• २८ वैशाख २०८१, शुक्रबार

मेरा अनौठा र अड्भाङ्गे साथीहरू

blog

हामी दिनहुँ नौला नौला मान्छेहरूलाई भेट्छाैँ, बात गर्छौं, उनीहरूसँगै काम पनि गर्छौं । तर ती सबैसँग हाम्रो हेम्खेम बढ्न सक्तैन र तुरुन्तै झन्नै जम्मै जसोलाई नै बिर्संदै जान्छौँ । हुन पनि यस लामो जीवनमा सबैलाई सम्झेर साध्य पनि हुँदैन किनभने हाम्रो सानो मगजमा ती सबैका नाउँहरू, आकारहरू, अनुहारहरू, बानी–बेहोराहरू र चाखहरूका लागि ठाउँ नै हुन सक्दैन । म आफूलाई थाहा छ, मान्छेसँग राम्रो बोली वचन गर्नुपर्छ भन्ने ज्ञान पलाएदेखि आजसम्म अर्थात् कुन्नै पन्ध्र वर्षसम्ममा मैले दस लाखभन्दा बढ्ता नौला मान्छेहरूसँग बात मारेर सँगै काम गर्नु हुँला तर तिनमा एक हजार जतिलाई पनि म सम्झन सक्दिनँ, मलाई पाँच सय जनाकोसम्म पनि नाउँ आउँदैन र एक सय जतिको बाहेक कसैको चरित्रचित्रण म गर्न सक्दिनँ । हुन त एकपल्ट भेटेर बात मारेको मान्छेलाई बिर्संदै नबिर्सने औधी चलाख मगज भएकाहरू पनि यस ग्रहमा अलेली छन् नै तर साधारण मान्छेले भने काम प-यो भाँडो, आफल तेरो ठाँडो भनेझैँ काम परुन्जेल अर्को मान्छेलाई सम्झन्छ, काम सकिएपछि भुसुक्कै बिर्सिन्छ । बिर्सिनु जतिको सजिलो कुरो दुनियाँमाहरू छैन । म हिजोसम्म पढेको पाठलाई सजिलै विर्सन सक्छु भने दुई वर्षअधि आधा घण्टासम्म गिद्धे पहरामा भेटेको कुभ्भकर्ण शर्मालाई बिर्सनु कुन कोतपर्व भयो र ? जसरी एक वर्षको नानीले आमाले एक थप्पड हिर्काएर रुवाएको बिर्सी एकै छिनपछि नै आमाको गालामा ताला टाँसेर तोते बोली बोल्दै इन्द्रको स्वर्गलाई पृथ्वीमा झरिरहेको हुन्छ, उसरी नै हामी हाम्रा कुनै बेलामा प्यारा र छेवैका साथीहरूलाई पनि विछोड भएको केही महिनैपछि बिर्सिदिन्छौँ, मान्छेको मन न हो । नयाँ ठाउँका नौला वातावरणहरूमा उसले नौला साथीहरूसँग अदम्य मायापिर्ती बसालिहाल्छ र पुरानो जीवनको एक छिटासम्मले पनि उसको गिदीलाई तानेर रसिलो प्रेमवसन्तमा वाक्क लाग्दो वेदना झरी बर्साउँदैन । यस मतलबी दुनियाँको हरेक चिज मतलबी छ । बिर्सर्नु र सम्झनु, घृणा गर्नु र हुरुक्क भएर मरिमेट्नुमा पनि यसै स्वार्थले मान्छेलाई अगाडि घँचेडिरहेको हुन्छ । 

कुनै मान्छेबाट अब काम लिने कुनै आशा रहेन भन्ने जानेपछि त्यसलाई बिर्सन कुनै तपस्या गर्नु पर्दैन, आशा छउन्जेल भने त्यसलाई पटक्कै बिर्सिइँदैन । हुन त नेटो काटेपछि सम्झना पनि मेटिन्छ भन्छन् । तर बिर्सनु र सम्झनुमा गहिरो रूपले हाम्रो मनोविज्ञानले काम गरिरहेको हुन्छ । हाम्रो जीवनमा भेटिएका एक सय मानिसहरूमध्ये एक यस्तो अनौठो वा अड्भाङ्गे हुन्छ, जसको अनुहार, आकार बानी, बेहोरा वा चाख कि त साधारण हुँदैन असाधारण हुन्छ । होइन भने हामीलाई साधारण लाग्दैन असाधारण लाग्छ । त्यस मान्छे पछि हामी बिनाकारण खिचिन्छौँ । हेम्लेख बढ्दै जान्छ र चिनाजानीको पल्लो टुङ्गोमा पुगेपछि त्यस्ता प्यारा साथीहरूलाई हामी पटक्कै बिर्सन सक्तैनौँ । 

