काठमाडौँ, भदौ १२ गते । दसैँ आउन एक महिना बाँकी छ । दसैँमा लत्ताकपडाको खपत धेरै हुने हुँदा व्यवसायीले चीनबाट सामान मगाउने गर्छन् । तथापि चीनसँग जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोक तातोपानी नाका बन्द हुँदा चाडपर्वलक्षित सामान डेढ महिनादेखि नेपाल भित्रिन सकेका छैनन् । गत २४ असारमा आएको बाढीका कारण नेपाल र चीन जोड्ने उत्तरी नाका रसुवाको मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको हो ।
रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलले डेढ महिनादेखि रसुवा नाका ठप्प भएकामा मितेरी पुल निर्माणको काम भइरहेकाले दसैँअगाडि नाका खुल्ने सम्भावना नभएको बताउनुभयो ।
यस्तै बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि बन्द हुँदा सामान बाटोमै रोकिएका हुन् । तातोपानी नाका भदौमा एक हप्ता खुला भए पनि फेरि बन्द भएको छ ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र चुँडालले पानी परिरहेको र बाढीपहिरोको जोखिम अझै रहेकाले कहिलेसम्म नाका सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएको बताउनुभयो । प्राकृतिक प्रकोपले डेढ महिनादेखि नाका बन्द हुँदा दसैँलक्षित सामान बाटोमै रोकिएका हुन् ।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले तातोपानी नाकामा तीनदेखि चार सय सङ्ख्यामा सामान बोकेका गाडी रोकिएको जानकारी दिनुभयो । बाढीले रसुवाको मितेरी पुल बगाएपछि तातोपानी पनि बन्द भएको छ । “बिचमा एक हप्ता खुलेर २०/३० गाडी सामान आएर फेरि नाका बन्द भएको छ,” उहाँले भन्नुभयो, “दुवै नाका बन्द हुँदा दसैँका लागि ल्याइएका सामान बाटोमै रोकिएका छन् ।”
दसैँलक्षित सामान नाकामा रोकिई समयमा आउन नसक्दा व्यवसायीलाई ठुलो क्षति हुने उहाँको भनाइ छ । भारतको कोलकाताबाट सामान ल्याउँदा ४५ दिन लाग्ने र ढुवानी खर्चसमेत बढी हुने उहाँको भनाइ छ । चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले चाडपर्वलक्षित सामान ल्याउनका लागि सम्बन्धित मन्त्रालयबिच छलफल गरेर जतिसक्दो बाटो खुलाउन पहल भइरहेको जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भत्केको बाटो स्तरोन्नति गर्ने काम गरिरहेको र चीनतर्फबाट बेलिब्रिज निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । जतिसक्दो चाँडो नाका खोल्न सम्बन्धित मन्त्रालयलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । सङ्घका अनुसार फलफूल, लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सवारीसाधन, बिजुलीका सामान, खानेकुरालगायतका सामान नाकामा रोकिएका छन् ।
राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले रसुवागढी ल्याइएका केही सामान तातोपानीतर्फ फर्काइए पनि अझै एक/दुई सय कन्टेनर नाकामै रोकिएको हुन सक्ने अनुमान गर्नुभयो । नाका बन्द भएपछि केही व्यापारीले भारतको कोलकाताबाट पानीजहाजमार्फत सामान ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ र अन्य आवश्यक सामग्रीको आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेकाले नाका खोल्नतर्फ लाग्नुपर्ने बताउनुभयो । नेपाल–चीनबिचको व्यापारका लागि दुई नाका चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयातनिर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले नाका खोल्न पहल गर्न सरकारसमक्ष उहाँले आग्रह गर्नुभयो ।
चीनसँग जोडिएका अन्य नाका खुलाउनसमेत व्यवसायीले माग गरेका छन् । मुस्ताङको कोरला नाका १२ महिनामै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार तयार भई नेपालतर्फ कोरलासम्म सडक पुगिसकेको बताइएको छ । ताप्लेजुङको ओलाङचुङ्गोला नाकाबाट पनि दुई मुलुकबिचको व्यापार सञ्चालन गर्न सकिने एक अध्ययनले देखाएको छ । नेपालको चीनसँग १३ प्रतिशत व्यापार हुने गरेको छ । डेढ महिनादेखि नाका बन्द हुँदा पछिल्लो समय चीनसँगको व्यापार बन्द भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा तातोपानी नाकाबाट ५० अर्ब रुपियाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपियाँभन्दा बढीको सामान आयात भएको छ । चीनबाट आयात धेरै भए पनि नेपालबाट न्यून परिमाणमा निर्यात हुने गरेको छ । रसुवा नाकाबाट हस्तकलाका सामान, मूर्ति, बाँसका मुढालगायतका सामान निर्यात हुने गरेको थियो ।