• ८ मंसिर २०८१, शनिबार

बढ्यो जोखिम

blog

हैजा एक प्रकारको सूक्ष्म जीवाणु भिब्रियो कोलेरीबाट लाग्ने सरुवा रोग हो । थोरै सङ्ख्यामा रहेका जीवाणुले मात्र पनि छिट्टै शरीरमा गम्भीर समस्या निम्त्याउने गर्दछ । यो जीवाणु प्रदूषित पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्रै झाडापखाला तथा बान्ता सुरु हुन थाल्दछ । यो रोगबाट मानिसमा अति शीघ्र कडा जलवियोजन भई हातगोडा बाउँडिने, थकान महसुस हुनुका साथै कडा जलवियोजनका कारण मानिसको मृत्युसमेत हुने गर्दछ । 

हैजाका जीवाणुको सङ्क्रमणले प्रकोपको रूप लिन सक्छ । विशेषगरी हैजा रोग सरसफाइको कमी, सुरक्षित खानेपानीको कमी, उचित फोहोर व्यवस्थापन नभएको, ढलको प्रबन्ध राम्रो नभएको स्थानमा बढी फैलिने गर्दछ । हैजा नेपालमा सर्वप्रथम सन् १८८६ मा पहिचान भएको थियो । हालसम्म पनि प्रत्येक वर्ष काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा झाडापखालाको जोखिम हुने गरेको छ ।

नेपालमा सन् २००९ मा जाजरकोट जिल्लामा हैजाको प्रकोप महामारीका रूपमा देखा परेको थियो । उक्त प्रकोपका कारण करिब ३० हजार मानिस प्रभावित भएका थिए भने १०० जनाले ज्यान गुमाउन परेको थियो । सन् २०१२ मा सुदूरपश्चिम प्रदेशको डोटी र कर्णाली प्रदेशको दैलेख जिल्लामा प्रकोप देखिएको थियो । 

यसैगरी सन् २०१३ मा काठमाडौँ उपत्यकामा हैजा देखिएको थियो । हैजा प्रकोपका रूपमा बेलाबेलामा देखिने गरे पनि देशका सबैजसो ठाउँमा फाटफुट रूपमा सधैँजसो देखिने गर्दछ । सन् २०१३ पश्चात् सन् २०१६÷१७ मा काठमाडौँ उपत्यकामा १६९ बिरामीमा हैजाको जीवाणु प्रमाणित भएको थियो । त्यसैगरी सन् २०२१ मा लुम्बिनी प्रदेशको कपिलवस्तुमा एक हजार ३५३ जनामा उक्त रोगका जीवाणु भेटिएका थिए भने छ जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वमा हैजाका बिरामी बढ्दै गएको पाइएको छ । सन् २०१९ मा विश्वका विभिन्न ३१ राष्ट्रमा हैजाका कारण एक हजार ९११ जनाले ज्यान गुमाएका थिए ।

लक्षण तथा चिह्न

हैजाको जीवाणु फोहोर हात, दूषित पानी तथा खानाबाट मानिसको शरीरमा प्रवेश गरेको केही घण्टादेखि पाँच दिनसम्मको अवधिमा लक्षण तथा चिह्न देखा पर्दछ । यो रोग अति छिटो सङ्क्रमण हुने रोगमध्ये एक हो । झाडापखालाका रूपमा तीव्र गतिमा फैलने यो रोगको प्रमुख लक्षण तथा चिह्नमा पातलो चौलानीजस्तो दिसा तारन्तार हुने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

मानिसको मृत्युसमेत गराउने यो रोगले कडा जलवियोजन हुँदा मानिसको आँखा गड्ने, मुख जिब्रो र घाँटी सुक्खा हुने, हातगोडा बाउँडिने, तीर्खा लाग्ने, थकान महसुस हुने, पिसाब गाढा पहेँलो हुने, पिसाब कम हुने र कहिलेकाहीँ हुँदै नहुने, रक्तचाप कम हुने, छटपटी हुने, मुटुको चालमा गडबडी हुने र अनियन्त्रित हुने गर्दछ । 

