• १० भदौ २०८२, मङ्गलबार

स्क्रब टाइफस सङ्क्रमित बालिकाको मृत्यु

blog

रेखीराम राना

तानसेन, भदौँ १० गते । पाल्पाको रैनादेवी छहराका एक बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको छ । रैनादेवी छहरा –१, की ११ वर्षकी बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले मृत्यु भएकी बालिकामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको बताउनुभयो । रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि तानसेन ल्याउने क्रममा बालिकाको तीन दिनअघि बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो । 

अत्यधिक ज्वरो आउने लगायतका लक्षण देखिएपछि आफन्तले ती बालिकालाई उपचारका लागि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ पुर्‍याउँदा बालिकाको अवस्था नाजुक भएपछि थप उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताउनुभयो । 

दुई साताअघि पनि मृतक बालिकालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिएको थियो । त्यसपछि ज्वरो बसेको पारिवारिक स्रोतले जनाएको छ । 

तीन दिनअघि पुनः ज्वरो आउने, खोकी लाग्ने, जीउ गल्नेजस्ता गम्भीर समस्या देखिएपछि उनलाई रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा लगिएको थियो । पछिल्लो पटक स्वास्थ्य जाँच गर्दा बालिकामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले बताउनुभयो । 

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । समयमै उपचार नगरे यसले गम्भीर रुप लिन सक्छ । स्क्रब टाइफसको सङ्क्रमण भएका मानिसमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी, वान्ता लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिन्छ । 

समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो, आदिको सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग समस्या सिर्जना सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । पछिल्लो केही दिनयता पाल्पाका चार अस्पतालमा स्क्रब टाइफसबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । यो वर्ष पाल्पामा २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।