• १९ भदौ २०८२, बिहिबार

आउन थाल्यो मल

blog

धानभन्दा पनि हिउँदे बालीलाई काम लाग्ने

काठमाडौँ, भदौ १९ गते । धान बालीको सिजन सकिन थालेपछि बजारमा रासायनिक मल भित्रिन थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कोटामध्येको रासायनिक मल भित्रिन थालेको हो । 

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनले रासायनिक मल ल्याउन थालेका हुन् । कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी र कम्पनीले तीन हजार मेट्रिक टनमध्ये दुई हजार पाँच सय मेट्रिक टन डिएपी भित्रिइसकेको जनाएका छन् । 

भदौ दोस्रो साता बितिसकेकाले अब आउने मल धानबालीका लागि भन्दा पनि हिउँदे बालीका लागि उपयुक्त हुने देखिन्छ । यसपालि बजार माग अनुसार मल आयात हुँदा किसानले धान रोप्ने बेला मलको अभाव खेपेका थिए ।

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले थप ६० हजार मेट्रिक टन युरिया पानीजहाजमा लोडिङ भई कोलकाता आउने क्रममा रहेको जानकारी दिनुभयो । 

कम्पनीले चालु आवका लागि चार लाख २० हजार मेट्रिक टन मल खरिदका लागि कोटा पाएकोमा हालसम्म तीन लाख २९ हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरिसकेको जनाएको छ । कम्पनीसँग हाल १७ हजार मेट्रिक टन युरिया, २१ हजार मेट्रिक टन, चार हजार चार सय मेट्रिक टन पोटास मौज्दात छ । 

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी मल आउन सुरु गरेको जनाएको छ । कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत सङ्केत भट्टराईले ११ हजार तीन सय मेट्रिक टन डिएपीमध्ये केही मल भित्रिइसकेको र बाँकी आउने क्रममा रहेको जानकारी दिनुभयो । 

यस वर्ष कर्पोरेसनलाई एक लाख ८० हजार मेट्रिक टन मलको कोटा निर्धारण गरिएको छ । यसमध्ये ९५ हजार मेट्रिक टनका लागि टेन्डर आह्वान गरिसकेको कर्पोरेसनले जनाएको छ । 

यस वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले लक्ष्य अनुसार मल खरिद गर्न नसक्ने देखिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा प्रतिमेट्रिक टन रासायनिक मलमा दुई सय देखि तीन सय अमेरिकी डलरले मूल्य बढेको उहाँले जानकारी दिनुभयो । 

कृषि सामग्री कम्पनी लिमिटेडले ४१ हजार २६० र साल्ट ट्रेडिङले २७ हजार ९६६ मेट्रिक टन मल ल्याउने क्रममा रहेको जनाएका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आवमा छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य रहेकोमा चार लाख २० मेट्रिक टनका लागि टेन्डर आह्वान गरेको हो । चालु आवमा मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।