त्यसो भनेर हामीले चिनाजानी गरेर व्यवहार गरिने मान्छेहरू, उसलार्ई हामी जीवनभर बिर्सन सक्दैनौँ, खाली असाधारण हुन्छन् वा राम्रो बानी बेहोराका हुन्छन् भनेर किट्नु हुँदैन । यस अड्भाङ्गे संसारमा धेरैजसो कुरा अड्भाङ्गे छन् र मान्छेहरू पनि थोरैजसो मात्रै सोझा, असल, राम्रा र गुनी अनि धेरैजसो बाङ्गा, चोट्टा, नराम्रा र बैगुनी हुन्छन् । त्यसो हुनाले हाम्रो मगजलाई तानेर सधैँ सम्झन कर लगाउन दस जनामा नौ जना चाहिँ नराम्रा हुन्छन् । ती नौ जनामा पनि चार जना चाहिँले   हाक्काहाक्की फटाइँ गर्दै घरिघरि जीवनमा हामीलाई दुःख दिइरहेका हुन्छन् । राम्ररी चिन्न सकिने हुनाले उनीहरूबाट म चाहिँ जोगिन सक्छु । अब बाँकी रहेका पाँच जनामा चार जना चाहिँ भलाद्मी हुँ भनेर बाहिर देखाउने, भित्र चुपी बोकेर हिँड्ने खालका हुन्छन् । तर चुपी बोकेको छनक पाइहालिने हुनाले तिनले पनि मेरो लछारपाटो लाउन सक्तैनन् । किनभने उनीहरूको चिप्ले बोलीमा म पनि दङ्ग परिटोपल्छु र आपूm केही नजान्ने लाटो र केही नदेख्ने अन्धो भइदिन्छु । छर्लङ्ग सबै कुरा बुझ्दाबुझ्दै र देख्दादेख्दै पनि यो स्वाँगे अभिनय गर्नुपर्दा भित्रबाट रगत उम्लेर आउँछ । तर भोलिको बाटो हेरेर आफूलाई मुटु मिच्दै सम्हाल्न सकेको छु । अँ, त अब एक जना रह्यो । यो मान्छे चाहिँ साह्रै डरलाग्दो हुन्छ चिप्लो, घुस्घुसे, बाठो, सुल्सुले र पहिलो नम्बर कैँची काटुवा । यस्ता मान्छेहरू कसैको आँखामा बिझाउँदैनन्, उनीहरूका कोही शत्रु हुँदैनन् । हेर्दा लाटा हुन्छन्, असल देखिन्छन्, चरित्रवान्, शिष्ट, सुसभ्य, मिष्टभाषी र जनप्रिय । तर  उनीहरूको मगज षड्यन्त्रहरूका रेखाहरूले थङ्थिलिएको हुन्छ । तर मबाट भने यस्ता मान्छे पनि लुक्न सकेका छैनन् । मेरो चौबीसवर्षे जीवनयात्रामा उन्नाइस जना यस्ता तरुनी तन्नेरी र बूढाबूढीहरूले मेरो छेउमा आउने मौका पाएका छन् । तिनीहरू मलाई लाटो, मूर्ख र हुस्सु ठान्छन् म तिनीहरूलाई समयले चाँडै नै तिनीहरूको भ्याकुरो खेदाइ  गर्न मलाई सघाउने छ । तर अहिले यस लेखमा भने म मेरा शत्रुहरूको होइन साथीहरूको बारेमा यसो च्वास्स केही कुरा भन्छु । 

