काठमाडौँ, भदौ ११ गते । सरकारले उखु किसानलाई वितरण गर्ने अनुदानबापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले मङ्गलबार उखु किसानलाई वितरण गर्ने ७५ करोड ४९ लाख ३८ हजार २४० रुपियाँ निकासा गरेको हो । निकासा गरिएको रकम सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैङ्क खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्विन्टल ३५ रुपियाँका दरले किसानलाई वितरण गर्ने अर्थ मन्त्रालयले रकम निकासा गरेकाले बिहीबारदेखि वितरण हुने कृषि मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्को बैठकले यस वर्ष उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपियाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
उखुको गत आर्थिक वर्ष २०८१/८२ को भुक्तानी नभएको र उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा उखु किसान काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् ।
यसअघि उखु किसानले प्रतिक्विन्टल ७० रुपियाँ प्रोत्साहन स्वरूप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन मन्त्रीपरिषद्मा प्रस्ताव लगेको भए पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो ।
यसबिच काठमाडौँमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबिच सिंहदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ ।
वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत सहभागी हुनुहुन्छ । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मङ्गलबार उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गर्नुभएको थियो ।