• २० असार २०८१, बिहिबार

स्थानीय गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्दै रोङ गाउँपालिका

blog

फाइल तस्विर

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असार ११ गते । इलामको रोङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्ने भएको छ । अधिकांश कृषि पेशामा आश्रित रहेका गाउँपालिकाका नागरिकको जिवनस्तर उकास्न गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्न लागेको हो ।  

गाउँपालिकाको १३ औं गाउँसभामा पेश भएको नीति तथा कार्यक्रममा गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्ने उल्लेख गरिएको छ । गाउँपालिकाले गुन्द्रुक सिन्कीको उत्पादन बृद्धि गर्नेदेखि बजारीकरण गर्नेसम्मका लक्ष्य राखेको छ । स्थानीय स्तरमा उत्पादन भएको रायो, तोरी र मुलाको सागबाट गुन्द्रुक र मुलाबाट सिन्की उत्पादन गरिदैआएको छ । 

गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्न गाउँपालिकाले किसानलाई बिउँ उपलब्ध गराउनेछ । किसानलाई गुन्द्रुक सिन्कीको उत्पादन गर्न तालिम सञ्चालन भएपछि उत्पादित बस्तुलाई बजारीकरण गर्न समेत गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनुभयो । 

अध्यक्ष स्याङबोले गुन्द्रुक सिन्कीको उत्पादन, प्याकेजीङ र बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । अध्यक्ष स्याङबोले भन्नुभयो ‘किसानले उत्पादन गरेको बस्तु खेर जान दिदैनौ, हामी देशका अन्य स्थानमा बिक्री गर्ने ठाउँ खोज्न आफै पुग्छौ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालकाअनुसार किसानले उत्पादन गरेको गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्नका लागि प्रति १ किलोग्राम गुन्द्रुक सिन्की बराबर गाँउपालिकाले ८० रुपिया अनुदान सहयोग दिनेछ । प्रशासकीय अधिकृत दाहालले भन्नुभयो, ‘धेरैभन्दा धेरै उत्पादन होस् भन्ने हाम्रो लक्ष्य हो, हामी किसानलाई उत्पादनमै सक्दो सहयोग गर्छौं ।’

६ वटा वडा रहेको पालिकाका सबै स्थानमा गुन्द्रुक सिन्की उत्पादन हुँदैआएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९–८० का लागि ल्याएको बजेटमा गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ का लागि तीन लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकामा उत्पादन भएको गुन्द्रुक सिन्की अहिले मेची राजमार्गका सडकपेटीमा गरिने ब्यवसायमार्फत बिक्री गरिदैआएको छ । केही उत्पादन झापा र भारतीय बजारमा पठाईने गरिएको छ । 

हाल स्थानीय बजारमा गुन्द्रुक सिन्की तौलभन्दा पनि किसानले बनाएका पोकाका हिसावले बिक्री गरिदैआएको छ । स्थानीयस्तरमा आएका पर्यटकले गुन्द्रुक सिन्की खरिद गर्नेगरेका छन् भने स्थानीयस्तरमा सञ्चालित होटल र होमस्टेले गुन्द्रुक सिन्कीको खपत बढी गर्नेगरेका छन् ।