• १६ भदौ २०८१, आइतबार

सन्तोषलाई भैंसीपालन व्यवसाय फाप्यो, मासिक लाख आम्दानी

blog

भैसीपालक कृषक सन्तोष खाम्चा । तस्बिरः मुना हमाल

मुना हमाल 

सुर्खेत, असार ११ गते । लेकवेशी नगरपालिका ९ कालताँडीका सन्तोष खाम्चाले व्यावसायिक रुपले भैंसीपालन सुरु गरेको करिब दुई वर्ष भयो । उहाँसँग अहिले ठूलासाना गरेर १८ वटा भैंसी छन् । खाम्चा भैंसीपालन व्यवसाय गर्नुअघि कमाईका लागि भारत जानुहुन्थ्यो । भारत मात्र होइन, आफ्नै ठाउँमा केही गर्छु भनेर होटल र कपडा पसल पनि सञ्चालन गर्नुभयो । 

यी सबै व्यवसायबाट झन ऋण लागेपछि उहाँले वैदेशिक रोजगारीका लागि रोमनिया जाने योजना बनाउनुभयो । विदेश जान काठमाडौँ पुगेर तयारी थाल्नु भयो । तर, गाउँकै एक जनाले उहाँलाई कृषि व्यवसाय गर्न सुझाव दिएपछि गाउँमै केही गर्ने योजना बनाएकाे उहाँकाे भनाइ छ । सन्तोषले भैसीपालन गर्न सुझाव मात्र पाउनु भएन, ती व्यक्तिबाट १० लाखसम्म ऋणसमेत पाउनुभयो । नभन्दै सो व्यवसाय उहाँलाई फाप्यो ।  

गाउँमा प्रशस्त जग्गा जमिन छ । केही ऋण तिरेर बाँकी पैसाले उहाँले तीनवटा भैंसी किनेर भैंसीपालन सुरु गर्नुभयो । उहाँले भन्नुभयो, ‘भारतमा राम्रो कमाई नहुने भएपछि वीरेन्द्रनगरमा होटल सञ्चालन गरें । होटलबाट पनि खासै राम्रो आम्दानी भएन ।” सो व्यवसायबाट आफ्नो ४५ लाख रुपियाँ स्वाहा भएको उहाँले बताउनुभयो ।

गाउँघरमा उधारो जाने, समयमै पैसा नउठ्दा ब्याज तिर्न कठिन हुने उहाँको बुझाई छ ।  ऋणले सताएपछि विदेश जाने योजना बनाएको उहाँले सुनाउनुभयो । भैसीपालन व्यवसाय गर्न सुझाव पाएपछि गाउँमै बसेर सुरु गरेको उहाँले बताउनुभयो । अहिले भैंसीपालन व्यवसायबाट आफू आत्मनिर्भर भएको उहाँले बताउनुभयो । 

अहिले उहाँ दैनिक ५० लिटर दूध बिक्री गर्नुहुन्छ । सिजनमा यो भन्दा बढी उत्पादन हुने उहाँले बताउनुभयो । दूध बेचेर मासिक एक लाख रुपियाँ बढी कमाई भइरहेकाले आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो । खाम्चाले अहिले भैंसीपालनसँगै बाख्रा, बंगुर र कुखुरा पनि पाल्नुभएको छ ।

उत्पादन भएको दुध वीरेन्द्रनगर बजारसम्म पुर्याउन उहाँको आफ्नै अटोरिक्सा छ । उहाँका छोराले अटोरिक्सामा वीरेन्द्रनगर दुध पुर्‍याउने काम पाएको खाम्चाले बताउनुभयो । उहाँसँग अहिले चार विघा जमिन छ ।  एक विघा खेतमा उहाँले घाँस खेती गर्ने योजना बनाएको सुनाउनुभयो । 

पाँच कठ्ठामा घाँसखेती सुरु गरेको बताउनुहुने खाम्चाले तत्काल १० वटा भैंसी थप्ने योजनामा रहेको बताउनुभयो । ‘गरेपछि आफ्नै ठाउँमा धेरै गर्न सकिने रहेछ । अब यसै व्यवसायलाई अझै राम्रो गर्दै लैजाने योजना छ’,  उहाँले भन्नुभयो ।

उहाँलाई कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गत कृषिक्षेत्र विकास कार्यक्रमले पनि सहयोग गर्दैआएको छ । खाम्चा अहिले सो गाउँको अगुवा कृषक बन्नुभएको छ । समूहमा २७ जना कृषक सहभागी हुनुहुन्छ । २७ घरबाट अहिले दुई सय लिटरभन्दा बढी दूध उत्पादन हुन्छ । 

कृषकको आर्थिक अवस्था सुधार हुनुका साथै जीवनस्तर माथि उठेको सचिव दीपककुमार ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले एउटासम्म भैंसी पाल्ने हुन्थ्यो । अहिले तीन चार वटा, कसैले फर्मकै रुपमा पनि भैंसी पालन गर्नुभएको छ । दूध विक्री गरेर नै आर्थिक रुपमा आत्मनिर्भर भएका छौँ ।’ 

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गत कृषि क्षेत्र विकास कार्यक्रमले कृषकलाई आवश्यक सहयोग समेत गर्दै आएको छ । कार्यक्रमका संयोजक विनोदकुमार भ्टटराईले कृषकलाई बैंकबाट ऋण लिँदा सहजिकरण गर्ने, प्राविधिक सहयोग गर्ने, मेसनरी सामग्री सहयोग, उत्पादन, बजारिकरण कृषि सडक सिंचाईमा सहयोग गर्दैआएको बताउनुभयो ।