• १८ फागुन २०८०, शुक्रबार

नाटक [कथा]

blog

खुसीको खबर यो थियो– धेरै वर्षपछि दाइ भेटिए । दुःखको खबर यो थियो– उनी दृष्टिविहीन भइसकेका थिए । उनले पहिलेजस्तो देख्न सक्दैनथे । उनले भने, “एउटा रेल दुर्घटनामा परेर मैले दुवै आँखा गुमाएँ ।” रेल मुलुकमा चलिसकेको थिएन र उनले विदेशको ट्रेन दुर्घटनामा आँखा गुमाएको हुन सक्छ तर त्यो देश कुन थियो त्यो हामीले सोधेनौँ । दृष्टि नै गुमाइसकेपछि देशको कुरो गौण भइदियो । कुरो यो, आँखा उनका यथावत् थिए तर दृष्टि थिएन । उनको भनाइ यो हुन्थ्यो– “म आँखा देख्दिनँ हजुर ।” मानौँ चोकमा उभिएर आँखाले अन्धो हुनुका कारण भीख मागिरहेछन् । म र मेरी पत्नी गरिमालाई यो कुरो पटक्कै पच्दैनथ्यो । सुखी राख्न स्याहारसुसार हामी गरिरहेछौँ तर धनपैसाको याचना उनी अरूसित गरिहेछन् । उनी जसलाई पनि भनिदिन्थे– “मैले दुइटै आँखा एउटा भयानक दुर्घटनामा गुमाएँ ।” उनी यो भन्दैनथे– दुर्घटना कस्तो प्रकृतिको थियो र दुर्घटना कहाँ भएको हो । उनी सुन्न सक्थे । उनी भन्थे– “भगवान्को कृपाले म सुन्न सक्छु ।” उनको भनाइको यो मतलब हुँदैनथ्यो होला– दृष्टि गुमाउनेले श्रवण पनि गुमाउनु पर्छ । हामीलाई त भगवान्को कृपा यसैमा लागेको थियो– दाइ जीवितै भेटिए । दाइ हराएपछि भेटिने सम्भावना कमै भइसकेको थियो । 

दाइको डुलुवा स्वभाव थियो । फिरन्ते, कतै न कतै गइरहन्थे । घरमा बसे छिमेकमा । छिमेकमा नभए सिनेमा हलमा र नभए नागपोखरी वा रानीपोखरीको डिलमा उभिएर आउजाउ गरिरेकालाई हेरिरहन्थे । नभए भैरहवा वा विराटनगर । बस कन्डक्टरसँग मित्रता गर्थे । चालकसँग दोस्ती गाँस्थे । मिजासिला र वाक्पटु । आसाम पुगिसकेका थिए । पन्जाबतिर जान्छु भन्थे । कसैले उनको दिमागमा मुस्ताङ–जोमसोम जानुपर्छ मुक्तिनाथको दर्शन गर्न भन्ने तृष्णा पसाइदिएको थियो । दाइको विवाह भएको थिएन । उनीभन्दा कान्छो मेरो विवाह भएको थियो । आमाबाबुले भने– तेरो दाइ डुलुवा हो । उसको केही भर छैन । आज यहाँ त भोलि कहाँ ? यस्ता मान्छेको घरगृहस्थी कसरी सुखी होला ? हामी नातिनातिनाको मुख देख्न नपाई मर्ने भयौँ  त ? तँ बिहे गर । अरू उपाय छैन ।

मैले बिहे गरेँ । धेरै वर्ष भयो । बीचमा यो बयान जरुरी छ । कारण मेरो बिहेपछि बाबुआमाले हेर्न पाउने गरी मेरा एक छोरा र एक छोरी भए । दाइ बेपत्ता भइसकेका थिए । उनलाई गृहस्थी जुरेको थिएन । बच्चाहरू स्कुल जान थालेपछि आमाबुबाको एकपछि अर्को गर्दै वर्षदिनभित्रै निधन भयो । दाइ हाम्रा स्मृतिबाट उत्रिसकेका थिए । निधन हुनुपूर्व आमाबुबाले दाइ फर्किहालेमा उनको अंशबापत दिन भनेर केही लाख रुपियाँ बैङ्कमा जम्मा गरे र त्यसको खाता सञ्चालन मेरो जिम्मा लगाइदिएका थिए । यो कुरो मेरी पत्नी गरिमालाई पनि थाहा थियो । मेरी पत्नी अलि मुखाले खालकी थिई, अशिक्षित होइन । गरिमा एक्लै कति बस्नु भनेर कुनै एक स्कुलमा पढाउन थाली । छ महिनासम्म बच्चाहरू पढाएपछि एक दिन अकस्मात् निकालिई । केटाकेटीलाई कान निमोठेर सजाय दिने बानी असह्य छ भनेर स्कुलले भन्यो । सफाइमा “मैले त आफ्ना छोराछोरीलाई पढाएको मानेर कान निमोठेकी हुँ” भनी । कान निमोठ्दैमा हुनेवाला के थियो र तर पुरानो चलन हटिसकेको थियो । अभिभावकहरूले नै भन्न थालेका थिए– अहिंस्रक तरिकाले पढाउनोस् । स्कुललाई फिस चाहिएको हो, त्यो हामी सहर्ष दिइरहेका छौँ । बच्चाहरूलाई यातना किन ? कान निमोठ्दैमा दिमागको ढोका ह्वाङ्ङ खुल्ने होइन । फेरि उसमाथि यो अमेरिका पनि होइन ? यस्तो भन्ने अभिभावकले अमेरिकाको स्कुलमा भिजिट गर्दा यो देखे कि ? सबै अभिभावकका एक न एक सन्तान अमेरिका गएका छन् । 