अँ, मैले भनिहालेँ नि मेरो साथीहरू धेरै छन् झन्नै एक हजार । ती साथीहरू सबैको नाउँ मलाई थाहा थियो तर अहिले भन्न सक्तिनँ, बिर्सें । तीमध्ये नौ सय नब्बे जना हामी तपाईं जस्तै साधारण छन् । खाने बेलामा खान्छन्, सुत्ने बेलामा सुत्छन्, हिँड्ने बेलामा हिँड्छन् । भेट हुँदा बात मार्छन् र लुकीलुकी प्रेम गर्छन् । तिनको बानीबेहोरा र बोलीचालीमा कुनै अड्भाङ्गेपना र नोल्याइँ नहुनाले तिनीहरूको बारेमा केही नभनी केही छक्कपर्दाहरूकै बारेमा मात्रै म केही भन्दै छु । 

मेरा साथी  क अहिले कुन्नि कहाँ पढ्दै छन् । मलाई तिनले धुरुक्कै रुवाएका छन्, जसको सम्झनाले पनि मेरो जिउ सिरिङ्ग गर्छ । हुन पनि आफ्नो ध्वाँसे रङको खाँदिएको शरीरमाथि तिनको बेपरवाहीसँग हल्लिरहने ठूलो टाउको भित्र कुन्नि के भरिएको छ । कहिल्यै तिनले आपूmलाई सुधार्न सकेनन् । अलिक राम्री नौली केटी देख्नु हुँदैन उनलाई प्रेम गर्न मन लागिहाल्छ, चिठी पनि लेखिहाल्छन् र यी तरुनीमरिमेटुवा (Regular Don Juan) को बेइज्जती पनि अग्घोरै भएको छ । मझिलो कद, ठूलाठूला उराँठिला आँखा, प्वाक्क उठेक नाक, उछिटिट्एर पहाड भएका उनका गालाहरू, लफ्र्याकलफ्र्याक हल्लेलान् जस्ता कानहरू पटक्कै नसुहाउने आकारले उचालिएको निधार र जर्खरिएका लामालामा जगर लिएर विश्व मैदानमा लाप्पा खेल्न आएका यी कज्जु विछट्टै जर्खरिएका ध्वान्द्रे स्वर भएका र पहिलो भेटमा आफ्नो असुहाउँदिलो बडप्पनले ठूलैको छोरो हुँ भन्ने फोस्रो स्वाङ र यिनको हिँडाइ, डुलाइ र खुवाइमा पूर्ण सामन्ती ठाँट र घमण्ड देख्न पाइन्छ । छात्रजीवनमा कहिले पैसा हुन्छ, कहिले हुँदैन तर यी त बाह्रै मास चैन गर्छन्, मोज उडाउँछन् । यिनका जुत्ताहरू सधैँ टल्केका हुन्छन् र पत्लुनको घार असाध्यै कडा हुन्छ । यिनले सुकिला, दामी र आकर्षक लुगा नलगाएको कहिल्यै देख्न पाइनँ । यिनको सिद्धान्त नै छ ऋणम् कृत्वा घृतम् पिवेत् । रिनैरिनको भारीले लादिएर पनि यिनी टाउको उठाएर हिँड्न सक्छन् । सबभन्दा ठूलो विशेषता यिनमा यही हो भन्नुपर्छ । कहाँसम्म भने उनी महिनैपिच्छे पानपसल फेर्ने गर्दछन्, पसलेको व्यवहारबाट वाक्किएर हो न तर बाँकी पैसा तिर्न नसकेर । हरेक चिया पसले र पानपसलेसँग यिनको भनाबैरी परेको छ र कुनैकुनै गल्तीमा त यिनले जानु पनि हुँदैन । हुन पनि यी पसलेहरू लुगामा लगाएको इस्त्रीको घार र जुत्तामा टल्कने पालिस हेरेर नै बाँकी दिँदा रहेछन् क्यारे र त मलाई चाहिँ कहिल्यै पत्याउँदैनन् बरु क जस्ता पैसा नतिर्नेलाई चाहिँ आँखा चिम्लिएर पत्याउँदै पछि धोका पाउनसम्म पाउँछन् । तर जीवनको हरेक भागमा ठक्कर खाएका यी कज्युले मलाई भने कहिल्यै पैसामा ठगेनन् । यिनी मलाई असाध्यै माया गर्छन् । तर कठैवरी कज्युले धेरै चोटि अभावको खाल्डोमा चिप्लेर खस्नुपरेको छ । लाज, घिन र पश्चतापको तातो आँसु खसाल्दै मेरा साथी कले मेरो खुट्टा समातेर अबदेखि पैसा खर्च गर्दा सोचेर र चाहिँदो मात्रै गर्छु भनेर हजारौँ चोटि भनिसकेका छन् तर आफ्नो बानी को छोड्छ, अर्काको बानी को लिन्छ भनेभैmँ हिङ नभए पनि बाबुबाजेले हिङ राखेको टालो  त मसित अभैm छ भनेर फुइँ गर्न भने यिनले कहिल्यै छोडेनन् । 