नियन्त्रण तथा रोकथामका उपाय

नेपालमा बेलाबेलामा देखा पर्ने प्राकृतिक विपत्जस्तै बाढीपहिरो, भूकम्प आदिका कारण खानेपानीको मुहान प्रदूषण हुने, सहरी क्षेत्रमा ढलको उचित प्रबन्ध नहुनु, फोहोरमैलाको उचित व्यवस्थापन नभएका कारण रोगको जीवाणुको अस्तित्व समुदायमा रहिरहनु र समुदायमा सर्कुलेसन भएका कारण सधँैजसो वर्षात्को समय र अन्य समयमा पनि यो रोग देखा परिरहेको छ । यसलाई निराकरण गर्नका लागि जनचेतना अभिवृद्धि गरी व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा व्यवहारमा परिवर्तन गराउनुपर्दछ । 

यसैगरी शौचालयको प्रयोग, नियमित साबुनपानीले मिचिमिची हात धुने बानीको विकास, स्वच्छ र सफा खाना, उमालेको पानी पिउने बानीको विकास गर्न सके हैजा रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । यसैगरी रोगको लक्षण तथा चिह्न देखा परेमा सकेसम्म छिटो जीवनजल पानी सेवन गर्ने तथा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त गई उपचार गर्नाले ज्यान जोगाउन सकिन्छ । 

शरीरमा पानीको मात्रा घट्नाले महìवपूर्ण अङ्गले काम गर्न नसक्नाका कारण बिरामीको मृत्यु हुने भएकाले पुनर्जलीय उपचार महìवपूर्ण मानिएको छ । यसैगरी रोकथामका उपायहरूमा घर तथा वातावरणीय सरसफाइ, ढलको उचित प्रबन्ध, फोहोरमैलाको समुचित व्यवस्थापन, पानीको मुहान तथा स्रोतको सरसफाइ गर्नाले रोगका जीवाणुबाट पानी तथा खानेकुरा प्रदूषित हुन पाउँदैन । रोगको प्रकोप बढ्न नदिनका लागि प्रभावकारी निगरानी प्रणालीको विकास र यसको प्रयोग, सकारात्मक बानी व्यवहारलाई पनि रोग नियन्त्रण तथा रोकथामका आधारका रूपमा लिन सकिन्छ । 

यसका साथै बिरामीको व्यवस्थापनका लागि निम्न उपाय गर्नुपर्दछ । यो रोग करिब ८० प्रतिशत पुनर्जलीय उपचार पद्धतिबाट निको गर्न सकिन्छ । कडा जलवियोजन भएका बिरामीलाई नसाबाट तुरुन्त सलाइन दिएर पुनर्जलीय गराउनुपर्दछ । पुनर्जलीय उपचारका साथै जीवाणु मार्नका लागि एन्टिबायोटिक दिनुपर्दछ । समयमै उपचार गर्नाले बिरामीको मृत्यु एक प्रतिशतभन्दा कमीमा झार्न सकिन्छ । 

हैजाको रोग लाग्नै नदिन अर्थात् शरीरमा हैजाको जीवाणुविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न खोप पनि उपलब्ध रहेको छ । अन्य खोपहरूजस्तै हैजाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको तथा उक्त खोप मुखबाट दिने गरिन्छ । हालसम्म नियमित खोपमा उक्त खोप समावेश नभए पनि प्रकोपको समयमा दिने गरिएको छ, जसको फलस्वरूप सङ्क्रमण फैलनबाट रोक्न सकिएको छ । यो खोपलाई कपिलवस्तुको हैजा प्रकोप क्षेत्रका एक वर्षमाथिका लक्षित समूहमा सन् २०२१ मा खोप दिएर प्रकोपलाई नियन्त्रण गरिएको थियो । 

हैजा नेपाली समुदायमा सयौँ वर्ष अगाडिदेखि जरा गाडेर रहेको र बेलाबेलामा प्रकोपका रूपमा देखा परिरहेको हुँदा यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आजको आवश्यकता हो । पानीजन्य रोग भएको हुँदा पानी तथा सरसफाइमा स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारको ध्यान जान जरुरी देखिन्छ । 

Author

राजेन्द्रप्रसाद घिमिरे