अभिभावकहरूले “यो अमेरिका होइन” भन्नुको तात्पर्य के थियो, त्यो मैले बुझ्न सकिनँ । अमेरिकामा कान निमोठेर पढाइन्थ्यो कि ? अमेरिकामा छात्रले स्वचालित बन्दुक बोकेर कक्षामा प्रवेश गरेपछि अन्धाधुन्ध गोली चलाएर कममा आठदस जना मार्नु कुनै अनौठो घटना हुन छाडेकोले हो कि ? आठ दसजना परर्र गोली चलाएर मार्ने छात्र यी होइनन्, जसलाई कान निमोठेर तह लाउन परोस् भन्न खोजेका होलान् अभिभावकहरूले । उनीहरूले शिक्षकले छात्रछात्राको कान निमोठ्नु भनेको कुण्ठाको सन्तुष्टि लिन खोजेको हुन सक्छ पनि भने । अचेल छात्राहरूमाथि शिक्षकहरूले गर्ने दुराशयपूर्ण स्पर्शको पनि उल्लेख गरे । कान स्पर्श गरेर अगाडि अरू अङ्गतिर बढ्न सक्छन् शिक्षकहरूले पनि भने । शरीरमा नछोई पढाउने विधिको अभ्यास गर्नु ठीक हुन्छ, आज कान, भोलि गाला गर्दै शिक्षकहरूले छात्राको जिउ छाम्ने उन्मुक्ति लिन सक्छन् पनि भने । शिक्षकले बिना शरीरको स्पर्श पढाउँदा नपढ्ने कुरो हुँदैन, पढ्छन् । त्यस्तो विधिलाई पढाउने अब्बल तरिका भन्न पर्यो, होइन पढ्दैनन् भने घोटेर पिलाए पनि पार पाइन्न । तसर्थ विद्यार्थीको शरीरको कुनै पनि अङ्ग स्पर्श गर्न वर्जित गरिनु पर्छ भने । गरिमाका कारण अभिभावकहरूको सामना मैले पनि गर्नुप¥यो । म स्कुलको सञ्चालक समितिको एक सदस्य थिएँ । उनीहरूले मलाई सञ्चालक समितिमा यस कारण राखेका थिए– सरकारी कार्यालयको काममा म प्रभावकारी थिएँ, स्वयं म पनि एक कर्मचारी थिएँ । पत्नीलाई सेवाबाट अवकाश दिनुपर्ने कारण खासै ठोस र दरोजस्तो नलागे पनि अभिभावकहरूले विद्यालयको दुर्नाम गर्न सहजै सक्थे भनेर विद्यालय प्रशासनले गरिमालाई जो मेरी पत्नी थिई र स्कुलकी अस्थायी शिक्षिका थिई उसलाई केही महिनाको तलब त्यो पनि मेरो मुख हेरेर दिए र ससम्मान बिदा गरे । ससम्मान भन्नाले बिदाइ समारोह राखिएन । चुपचापचुपचाप बिदाइ कार्य सम्पन्न गरियो । 

यो घटना र भूमिका हेर्दा गरिमा शिक्षित थिई तर कान निमोठ्ने खालकी । यो विशेष ज्ञातव्य छ । दाइ, आएको महिनादिन जति राम्ररी बिते तर महिनादिनपछि दाइले इन्क्वायरी गर्न थाले– पैसा कहाँ छ ? कसरी त्यो निकाल्ने ? उनको सोधखोजको आशय मेरो रकम मलाई चाहियो भन्ने थियो । मलाई लागिरहेथ्यो– दाइ आँखा देख्छन् । कुनै एउटा भीडमा दाइले दृष्टिविहीनहरूले समात्ने सेतो लौरो दोब्य्राएर बोकेर हिँडेजस्तो लाग्यो । मेरो दृष्टिभ्रम पनि हुन सक्छ । दाइजस्तो अरू कुनै व्यक्ति होस् । उनी आफ्नो अंशको रकम लिएर फेरि डुल्न निस्कन सक्छन् भन्ने मलाई लागिरहेथ्यो तर उनी आँखा देख्दैनन् । यो एउटा समस्याले उनलाई रोकिरहेको छ भन्ने लाग्थ्यो । मैले बैङ्कबाट उनको हिस्साको रकम झिकेर जिम्मा लाइदिएँ । रकम हात परेपछि दाइ नोटका गड्डी मुसार्दै निकै गहिरोमा डुबुल्की मारेजस्तो देखिए । कतै जाने योजना उनले बुनिरहेको हुनुपर्छ । मैले भनेँ– दृष्टिको समस्या थियो तर त्यसो होइन रहेछ । बीचमा एउटा अप्रत्याशित घटना घटित भयो । 