अब पालो आउँछ मेरा साथी श्रीमान् खको । यी श्रीमान् पनि विद्यार्थी नै छन् भन्नुपर्छ । यिनको बिहे भइसकेको छ र सन्तान पनि । भित्र यिनी जत्तिको जीवनप्रेमी र जीवनस्वार्थी कोही नभए पनि यिनी बाहिर भने आपूm पहिलो नम्बरको निरासवादी हुँ भनेर झ्याली पिट्दै हिँड्छन् । यिनलाई आपूm, आफ्नो र आफ्ना बारेमा आफैँ घन्टौँ अर्काको अगाडि कुरा गरिरहन पटक्कै अल्छी र अप्ठ्यारो लाग्दैन । एक दिन होइन, दुई दिन होइन सधैँ नै यिनी आफ्नो बिलौना सुनाउँछन् । मैले चाहिँ खाली मुख थुनेर उनकै कुरा सुनिदिइरहनुपर्छ, मानौँ मेरा समस्या नै हँुदैनन् र वेदना उनको मात्रै पेवा हो । श्रीमान् खको निम्ति आफ्नी साधारण स्वास्नी जत्ति राम्री दुनियाँका कुनै तरुनी हुँदैनन् । क्लिओपात्रा र हेलेन, ऊर्वसी र रम्भा, मेरिना जुल्भागा (सर्वश्रेष्ठ विश्वसुन्दरी ५८) र पद्मिनीजस्तो अनुपम सुन्दरीहरूको कुरा गर्दा उनी पर्लक्क ओठ लेब्¥याउँदै आफ्नै स्वास्नीका खस्रा र फुस्रा गन्थनहरू गरेर कानै टट्याइदिन्छन् । त्यसो भए पनि चुरोटको ठुटो सधैँ ओठमा च्यापेर हात्तीपाइले सुरुवालको गोजीमा हात थुपारी कुप्रिई हिँड्ने श्रीमान् ख निकै असल मान्छे हुन् । श्रीमान् कले जस्तो यिनी पैसा उडाउँदैनन् । अभावलाई यिनले राम्ररी चिनेका छन् र गोजीबाट पैसा निकाल्ने काममा जति ढिलो अरू कुनै काममा यो गर्दैनन् । 

श्रीमान् ग राम्रो र आकर्षक व्यक्तित्व भएका मान्छे हुन् । यिनी घमण्डी, स्वाङे र पैसा उडाउने खालका नभए पनि सुहाउँदो अभिमान भएका, साथीसँग हिँड्ने र पैसाको उति प्रवाह नगर्ने हुनाले क र ख भन्दा कता हो कता बाठा, उत्तरदायी र जनप्रिय छन् । यिनसँगै जति बढवा बसाउठी र व्यावहारहरू साथीहरूसँग मेरो भएको छैन अनि यिनलाई म अग्घोरै माया गर्छु तर त्यत्ति हुँदाहुँदै पनि यिनसँग जति म अरू कसैसँग बाझेको छैन । दाउरा पनि नठोसी बल्दैन भनेभैmँ बाझेर मिलेपछि हाम्रो स्नेह हजारौँ गुना बढ्दै जान्छ । ठुस्केर हजाराैँ चोटि म उनसँगै बोलेको छैन र उनी मसँग । तर निदान्सेखमा हामी माया र प्रेमको पल्लो टुङ्गोमा 

