रामकृष्ण बोहरा
बागलुङ, भदौ १० गते । बागलुङ नगरपालिका –४ दाबगरामा निर्माण गरिएको ‘बागलुङ बसपार्क’ बाट औपचारिक रुपमा बस सञ्चालनमा आएको छ । गत साता २५ वर्षका लागि आरबी कन्ट्रक्सन प्रा.लि. पोखरासँग ठेक्का सम्झौता गरेको नगरपालिकाले औपचारिक रुपमा बस छुटाएर आवश्यक रुट कायम गरेको छ ।
विगत २४ वर्षदेखि बागलुङ नगरपालिका –३ मा सञ्चालित ‘चिप्लेटी बसपार्क’ लाई सोमबारदेखि खाली गरिएको छ । चिप्लेटी बसपार्कलाई दाबगरामा बनेको बागलुङ बसपार्कमा स्थानान्तरण गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
बागलुङ बसपार्कदेखि श्रीनगरटोल, जिपपार्क, बाघको शालिक हुँदै समीक्षालय चोक, ट्राफिक चोक भएर बस छुट्न पाउनेछन् । ठुला सवारी साधनका लागि यो रुट एकतर्फी बनाइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । चिप्लेटीमा सार्वजनिक मञ्च र जिपपार्क सञ्चालन गर्ने नगरपालिकाको योजना छ ।
विभिन्न स्थानबाट आएका सवारीसाधन बसपार्क जाने बेलामा भने मध्यपहाडी लोकमार्गको बाटो हुँदै जाने छन् भने छुट्ने बेलामा बागलुङ बजारबाट आउन पाउने रुट कायम गरिएको छ । चिप्लेटीमा माइक्रोबस र विद्युतीय गाडीको पार्किङ बनाउन स्थानीयबासीको माग छ । वडा ३ का वडाध्यक्ष शनि केसी लक्ष्मणले चिप्लेटीमा बहुउपयोग गर्ने काम गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
बागलुङ बसपार्क सञ्चालन गर्न २५ वर्षका लागि आरबी कन्स्ट्रक्सन प्रालि पोखरासँग बागलुङ नगरपालिकाले गत साता सम्झौता गरेको थियो । हरेक बर्ष नगरपालिकाको खातामा १६ लाख २५ हजार, मुअक २ लाख ११ हजार रुपियाँ तिर्नेगरी सम्झौता भएको हो । २५ वर्षमा आरबी कन्स्ट्रक्सनले बसपार्क सञ्चालन गरेबापत बागलुङ नगरपालिकालाई ८ करोड ५५ लाख ६१ हजार रुपियाँ भुक्तानी गर्नेछ ।
टर्मिनल भवनसहित १७ रोपनी जग्गामा बसपार्क फैलिएको छ । बसपार्कमा ३ टिकट काउन्टर, १७ सटर र ३ वटा कर्मचारी कक्ष छन् । बसपार्कमा १८ वटा शौचालय छन् । मोटर ग्यारेज, ईभी गाडीचार्ज स्टेशन र खानेपानीको व्यवस्था गरिएको छ । यसअघि बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कलाई स्थानीयको मागअनुसार व्यावसायिक क्षेत्र बनाउने तयारी गरेको नगरप्रमुुख श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले नगर विकास कोषको ९ करोड ऋण सहयोगमा गण्डकी प्रदेशकै नमुना बसपार्क बनाएको हो । २०५८ मा दावगरा र आसपासका बासिन्दाले साढे १७ रोपनी जमिन निःशुल्क दिएपछि बसपार्क निर्माण गरिएको हो । २०५८ सालमा बसपार्कको काम सुरु भए पनि ढिलासुस्तीले २०७७ जेठमा बसपार्क निर्माण सकिएको थियो । ५ वर्षअघि बसपार्क बने पनि सञ्चालनमा आउन सकेको थिएन ।
बागलुङ नगरपालिकाले राजपत्र प्रकाशित गरेर बसपार्क सञ्चालन तथा व्यवस्थापन ऐन २०८१ समेत जारी गरेको छ । बसपार्क निर्माणका लागि स्थानीय ६० परिवारले ५९ रोपनी जग्गा दिएका थिए । १७ रोपनीमा बसपार्क बनिसकेपछि बाँकी जग्गा घडेरी बनाएर उपभोक्तालाई हस्तान्तरण गर्ने सम्झौता छ ।