेजको निरन्तरताले ‘पहल’ बाट ‘कार्यान्वयन’ तर्फको रूपान्तरणलाई प्रस्ट पारेको छ । कृत्रिम बौद्धिकताको वैश्विक शासन प्रवर्धनमा चीनको महìवपूर्ण योगदानलाई उजागर गरेको छ ।
विश्व कृत्रिम बौद्धिकता सम्मेलनमा गुगलका पूर्वप्रमुख कार्यकारी अधिकारी एरिक स्मिटले भने झैँ चीनका प्रमुख अग्रणी मोडेल खुला स्रोतमा आधारित छन् भने अमेरिकाका अग्रणी मोडेल बन्द स्रोतमा आधारित छन् । तिनका भाराङ सार्वजनिक गरिएको छैन । अमेरिकी एआई रणनीति ‘नियन्त्रण’ र ‘प्रतिस्पर्धा’ मा केन्द्रित छ भने चीनको कार्ययोजनाले स्पष्ट रूपमा पारस्परिक लाभ, निष्पक्षता र सार्वसुलभ पहुँचतर्फ ध्यान दिएको छ । चीनले एआई विकास र शासनमा वैश्विक सहकार्यलाई प्रवर्धन गर्ने, प्रविधि–केन्द्रित प्रभुत्ववादभन्दा फरक शासन मोडेल निर्माण गर्ने कुरामा जोड दिएको छ । यस कार्ययोजनाले ‘विकासको उद्देश्य’ लाई केन्द्रमा राखेको छ । यसबाट विकासशील मुलुकको रूपमा चीनले विकासको अधिकारप्रति दिएको जोड र प्रतिबद्धता प्रस्ट हुन्छ । यसरी एआई शासनको छलफल अमेरिका, बेलायतलगायतका पश्चिमा राष्ट्रद्वारा नेतृत्व गरिएको ‘प्रविधि–केन्द्रित’ अवधारणाबाट ‘विकास–केन्द्रित’ अवधारणातर्फ उन्मुख भएको देखिन्छ ।
कृत्रिम बौद्धिकताको वैश्विक शासनले मानव कल्याणलाई केन्द्रमा राख्नु पर्छ । विश्वको विकासको लय र आवश्यकता अनुसारको कृत्रिम बौद्धिकताको रणनीति सार्वसुलभ, न्यायोचित, खुला र समावेशी हुनै पर्छ । एआई विकासको लक्ष्य सधैँ चुनौती समाधान र विकास प्रवर्धनमा केन्द्रित रहनु पर्छ । कृत्रिम बौद्धिकताको वैश्विक शासन सम्पूर्ण मानव जातिको साझा भविष्यसँग सम्बन्धित विषय भएकाले सबै राष्ट्रले हातेमालो गर्दै, सहकार्य सुदृढ पार्दै, जोखिमलाई संयुक्त रूपमा नियन्त्रण गरे मात्र एआई वास्तवमै सर्वसाधारणसम्म पुग्न सक्ने छ, सबैको हितमा प्रयोग हुने छ । मानव जातिलाई लाभ पुर्याउने प्रविधि बन्न सक्ने छ ।
(चेन नेपालका लागि चिनियाँ राजदूत हुनुहुन्छ ।)