पुगेर आफ्ना अमिला विचारहरूलाई त्याग्दै हर्षले धुरुधुरु रोएका छौँ । 

उनी चिठीको जबाफ दिन साह्रै अल्छी मान्छन् । व्यावहारिक कार्यक्षेत्रमा त्यत्रा उत्तरदायित्व लिएर काम गर्नसक्ने यी कर्मठ व्यक्तिले एक चोटि मैले रिसाएर दुई महिनासम्म चिठी नपाठाउँदा जीवनलाई निरास ठानी पढाइ छोड्न लागेका थिए, साथीहरूलाई भूत भएँ भनेर चिठी लेखेका थिए र शरीर सुकेर आँखामा खोबिल्टो परी पहेँलिएका थिए । यी मान्छे कहाँसम्म मेरो माया गर्छन् भने हाम्रो जीवनको सबभन्दा ठूलो दर्शनमा मतभेद भएर काट्टोछिनो भएर बाझेर बोल्न छोडेको बेलामा एक चोटि जब म कुनै आपदमा परेको थिएन अनि जब मलाई एक जना फटाहाले घाँटीमा समातेर लात्तीले भकुरेको थियो पल्लो कोठामा मसित ढुस्स फुलेर सुतिरहेका ग हस्याङ दगुर्दै आएर त्यस फटाहामाथि जाइलागेर मेरो रक्षा गरेका थिए । त्यति मात्रै कहाँ र ? नैराश्यको अन्तिम बिन्दुमा पुगेर जब म पृथ्वीबाट नै बिदा हुन चाहन्थेँ यिनै साथीले मलाई जीवनको महìव बताएर बँचाएका छन्, वेदनाले छटपटाएर कराउँदा ओखती लगाइदिएका छन् । अभावमा कोकोहोलो छोडेर चिच्याउँदा कताकताबाट पैसा खोजेर मलाई हँसाएका छन् आवश्यकतामा काम दिन नै असल साथी हो भने यिनले मलाई आजसम्म निरास फर्काएका छैनन् । 

लाम्चिलो अनुहारमा लामो निधार र त्यसमाथि पातलो छोटो केस सपक्क कोरी चिटिक्क लुगा लगाएर हिँड्ने यी मेरा साथीले धेरै गल्ती गरेका छन् तर बाधाहरूको आँधीले पनि विचलित नभई अविराम अगाडि बढिरहने श्रीमान् ग को बाह्रै काल छुटिरहने मजाको गफमा नभुलिने मान्छे भने विरलै पाइएला । सानो कुरालाई लस्याएर भन्नु, उच्च आकाङ्क्षा लिनु र जीवनलाई सार्थक तुल्याउनको निम्ति सर्पको मुखमा म्वाइँ खानु परे पनि पछाडि नहट्नु यिनको विशेषता हो ।  

क, ख र ग को चिनाजानी गराएपछि यो लेख हेर्नेहरूलाई मेरी सङ्गिनी घ को बारेमा पनि केही  भन्नैपर्छ । यिनसँग मेरो छ वर्षअधि भेट भएको हो क्या रे । तरुनीहरू चुल्बुले हुन्छन् । चिटिक्क परेर हिँड्न रुचाउँछन् । प्याप्यारी बोलेर खुब आनन्द दिन्छन्, उत्ताउला हुन्छन् तर यिनी त छक्कैपर्दी पो छिन् । प्रशान्त महासागरझँै यिनका रसिला ठूलाठूला आँखाहरू कुन्नि कुन गहिरो घोत्ल्याइँमा डुबेका हुन्छन् । असह्य व्यथा र वेदनाले रातभरि रोए पनि आफ्ना चिटिक्क परेका पातला ओठहरूलाई धैर्य र सहनशीलताको मुस्कोले यिनले सिँगारेकी हुन्छिन्, मनमा अटाई नअटाई उकुसमुकुस भएका विचारहरूलाई पनि उनी भित्रभित्रै पचाउँछिन् र बरु आफ्नो हरेक गतिमा जीवनसित राम्रै चिनजानी भइसकेकी अधबैँसे नारीको झैँ कुशलता पो देखाउँछिन् । भर्खरकी केटीमा यस्तो पत्याइ नसक्नु गुन देख्दा म तीन छक्क पर्थें र उनको म भलो चिथाउँथे । तर कठै थोरै बसउठीमै तिनले ममाथि ठूलो असर पारिसकेकी थिइन् र, तपाईंहरू छक्क पर्नुहोला, एक रात तिनी मेरो कोठामा आफ्नो महान पैmसला सुनाउन आएकी थिइन् । त्यस उराँठिला रातलाई म कहिल्यै विर्सन सक्तिनँ । आरी घोप्टयाएझैँ झरी दर्किरहेको थियो, घरिघरि मुटु कमाउने सिरेटो चल्यो र निस्पट्ट अगुल्टे अँध्यारोले रात्रि–रानीलाई अँगालेको थियो । यस्तो डरलाग्दो रातमा दुई बजेको समयमा त्यस्ता डरलाग्दा ढुङ्गाहरूको पर्खाल, काँडैकाँडाहरू र सिस्नैसिस्नाले भरिएको खौलो र बारीलाई नाघेर उनी आएकी थिइन् । मभने ढोका उघारिसके  पछि उनको अवस्था देखेर तीन छक्क परेको थिएँ । त्यस्ती अबोला मैया र धीरताकी देवी कुमारी घ मेरो समातेर आफ्ना अमूल्य मोतीका दानाहरू बर्साउँदै बिन्ती गरिरहेकी थिइन् प्याप्यारी बकिरहेकी थिइन् ।  आकाशगङ्गाको अनन्तताजस्तै चोखी र निर्मल मस्ती फकँदो पूmलजस्ती सुन्दरीको आग्रह भने अनौठो थियो । उनी भएभरका गहनाहरू र लुगाले भरेको छालाको सुट्केस मेरो अगाडि राखेर मलाई भगाएर लानुहोस् भनिरहेकी थिइन् । आच्ची तिमी सानै, चार पाँच वर्ष पर्खेपछि मात्रै कस्तो भाग्ने कुरा सोचौली भनेर मैले सम्झाउँदै उज्यालो भयो र उनी धुरुधुरु रुँदै घर फर्केकी थिइन् । आजसम्म उनको बिहे भएको नदेख्दा म छेउ पर्न सकेको छैनँ । 