गरिमा जो मेरी पत्नी हो, महिनादिनपछि नै दाइको सेवासुश्रूषाबाट आजित हुन थालेकी थिई । हामीबीच दाइको व्यवस्थापनलाई लिएर खटपट भइरहन्थ्यो । ऊ कान निमोठ्ने खालकी महिला थिई । त्यसमाथि दाइले आफ्नो हिस्साको रकम सिरानीमुनि राखेर सुत्ने गरेका थिए । दाइ कतै जान चाहन्थे तर दृष्टिहीनताले छेक्थ्यो । यस्तैमा गरिमाले एक दिन बिहानै चिच्च्याएरै भनी– “मेरो धैर्यको बाँध फुट्न थाल्यो । तिम्रो दाइलाई कुनै आश्रममा लगेर राख ।” पकाउनु–खुवाउनु, केटाकेटीलाई स्कुलका लागि तयार गर्नु, दाइलाई चियाखाजा र अरू कामको बोझमाथि अफिस जानेलाई समयमै खाना खान दिनु, पोसाक तयार गरिदिनु आदि कामले परेसान भएर ऊ मनमनै मुर्मुरिएकी थिई । त्यसमाथि सेवा गरेबापत बैङ्कमा जम्मा आफ्नो हिस्साको रकम हामीलाई नै दिने हुन् भन्ने आस थियो, त्यो पनि मर्यो । रकम सिरानमुनि राखेर सुत्ने गर्थे रे दाइ । ओछ्यान मिलाउँदा देखेकी हुँ भन्थी गरिमा । 

उसको रिस जायज थियो तर दृष्टिहीनहरूको आश्रम कहाँ छ ? मलाई थाहा भए पो ? त्यस्तो आश्रम हुन पनि सक्छ ? मैले पनि भनेँ– “नसकेदेखि जे गर्ने हो गर ।” म धेरै बोल्दैनथेँ तर मर्ममा प्रहार गर्न जान्दथेँ । म खाना नखाई कार्यालयतिर लागेँ । 

अर्को दिन दाइ घरमा थिएनन् । एउटा चिठी छोडेका थिए– ‘भाइ धन्यवाद । म दृष्टिहीन हुनुको स्वाङ गरिरहेको थिएँ । यो जान्न चाहन्थेँ, तिमीहरू मलाई कति धैर्यले सहन्छौ । मप्रति प्रेम छ कि छैन तिमीहरूमा ? यति वर्षपछि भेट हुँदा पनि एकै महिनामा मदेखि टाढा हुन खोज्यौ तिमीहरू ? मप्रति प्रेमभाव राखेर मलाई अपनाउन सकेनौ ? मेरो सेवा गरेनौ । जे भए पनि म दाइ हुँ तिमीहरूको । के भनुँ ? म लागेँ आसामतिर । उतैबाट आएको थिएँ, उतै जान्छु । आसामको लिखु भन्ने ठाउँमा म मास्टरी गर्छु । यो रकम त्यहीँ लगेर घर बनाउँछु । म पनि परिवारवाला भइसकेको छु नभए हुनेछु । नभए डुल्ने बानी छँदैछ । बगेको खोलो कतै गएर जम्ला नि ।’ – तिम्रो दाइ ।

पत्रले खासै चकित त पारेन तर यो लिखु भन्ने ठाउँमा दाइ कसरी पुगेछन् ? आसामका महिला सम्मोहन विद्यामा पारङ्गत छन् भन्थे दाइ कतै त्यतै सम्मोहित भएर बसेका त छैनन् । मायाको तृष्णा धेरै प्रबल हुन्छ । यात्रा आसामको होस् वा गढवालको निस्केपछि कतै न कतै त पुगिन्छ, बिसाइन्छ । रकम कुम्ल्याएर गए भनूँ भने त्यो उनकै हिस्सा थियो । गरिमाले भनी– “बल्ल सुखको सास फेर्न पाउने भएँ । पैसा पनि छाडेनछन् । व्यर्थै गयो सेवा । आँखा नदेख्ने भनेर नआएको भए यति सास्ती खेप्न पर्दैनथ्यो । आफ्ना मान्छे भनेर के गर्नु ? बेकारको नाटक ! गर्न जानेकै हुन् ।” कथाजस्तो यो केही हो भने यसलाई नाटक भन्न सुहाउँथ्यो । अर्को दिनदेखि केटाकेटी खुसीखुसी स्कुल जान थाले । गरिमाले दिउँसो आनन्दले सुत्न पाई ।