यिनलाई भने बढाएर कुरा गर्न र हाउडी छोड्न मेरा कुनै साथीले पनि भेट्न सकेनन् । कहाँसम्म भने म नभएको बेला परेमा मेरो बारेमा भए नभएका गफ हाँकेर वरपर सबैलाई थर्कमान् पारिदिन्छन् । फलानो यस्तो बाठो, यस्तो असल, यस्तो पढन्ते, यस्तो लेखन्ते, यस्तो विद्वान् । यसरी आँसा चिम्लेर मेरो बढाइँ गरेको देख्दा रिँगटा छुटेर आउँछ, डर लाग्छ । यति भएर पनि आफूलाई भने यिनले तीन कौडीको पनि छैन भनेर गुनासो गरिरहन्छन् । बिग्रने छेकछन्दै नहुँदा नहँुदै पनि म बिगँे्र, म सडेँ, म खसेँ भनेर बिलौना गरिरहने यी सिकुटे युवक छ्वास्स कसैले केही जिस्केर भन्दा पनि वेदनाको अन्तिम विन्दुमा पुगेर थुक्क थुक्क रुन्छन् अनि साथीहरू रिसाउलान् भनेर असाध्यै सस्याना कुराहरूमा पनि ध्यान दिइरहन्छन् । तर यी जतिको सोझो र लाटो मान्छे बाहिरबाट हेर्दा कोही देखिनन् । यिनी जीवनलाई नचाहिने र बेरसिलो मान्दछन् । घुप्लुक्क मर्न पाए पनि हुन्थ्यो भनेभैmँ गर्छन् । एक मुठी दाल र दुई गाँस भातले प्राण रहिजान्छ । किन चिया, दूध र फुल खाने, एउटा कुर्ता र धोतीले पुगिहाल्छ । किन एम्बेस्डर जुत्ता, नाइलनका मोजा, साकु स्किनका वुसर्ट र पत्लुन लाउने हातले खादा भइहाल्छ । किन काँटा चम्चा किन्ने भनेर यिनले मलाई असाध्यै अत्याएका छन् । यिनी श्रीमान् चभन्दा डर लाग्दा मान्छे हुन् । सान्सिकल लगाएर मान्छे मान्छेमा भेद ल्याई आफ्ना कुरालाई सफल तुल्याउनमा यिनी जत्तिको दक्ष मेरा अरू कुनै साँचो छैनन् । एक एक पैसामा च्यापेर पसलेहरूलाई... पार्न यिनी औधी बाठा हुनाले म केही किन्न जाँदा यिनैलाई साथमा लिएर जाने गर्छु । यिनी श्रीमान् खभन्दा बढ्ता ...चित्त... चभन्दा बढ्ता चिप्ले र कैँचीकाटुवा छन् । 

श्रीमान् चका शत्रु विरलै होलान् । चिप्लो घसेर कुरा गर्न यिनी अग्घोर सिपालु छन् । ....नक्कल गरेर शिष्टता, सद्व्यवहार र सभ्यताको स्वाङ रच्ने यी साथीले आपूmलाई आफ्नो पछाडि अरूको तीन कौडीको पनि नठानेको थाहा पाउँदैनन् बरु असाध्यै प्रभावकारी छु भनेर नाक फुलाउँछन् । शिष्टतामा  यिनी कतिसम्म ध्यान दिन्छन् भने एक दिन मैले हतारमा इस्त्रीको धार मेटिइसकेको पत्लुन लगाएर पढ्न जाँदा उनको इज्जत जान्छ भनेर मलाई सँगै हिँड्न दिएनन् तर जहाँ साँच्चै नै शिष्टता र सभ्यताको वास्ता गर्नुपर्ने हुन्छ त्यहाँ भने यिनी भेडाहरूको बथानमा बकुल्लो हुन्छन् र सद्व्यावहार गर्न नजानेर खिसी, पिन र हाँसोको ऐरो हुन्छन् तर उनलाई केही थाहा हुँदैन । उनी भोलि ठूलो नेता भएर संसार घुम्ने छु भन्ने पक्का पत्यार गर्छन् तर कठैबरी । भोलिका नेताहरू त ज्यादै बाठाले मात्र हुन पाउँछन् भन्ने यिनलाई थाहासम्म पनि छैन । 

सुन्दरी कुमारी छलाई म कहिल्यै बिर्सन्नँ । यिनी बाठी छु त भन्छिन् तर म उनलाई चाहन्नँ भन्ने कुराको ज्ञान छैन । उनी के सोच्तछिन् भने म उनको पूजा गर्छु अनि उनी पनि मलाई चाहन्छिन् । भन्ने ठान्छु । जीवनमा यिनले अब त धेरै ठक्कर पाइसकिन् । टलक्क टल्कने चाँदीको थालमा निखुर रातो गुलावको पूmलको टक पर्दा देखिने रङजस्तो चिटिक्क परेका पोक्चे गालाहरू भएको बाटुलो अनुहारमा चौपट्टै सुहाउने ती सानासाना आँखामा जति आँसु सुहाउँछ त्यत्ति अरू ठाउँमा सुहाउँदैनन् भनेझैँ मलाई लाग्छ । भावावेशमा आउनु पिल्पिल रुनु, मीठामीठा गफ गर भनेर मलाई सताइरहनु तर जे भने पनि चाख मानेर सुन्नु । टन्टलापुर घाममा पनि बाटातिर डुलिरहने आग्रह गर्नु । सिनेमा भनेपछि हुरुक्क हुनु र रक्सी खाएर मात्नसमेत पछि नसर्नु यिनका विशेषताहरू हुन् । 

पुछारमा अब मेरा सबभन्दा अड्भाङ्गे साथी श्रीमान् महामहो पाध्याय, सुल्सुले, चिप्ले, नेतृत्वको धाकपिटुवा जको बारेमा केही नभने मेरो लेख अधुरै रहन्छ । दुनियाँमा यस्ता अघोरीहरू औँलामा गन्न सकिएलान् । घरमा मुसो रुने ह्याउ भएका यी महासाय सयौँ रुपियाँका सुट लगाएर ...अत्तर लगाई हावाई जहाजको सफर गर्छन् । यिनी आपूm जत्तिको ठूलो साहित्यिक नेपाली संसारमा छैन भनेर हाक्काहाक्की भन्छन् तर विचरालाई व्याकरणका साधारण नियमहरू पनि थाहा छैनन् । यिनले दुःख नदिएको मान्छे विरलै होला । हजारौँलाई यिनले छक्याएका छन्, पट्याएका  छन् र लुटेका छन् । यो किन्छु र त्यो किन्छु, फलानो व्यापार गर्छु र ढिस्कुनु उद्योग खोल्छु भनेर यिनले हजारौँ रुपियाँ उडाएर चैन गर्दै आएका छन् । 

आफ्नो श्रेणीमा त के विश्वविद्यालयको परीक्षामा समेत प्रथम हुन्छु भनेर धाक पिट्ने यी साथी तीनमहिने परीक्षामा जब एक्काइसौँ भएथे तैपनि त्यस विद्यालयका शिक्षकहरूले उनको लेखाइ बुझ्नै सकेनन् । पछि विश्वविद्यालयको परीक्षामा देखाइदिउँला भनेर थोत्रो थाल ठटाउन उनले छोडेनन् । 

भरे विश्वविद्यालयका परीक्षाहरूले पनि उनका महान् लेखाइको महìव बुझ्न सकेनछन् र त नेपालीमा बाहेक अरू कुनै विषयमा यिनले उत्तीर्णाङ्क ल्याउन सकेनन् । मेरा पनि लेखहरू छापिन्थे, उनीभन्दा म कता हो कता शुद्ध र राम्रो लेख्थेँ तर यिनले मलाई आफ्नै सिकारु चेलो ठान्थे । हामी दुवैले भाग लिएका सभामा तर्के गर्दा सर्वश्रेष्ठ वक्ताका रूपमा म चार पाँच चोटि पुरस्कृत भइसक्ता पनि यिनी आपूmलाई नै राम्रो वक्ता ठान्थे र मलाई होच्याउँथे । बोल्न र आफ्नो कुरा मात्रै माथि राखेर अर्काको सातोपुत्लो लिएर आफ्नो दुनु सोझ्याउन यिनी अग्घोर चकाक छन् । कुरैकुरामा यिनी मान्छेहरूलाई बेचिसक्छन् । बात मार्न यिनलाई झर्को लाग्दैन दिनभरि, रातभरि बोलिरहन्छन् बोलिरहन्छन् दिनहरू बिते, वर्षहरू बिते र समय कता हो कता वेगसाथ दुगुरिरहेछ तर मेरा साथी श्रीमान् ज बोलिरहेछन्, बोलिरहेछन् । कहिल्यै थामिएनन् । यिनी असाध्यै ढाँट्छन् बीए, एमए गरेको छु भनेर धक्कु पिट्छन् । यिनलाई अङ्ग्रेजी पटक्कै आउँदैन तर ओठ बङ्ग्याएर यिनी अङ्ग्रेजी मात्रै बोलिरहन्छन् । 

मलाई यिनले जति अरू कसैले रुवाएको छैन । भर्खर धोवीले इस्त्री लगाएर ल्याइदिएका मेरा लुगा थपक्क लगाएर आफ्ना गन्हाउने लुगा मेरो कोठामा फ्याँकेर हिँड्छन् । टेबलमा राखेको दूध नसोधी घुट्घुट् पिइदिन्छन् । किताबहरू जोरजाम गर्छु सप्पै लगिदिन्छन् । सापट मागेर लिएको पैसा फकाइदिँदैनन् । 

केही दिनअगाडि यिनी मलाई भेट्न आएका थिए, हरितन्नम पारी छोडेर हिँडे । गोजीमा दस रुपियाँ छ भने सयको धाक दिनुपर्छ यिनले । साताना छाकको छात्रवासको भातले यिनको चित्त नबुझी सात रुपियाँ छाकको  अङ्गे्रजी डिनर खान कार लगाउने महाशयले मबाट सापटी भनेर लगेको पैसा अब किन फर्काउँथे र ? यस छात्रजीवनमा पैसाको कत्ति खाँचो हुन्छ र मेरो के अवस्था भइरहेको छ यिनलाई वास्तै छैन । यिनी सिद्धहस्त ठग हुन् ।

वरपरका मान्छेहरू यिनको घरको दुरवस्था र यिनको ठाँटमा सुहाउँदिलो सम्बन्ध कायम गर्न नसकेर यिनलाई जादुवान् मान्दछन् । अब त विस्तारै पोल खोलिँदै जाँदैछ । एक दिन यिनको विरुद्धमा एटम बम पड्किने छ । 

हुन त मेरा अरू पनि अभिन्न साथीहरू छन् तर तिनीहरूको बारेमा अहिले म बाहिर केही प्रकाश गर्न चाहन्नँ । तर भोलि जब मौका पाउने छ ...। 

साभार : नमस्ते, तेस्रो संस्करण २०३२ (१.१०.५८, पटना)